निर्यातभन्दा १४ गुणा बढी आयात

निर्यातभन्दा १४ गुणा बढी आयात

काठमाडौं : आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ। यो कुल निर्यातको तुलनामा १४ गुणा बढी हो। यस अवधिमा जम्मा ९७ अर्ब रुपैयाँको निर्यात भएको छ। अघिल्लो आवको तुलनामा गत आवमा झन्डै १४ प्रतिशतले आयात वृद्धि भएको छ। आव २०७४/०७५ मा १२ खर्ब ४५ अर्बको आयात भएको थियो। आयात उच्च रूपमा बढेपछि व्यापारघाटा चुलिएको छ।

निर्यात प्रवद्र्धनले अपेक्षित गति लिन नसकेपछि अनियन्त्रित आयातले व्यापार घाटा तीव्र वृद्धि भइरहेको छ। नेपालको सीमा व्यवस्थापन एकीकृत नहुँदा पनि वैदेशिक व्यापारमा विभिन्न अड्चन सामना गर्नुपरेको सरकारी अधिकारी बताउँछन्। भन्सार विभागले एक वर्षको तथ्यांक सार्वजनिक गर्दै व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको जानकारी दिएको छ। अघिल्लो वर्षको तुलनामा साढे १३ प्रतिशतले व्यापार घाटा बढेको छ। आव ०७४/०७५ मा ११ खर्ब ६३ अर्ब रुपैयाँ व्यापार घाटा थियो। बढ्दो व्यापारघाटाले समग्र अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पर्न गएको छ।

आयात–निर्यातको अनुपात १४.६ प्रतिशत पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा जम्मा ६.४ प्रतिशत मात्रै छ। ९३.६ प्रतिशत हिस्सा आयातको छ। व्यापारको सबैभन्दा बढी हिस्सा रहेको भारतसँग व्यापारघाटा बढ्दै गएको छ। गत आवमा भारतबाट नौ खर्ब १७ अर्ब रुपैयाँको आयात भएको छ। तर निर्यात ६२ अर्ब मात्रै छ। भारतसँगको व्यापारघाटा नै आठ खर्ब ५५ अर्ब रुपैयाँ छ। कुल आयातमा ६५ प्रतिशत मालसामान आयात भारतबाट भएको तथ्यांक छ।

आव २०६५/६६ मा कुल आयातको ५७ प्रतिशत सामान भारतबाट आयात हुने ेगरेको थियो। आव २०७३/७४ देखि आयातमा भारतको हिस्सा ६५ प्रतिशत कायम रहँदै आएको छ। नेपालको आयात व्यापारमा भारतको हिस्सा अत्यधिक छ।

अर्काेतर्फ आयातको दोस्रो ठूलो हिस्सा चीनतर्फ छ। २०६५/६६ मा चीनबाट कुल आयातको १२ प्रतिशत सामान आयात भएको थियो। आव २०७३/७४ मा चीनबाट कुल आयातको १४ प्रतिशत नेपाल भित्रिएको थियो। ०७४/७५ मा यसको अंश १३ प्रतिशत कायम रहे पनि गत आवमा १५ प्रतिशत पुगेको छ। यस अवधिमा चीनबाट मात्रै दुई खर्ब पाँच अर्ब रुपैयाँको सामान आयात भएको छ। सोही अवधिमा दुई अर्ब रुपैयाँ मात्रै निर्यात भएको चीनसँगको व्यापारघाटा दुई खर्ब तीन अर्ब रुपैयाँ छ। ५३ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ। यसरी आयात हुने खाद्यान्नमा धान, मकै, चामल, चिउरा, आलुलगायत वस्तु छन्।

विदेशी विनिमयदरमा पुनर्विचार गर्न सुझाव

अर्थविद्हरूले भारतसँगको व्यापारघाटामा स्थिर विनिमय दरलाई एउटा कारण मानेका छन्। २८ वर्षदेखि निरन्तर एउटै विनिमय दरमा कारोबार भइरहेका भारतसँग नेपाल प्रतिस्पर्धी क्षमताबीच ठूलो भिन्नता रहेको अर्थविद् केशव आचार्य बताउँछन्। उनले उक्त दरमाथि पुनरवलोकन हुनुपर्ने सुझाव दिएका छन्।

सन् १९९२ मा नेपाल–भारतबीच विनिमय दर तोकिएको थियो। सोही दरलाई आधार मानेर २८ वर्षसम्म कारोबार हुँदै आएको छ। यस अन्तरालमा भारतको आर्थिक वृद्धि नेपालसँग ठूलो अन्तर बोकेको छ। विश्व बजारमा नै भारतको व्यापारको अंक ठूलो भइसकेको अवस्थामा नेपालले उक्त दरलाई पुनरवलोकन गर्नुपर्ने उनले बताए। उनले भने, ‘भारतसँग ठूलो व्यापारघाटा बेहोरेको नेपालले विदेशी विनिमय दरमाथि पुनर्विचार गर्नैपर्छ। नत्र हाम्रो बजार प्रस्पिर्धी बन्न सक्दैन।’

निरन्तर कमजोर निर्यात र आयातमा तीव्र वृद्धिका कारण बढ्दो व्यापार घाटाले मुलुकको अर्थतन्त्रमा नै प्रतिकूल असर परिरहेको छ। विप्रेषणमुखी उपभोग विस्तारका कारण आयात तीव्र वृद्धि भएको अर्थविद् बताउँछन्। राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७५/७६ को ११ महिनामा रेमिट्यान्सको आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको छ।

सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो। यसप्रकार विप्रेषणमुखी उपभोगको विस्तारसँगै मालवस्तुको आयात दरमा उच्च वृद्धि भइरहेको छ। नेपालमा ठूलो मूल्यमा सवारीसाधन र पेट्रोलियम पदार्थको आयात भइरहेको छ। यसलाई आयात वृद्धिको ठूलो कारण मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.