मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु
मुस्ताङ : मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किँदैगरेका एक भारतीय पर्यटकको सोमवार लेक लागेर मृत्यु भएको छ ।
भारतको हैदरावाद आन्ध्र प्रदेश बस्ने ६३ वर्षीय एन.ए. प्रशन्न कुमारको उपचारका क्रममा जोमसोम अस्पतालमा मृत्यु भएको हो । प्रशन्न कुमार ४२ जना भारतीय टोलीसहित मुक्तिनाथ दर्शनका लागि आइतबार तारा एयरको जहाज मार्फत पोखराबाट जोमसोम आएका थिए ।
सोही दिन नै मुक्तिनाथको दर्शन गरी साँझ जोमसोमस्थित होटल ट्रेकरईनमा बास बसेका थिए । स्वासप्रश्वासमा समस्या देखिएपछि साँझ नै जोमसोम अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारपछि सोमवार स्वास्थ्यमा सुधारोन्मुख देखिएका उनी डिस्चार्जको क्रममा थिए । तर पिसाव लागेर शौचालय जाने क्रममा ठोक्किएर लडेका उनी त्यहीँ बेहोस भएका हुन् ।
सोही अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीका अनुसार मृतक भारतीय पर्यटक प्रशन्न कुमारको अस्पतालमा पोष्पमार्टम सम्पन्न भइ एम्बुलेन्स मार्फत् पोखरा लगिएको जानकारी दिए । पोखरामा मृतकका परिवारले शव बुझ्ने उनले बताए ।