आज घन्टाकर्ण पर्व : के गाथामोग पिचास हुन् ?

आज घन्टाकर्ण पर्व : के गाथामोग पिचास हुन् ?

भक्तपुर : आज (मंगलबार) साउन कृष्ण चतुर्दशी। प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन हिन्दू परम्परामा गाथामोग एवं घन्टाकर्ण पर्व मनाइँदै आएको छ।

यस पर्वअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएका गाथामोगलाई जलाइन्छ। यसरी जलाइने गाथामोगलाई पिचासको संज्ञा दिने भ्रम व्याप्त छ।

त्यस्तै गाथामोगलाई बालबालिका मारेर खाने राक्षसको रुपमा बढी चित्रण गरिएको पाइन्छ। समाजलाई दुःख दिने पात्रको रुपमा रहेको गठामुगलाई सोहीअनुसार दोबाटो र चौबाटोमा लगी जलाउने गरिन्छ। यसलाई जलाइसकेपछि बालबालिकालाई उसको खरानीको टीका लगाइदिने तथा त्यसलाई नाघ्न लगाइन्छ। यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको हट्ने जनविश्वास रहेको छ।

तर संस्कृतिविद्हरु गाथामोग कुनै पिचास वा राक्षस नभई स्थानीय क्षेत्रमा रहेका भैरव तथा अन्य देवताको प्रतीक भएको बताउँछन्।

उनीहरूका अनुसार गाथामोग अन्य देवीदेवताको नाम सुन्न नचाहने नास्तिक, सुनलाई भन्दा फलामलाई महत्व दिने व्यक्ति र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र हुन्।

‘विशेष गरी देवदेवीको नाम सुन्नुपर्ला भनी हरहमेशा आफ्ना कानमा ठूलाठूला घण्टा झुण्डाइराख्ने भएर उनको नाम घण्टाकर्ण भएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेल भन्छन्।

संस्कृतिकर्मी धौभडेलका अनुसार अहिलेसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा पुरानो गोपाल राजवंशावलीमा उल्लेख भएको गण्ठकर्ण चवदशबाट घण्टाकर्ण भएको हो।

त्यस्तै ने.स. ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश र ने.स. ७९२ को नेपालभाषाको एउटा गीतमा पनि स्पष्टसँग छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख रहेको उनी बताउँछन्।

ने.स. ८१८ मा भक्तपुर तलेजुस्थित मालती चोकमा भेटिएको एउटा शिलापत्रमा साउन शुक्ल चतुर्दशीलाई स्पष्टसँग गाथामोगल चवदश भनिएको पाइएको उनले बताए।

गाथामोग चर्‍हेको दिन भक्तपुरको नवदुर्गा गणभित्र महादेवको उत्पत्ति हुने जनविश्वाससमेत रहेको छ। यसैलाई आधार मानी गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिङ्ग स्थापना हुने भएकोले यस दिनलाई गाथामोग चर्‍हे भनिएको संस्कृतिकर्मीहरूको मत रहेको छ।

यस हिसाबले गाथामोग कुनै राक्षस वा पिचास नभई महादेव भएको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको तर्क रहेको छ।

‘हाम्रो संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ। जसका प्रमुख नायक बालासुर जो शिवकै एक रुप हो’, उनी भन्छन्, ‘चैत कृष्ण चतुदर्शी पिशाच चतुर्दशी हो, जसका अधिपति भूतप्रेत पिचास शिवकै गण हो। यता फागुन कृष्ण चुतर्दशी शिवरात्री त भगवान शिवकै पूजा आराधना गर्ने दिन हो। त्यसैले श्रावण कृष्ण चतुर्दशीको दिनका नायक गाथामोग पनि शिवकै रुप भएकोमा दुईमत हुन सक्दैन।’

उनका अनुसार गाथामोगको आकृति हेर्दा उन्मक्त भैरवसँग मिल्दोजुल्दो छ। ‘उन्मक्त  भैरव पनि महादेव नै हुन्’, उनी थप्छन्।

यस दिन स्थानीय वासिन्दासँग मागेर ल्याइएको छ्वाली र नर्कटको सहायताले बनाइएको गाथामोगलाई नांग्लोमा लेखिएको विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीहरूको माला, भोगटेलगायतले सिंगारिएर साँझको बेला स्थानीय दोबाटो र चौबाटोमा दहन गरेर गाथामोग पर्व मनाइन्छ।

यस दिन नेवार बस्ती भएका भक्तपुरसँगै ललितपुर, काठमाडौं, काभ्रे, मकवानपुर, धनकुटालगायतका गाउँठाउँका एउटै दोबाटो दर्जनौं गाथामोग दहन गरिन्छ।

यसरी भीमकाय परालबाट बनेको गाथामोग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यहरूले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरू गर्ने गरिन्छ।

पराल र नर्कटबाट बनेको गाथामोगलाई अश्लील र भद्दा देखाउन दुइटा ठूल्ठूला हरिया भोगटे र परालको डोरी बेरेर बनाएको डल्लो झुन्ड्याइन्छ। जसलाई पुरुषको जनेन्द्रीय अंगको प्रतीक मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.