बलात्कारको प्रमाण नपुगेपछि नेमारलाई राहत
साओ पाउलो : ब्राजिलियन फुटबल स्टार नेमारले आफूमाथि लागेको बलात्कार मुद्दाबाट छुटकारा पाएका छन् । पर्याप्त प्रमाण नभएको कारण देखाउँदै नेमारमाथि लागेको बलात्कार मुद्दा अगाडि नबढाउने निर्णय गरिएको हो । पर्याप्त प्रमाण नपुगेको कारण देखाउँदै मुद्दा अगाडि नबढाउने निर्णय लिइएको साओ पाउलो महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
‘नेमारमाथि लगाइएको बलात्कारको आरोपलाई पुष्टि गर्न पर्याप्त प्रमाण नपुग्ने भएकाले मुद्दा खारेज गर्ने निर्णय लिइएको हो’, महान्यायाधिवक्ताको कार्यालयले भनेको छ । मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयलाई अन्तिम स्वीकृतिका लागि न्यायालयमा पठाइने भएको छ ।
ब्राजिलियन मोडेल नाजिला ट्रिन्डाडेले नेमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् । गत मेमा फ्रान्सको राजधानी पेरिसस्थित एक होटलमा नेमारले आफूमाथि जबरजस्ती गरेको आरोप नतिजाले लगाइएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले नेमारमाथि छानबिन अगाडि बढाएको थियो । नेमारका विषयमा ब्राजिलका सञ्चारमाध्यममा व्यापक समाचार आएपछि प्रहरीले यस विषयमा छानबिन गरिरहेको थियो । नेमारले बलात्कार गरेको भन्दै ती महिलाले नेमारका विषयमा सात मिनेटको भिडियोसमेत सार्वजनिक गरेकी थिइन् । नेमार महा बलात्कारी भएको भन्दै ट्रिन्डाडेले विभिन्न वकिलमार्फत उजुरी दिएकी थिइन् ।
पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेमार मात्र होइन, हालै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप पनि अदालतले खारेज गरिदिएको छ । एक साताअघि मात्र रोनाल्डो सन् २००९ मा एक अमेरिकी महिलालाई बलात्कार गरेको आरोपको मुद्दा खेप्दै आएका रोनाल्डोले सफाइ पाएका थिए । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानबिनपछि उनलाई सफाइ दिइएको हो । रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक होटलमा अमेरिकी मोडल क्याथरिन म्यायोर्गामाथि बलात्कार गरेको आरोप लागेको थियो ।
क्याथरिनले रोनाल्डोले आफूलाई जबर्जस्ती कोठामा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यतिबेला दुवैले घटना बाहिर नल्याउने भन्दै सहमति गरेका थिए । रोनाल्डो र क्याथरिनले सन् २०१० मा घटना बाहिर नल्याउने सर्तमा अदालत बाहिर करिब चार करोड रुपैयाँमा दुवै पक्षबीच सहमति बनेको थियो । तर क्याथरिनले नौ वर्षपछि पुनः उक्त घटना सार्वजनिक गरेकी थिइन् ।
सन् २०१८ मा मीटु अभियानबाट प्रेरित भएर क्याथरिनले रोनाल्डोविरुद्ध उजुरी दिएको स्वयम् क्याथरिनका वकिलले बताएका थिए । क्याथरिनको उजुरीमा गत वर्षदेखि अनुसन्धान गरिएको थियो । रोनाल्डोले भने क्याथरिनले पैसाका लागि आफूमाथि षड्यन्त्र गरेको भन्दै सुरुबाटै आरोपको खण्डन गर्दै आएका थिए । छानबिनपछि अमेरिकाको क्लर्क काउन्टी जिल्ला अदालतको सरकारी वकिलले विज्ञप्ति निकाल्दै बलात्कार आरोप खेपिरहेका रोनाल्डो निर्दोष सावित भएको उल्लेख गरेका थिए । अदालतले रोनाल्डोमाथि कुनै कारबाही नहुने समेत स्पष्ट पारिदिएको थियो ।