नेपालको विश्वकप छनोटका दुवै खेल कुवेतमै
काठमाडौं : सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको एसियाली राष्ट्रको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने दुवै खेल उसैको मैदानमा खेलाउन प्रस्ताव गर्ने निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ।
एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले अक्टोबर ५ तारिखमा नेपालमा खेलिने तय भएको होम खेल दशरथ रंगशाला पुनर्निर्माणको काम सम्पन्न हुन अझै केही समय लाग्ने भएकाले कुवेतमै खेलाउन प्रस्ताव गर्ने निर्णय गरेको हो। नेपालमा आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्षित गरी दशरथ रंगशालाको निर्माण कार्य भइरहेको छ।
विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुबेत र चाइनिज ताइपेई रहेका छन्। नेपालले अस्ट्रेलियासँग अक्टोबर १० मा अवे सन् २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ। जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदान र सन् २०२० को जुन ४ तारिख उसैको मैदानमा खेल्नेछ। चाइनिज ताइपेईसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ। दोस्रो चरणको छनोटमा ४० टोलीले होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। समूहका विजेता र चार शीर्ष उपविजेता टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् ।
कार्यसमिति बैठकलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा। तस्बिर : अन्नपूर्ण
यसैगरी बैठकले एन्फाको प्राविधिक निर्देशकमा अस्ट्रेलियन नागरिक गेरी फिलिप्स, हेड अफ कोचेज एजुकेसन पदमा सञ्जित सिंह, हेड अफ इलिट एन्ड युथ पदमा नवीन महर्जन र हेड अफ वुमेन्स पदमा हरि खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। एन्फाले एसियाली फुटबल महासंघको निर्देशन अनुशासन चार जनालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसैगरी एन्फाले एथलेटिक्स ट्रेनरको कार्य गर्दै आएका एथलेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारीलाई पदबाट मुक्त गर्ने निर्णय गरेको छ। उनले राष्ट्रिय टोलीका गोलरक्षक किरण लिम्बूलाई तातो चिया छ्यापेको घटनामा छानबिनपछि उक्त निर्णय गरिएको जनाइएको छ। बैठकले खेलाडीलाई प्रदान गरिने पदक, विभिन्न स्तरका लिग र प्रतियोगिताहरू, आसन्न सागका लागि पुरुष र महिला टोलीको तयारीलाई व्यवस्थित बनाउनेलगायत निर्णय पनि गरेको छ।