‘१३औं सागमा अर्जुन दृष्टि’
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले नेपालमा आगामी डिसेम्बरमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई अर्जुन दृष्टिमा राखेको बताएका छन्।
नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदलगायत अन्य समसामयिक विषयमा काठमाडौं महानगरपालिका वडा नं. ११ का बासिन्दासँगको छलफल र अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव सिलवालले यो कुरा बताएका हुन्। ‘मेरो पहिलो प्राथमिकता साग हो। यसैलाई अर्जुन दृष्टिमा राखेर अगाडि बढिरहेको छु।’ सदस्यसचिव सिलवालले भने ‘तीन पटक मिति सरिसकेको छ। अब साग सर्नु हुँदैन। राष्ट्रको गौरव र प्रतिष्ठासँग जोडिएकाले साग निर्धारित समयमै गर्नुपर्छ।’
सदस्यसचिव सिलवालले सागका लागि भौतिक संरचना निर्माण सम्पन्न गर्ने अभियानमा रहेको बताउँदै आफ्नो कार्यकालमा खेल क्षेत्रलाई ‘सिस्टम’ मा अगाडि बढाउने बताए। उनले परिषद्का छिमेकीहरूलाई पनि खेलकुदमा अपनत्व महसुस होस् भन्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउँदै सागलाई भव्य र सफल रूपमा सम्पन्न गर्न वडा र वडावासीको विशेष सहभागिता रहनुपर्नेमा जोड दिए।
कार्यक्रममा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले सागलाई सफल बनाउन सबै एकजुट हुन आवश्यक रहेको बताए।
सहभागीहरूले राखेपले पहिलो पटक वडावासीलाई सम्झेकोमा धन्यवाद दिँदै साग आयोजनामा पूर्वाधार, प्रशिक्षण, ट्राफिक व्यवस्थापन, पार्किङ, मेडिकललगायत विविध पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए।