जापानमा अत्याधिक गर्मीले ११ जनाको मृत्यु
तोक्यो : जापानमा अत्यधिक गर्मीका कारण एक सातामा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले बताएका छन् । गर्मीका कारण ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।
गर्मीका कारण अस्पतालमा ५ हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये १ हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् । गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये १ हजार ७९२ जना अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका छन् । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।
अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत विरामी ६५ वर्षमाथिका वृद्धवृद्धा रहेका छन् । आइची क्षेत्रमा सबैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका छन् । त्यस्तै ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।
मंगलबार पनि जापानमा तापक्रम बढेको छ । सिन्ह्वा समाचार संस्थाका अनुसार मध्य जापानमा पर्ने गिफीको ताजिमी क्षेत्रमा मंगलवार तापक्रम ३७.१ सेल्सियस पुगेको छ । तोक्यो नजिकका क्षेत्रहरू कुमागाया, साइतामा र क्योतोमाधी वरपर पनि ३६.८ सेल्सियसभन्दा बढी तापक्रम मापन भएको बताइएको छ । रासस/सिन्ह्वा