योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त : चार बजे शपथ
काठमाडौं : नेकपा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भट्टराईको शपथ दिउँसो ४ बजे शीतल निवासमा हुँदैछ। भट्टराई ताप्लेजुङका सांसद हुन्।
गत फागुन १५ गते गते तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो। अधिकारीको निधनपछि चार महिनादेखि पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले लिएका थिए।
भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो। भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका थिए। उनी २०४० सालमा पञ्चाय विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल परे।
२०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भए। २०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए।
२०६२-६३ को जनआन्दोलनमा एमाले काठमाडौं उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौं महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भए। भट्टराई पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए।