भक्तपुरमा वर्षामै खानेपानी अभाव

भक्तपुरमा वर्षामै खानेपानी अभाव

भक्तपुर : वर्षायाममै भक्तपुर नगरवासी खानेपानी अभावमा परेका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागअनुसार खानेपानी उत्पादन तथा वितरण गर्न नसक्दा भक्तपुर नगरवासी वर्षायाममै खानेपानीको अभाव झेल्न बाध्य भएका हुन्।

भक्तपुर नगरसँगै चाँगुनारायण नपाको केही वडामा खानेपानी वितरण गर्दै आएको लिमिटेडले भक्तपुर नपा वडा नं ८ लिवालीमा तीनदिनमा एकपटकमात्रै खानेपानी दिन सकेको छ। भक्तपुर र चाँगुनारायण नगरका अन्य वडाका वासिन्दाले भने अहिले दिनदिनै खानेपानी पाइरहेका छन्।

लिमिटेड भक्तपुरका शाखाका प्रमुख सुरेन्द्र हिमालयले खानेपानी उत्पादन बढाउन नसकिँदा भक्तपुर नपा ८ लिवाली क्षेत्रमा तीन दिनमा एकपटकमात्रै खानेपानी दिन सकिएको प्रस्ट पारे।

उनका अनुसार उक्त क्षेत्रमा रहेको पुरानो पाइपलाइनमा समस्या आउँदा पनि खानेपानी वितरण प्रभावित भएको छ।

‘दिनहुँ खानेपानी वितरण गर्न पुरानो पाइपलाइन फेर्ने र चाबी थप्ने कार्य गरिरहेका छौं’, प्रमुख हिमालयले भने।

माग ९० लाख उत्पादन ६० लाख लिटरमात्रै

लिमिटेडअन्तर्गत भक्तपुरमा करिब ११ हजार पाँचसय निजी धारा छन्। ती धाराको आधारमा दैनिक ९० लाख लिटर खानेपानीको माग रहेको प्रमुख हिमालयले जानकारी दिए।

तर केन्द्रले बोडे, नगरकोटस्थित मुहान पोखरी र जगातीस्थित डीप बोरिङबाट दैनिक ६० लाख लिटरमात्रै खानेपानी जोहो गर्न सकेको उनले बताए।

‘हामीले दैनिक ६० लाख लिटरमात्रै खानेपानी जोहो गर्न सक्छौं’, उनले भने, ‘तर माग भने ९० लाख लिटर छ। माग पूर्ति गर्न गएको वर्ष दुई ठाउँमा गरिएको डीप बोरिङ यस वर्षदेखि सञ्चालनमा ल्याउँदैछौं।’

उनका अनुसार भक्तपुर नपा १ सल्लाघारी र वडा नं ७ जगातीमा डीप बोरिङ गरिएको हो। सल्लाघारीबाट प्रतिसेकेन्ड १० लिटर र जगातीबाट प्रतिसेकेन्ड पाँच लिटर पानी उत्पादन हुन्छन्।

‘यी दुई बोरिङको पानी मुख्य पाइपलाइनमा जोडिएपछि सुख्खा याममा पनि भक्तपुर नगरमा खानेपानी अभाव धेरै कम हुनेछ’, प्रमुख हिमालयले भने, ‘अहिले मुहानपोखरीबाट दोब्बर पानी आपूर्ति भइरहेकाले पनि खानेपानी अभाव टरेको छ।’

उनका अनुसार पहिले पाँच दिनमा भरिने मुहान पोखरी अहिले दैनिक दुईपटक भरिन्छ। त्यसैले त्यहाँबाट दिनहुँ पानी वितरण गर्न सकिएको उनको भनाइ छ।

खानेपानीको चुहावट बढ्यो

शाखाले पछिल्लो समय खानेपानीको चुहावट बढेको जनाएको छ। भूकम्पपछि नयाँ घर बनाउने क्रममा अन्डरग्राउण्ड ट्यांकी बनाउने क्रम बढेसँगै खानेपानी चुहावट बढेको शाखा प्रमुख हिमालय बताउँछन्।

‘अन्डरग्राउन्ड ट्यांकीमा मिटर नपुग्ने मुख्य पाइपलाइनमा टी राखेर खानेपानी चोर्ने गरिएको पाइएको छ’, उनले भने।

गएको महिना यसरी खानेपानी चुहावट गरिएका एकसय जना ग्राहकलाई कारबाही गरिएको उनले सुनाए।

‘पुराना घरहरुमा अन्डरग्राउण्ड ट्यांकी थिएन’, उनले भने, ‘तर अहिले भूकम्पपछि बनाएका नयाँ घरमा अधिकांशले अन्डरग्राउण्ड ट्यांकी बनाए। ती ट्यांकीमा चुहावटको खानेपानी भर्ने गर्ने गरेको भेटिए।’

उनले यसरी पानीको चुहावटको खोजीमा शाखा कर्मचारीहरु लागिपरेकोसमेत बताए।

‘मान्छेको जीवनशैली फेरिएसँगै खानेपानीको माग बढेको छ’, प्रमुख हिमालयले भने, ‘त्यसमाथि अन्डरग्राउन्ड ट्यांकीमा पानी जम्मा गर्ने प्रवृत्ति बढ्दा खानेपानी अभाव बढेको बढेयै छ।’

प्राविधिक कर्मचारी अभाव

उनले प्राविधिक कर्मचारीहरुले धमाधम अवकाश पाउन थालेपछि शाखामा प्राविधिक कर्मचारीहरुको अभाव हुन थालेको गुनासो गरे।

प्राविधिक कर्मचारीहरुको अभावले मुख्य तथा सहायक वितरण पाइपलाइनमा चुहावट हुँदा मर्मत गर्नसमेत समस्या हुन थालेको उनले सुनाए। जसले गर्दा खानेपानी वितरणमा समस्या आई ग्राहकहरु खानेपानीबाट बञ्चित हुने गरेका छन्। केन्द्रमा पटकपटक प्राविधिक कर्मचारीहरु पठाउन ताकेता गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.