बाढीपीडितलाई गिरिजाप्रसाद फाउन्डेसनको सहयोग
काठमाडौं : गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ लिम्घा गाउँका बाढीपीडितलाई गिरिजाप्रसाद कोइराला फाउण्डेसन मकाउ शाखाले आर्थिक सहयोग गरेको छ।
फाउन्डेसन मकाउ शाखाले बुधबार मण्डिखाटारमा गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ लिम्घा गाउँमा जस्तापाता किन्नका लागि तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो। उक्त गाउँमा साउनमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका थिए।
नेपाल चेम्बर अफ कमर्श मकाउ, नेपाल जनसम्पर्क समिति मकाउ र एनआरएन मकाउ, गुल्मी लिम्घा गाउँका बासिन्दाबाट सङ्कलन गरेर पठाएको रकम फाउन्डेसन मकाउकी संयोजक निर्मला थापामगरले फाउन्डेसनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालालाई हस्तान्तरण गरिन्।
कार्यक्रममा मकाउ शाखाकी संयोजक थापामगरले नेपाल चेम्बर अफ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापामगर, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ, एनआरएन मकाउका अध्यक्ष शान्तिदेवी अधिकारी, पीडित गाउँ बासिन्दा ऋषिराम भण्डारी, रुद्रहरी ज्ञवाली, केशव ज्ञवाली, तारा बस्नेत, नरेन्द्रबहादुर खसुलगायतको सक्रियतामा उठाएर पठाएको रकम हस्तान्तरण गरेको जानकारी दिए।
फाउन्डेसनले हाल अमेरिका, जापान, मकाउ, हङकङ, कतार, भारतलगायतका एक दर्जन मुलुकमा शाखा विस्तार गरेर मुलुकको विकासका लागि काम गर्दै आएको छ।