पाँचपोखरी ट्रेल म्याराथन हुने
काठमाडौं : साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने नारासहित तेस्रो पाँचपोखरी ट्रेल म्याराथन साउन ३० गते हुने भएको छ। बुधबार नेपाल पर्यटन बोर्ड, काठमाडौंमा पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित खेलकुद विकास समिति सिन्धुपाल्चोकद्वारा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।
‘पर्यटन प्रवर्द्धनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्वस्थ रहन खेलकुद र खेलकुदका माध्यमबाट यस भेगको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम संयोजक टासी शेर्पाले जानकारी दिए। खेलको माध्यमबाट नै पाँचपोखरी, रैथाने र यस पालिकामा सयौंको संख्यामा रहेका पर्यटकीय क्षेत्रहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रियसम्म पहिचान गराउने रहेको कार्यक्रम संयोजक शेर्पाले बताए।
सम्मेलनमा बोल्दै पूर्वमन्त्री शेरबहादुर तामाङले आफू पनि यो प्रतिस्पर्धीमा धावक बनेको घोषणा गरे। पर्यटन वर्ष २०२० लाई लक्षित गरी गरिएको प्रतियोगिताले सिंगो गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनेछ, उनले भने। यसैगरी प्रदेश नं. ३ का सांसद निमा लामाले पर्यटन क्षेत्रको हिसाबले पाँचपोखरी निकै राम्रो रहेको उल्लेख गर्दै यो प्रतियोगिताले पनि यस क्षेत्रलाई चिनाउन सहयोग पुग्ने बताए।
पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यो खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नको लागि आयोजना गरेको बताउँदै यसको लागि गाउँपालिका प्रायोजक रहेको जानकारी दिए। प्रतियोगितामा खुला महिला र पुरुषहरूको छुट्टाछुट्टै प्रतिस्पर्धा गरााइने बताइएको छ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिनेछ। सिन्धुपाल्चोकबाट सहभागी भई विजेता हुनेलाई भने थप १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।