युवा खेलाडीकासाथ लय समात्दै श्रीलंका
कोलम्बो : श्रीलंकाले बंगलादेशविरुद्धको एक दिवसीय सिरिज क्लीनस्वीप गरेको छ । घरेलु मैदानमा खेलेको तीन एकदिवसीय सिरिजमा तीनै वटामा जित हात पार्दै श्रीलंकाले ३–० ले श्रृंखला क्लीनस्वीप गरेको हो।
५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको स्कोर बनाउने क्रममा श्रीलंकाका लागि एन्जेलो म्याथुजले सर्वाधिक ८७ रन बनाए । कुशल मेन्डिसले ५४, कप्तान करुणारत्नेले ४६ रनको योगदान गरे । कुशल परेराले ४२ र दसुन शनकाले ३० रन जोडेका थिए । बंगलादेशका लागि साफिउल इस्लाम र सौम्य सरकारले ३–३ विकेट लिए।
२९५ रनको लक्ष्य पछ्याएको बंगलादेशी टोली ३६ ओभरमा १७२ रन बनाउँदा अल आउट भयो । बंगलादेबका लागि सौम्य सरकारले ६९ रन ताइजुल इस्लामले ३९ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान गर्न सकेनन् । श्रीलंकाका दसुन शनकाले बंगादेशको ३ विकेट लिए । त्यसैगरी कासुन राजिथा र लाहिरु कुमाराले २–२ विकेट लियो।
यसै एक दिवसीय श्रृखलाको पहिलो खेल खेलेर श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरे । आफ्ना एक उत्कृष्ट खेलाडीको बिदाई गरेको श्रृंखलाको अन्त्य भने श्रीलंकाली क्रिकेट टोलीले सुखद बनायो । मालिंगाको अनुपस्थितमा पनि पछिल्ला दुई खेलमा श्रीलंकाका युवा बलरहरुले उत्कृष्ट बलिङ गरे।
बंगलादेशको विकेट लिए पछि खुसी मनाउँदै श्रीलंकाका खेलाडी । तस्बिर : श्रीलंका क्रिकेट बोर्ड
लामो समयसम्म कुनै पनि फर्म्याटका क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसकेको श्रीलंकाली टोलीले विश्वकप लगतै भएको सिरिजमा जित हात पार्दै लयमा देखिएको छ । गत महिना मात्रै सकिएको विश्वकपमा पनि श्रीलंकाको प्रदर्शन औसत थियो । कुमार सांगाकार तिलकरत्ने दिलसान जस्ता पुराना खेलाडी बाहिरिएपछि श्रीलंकन क्रिकेट टोलीको प्रदर्शन खस्किएको थियो । श्रीलंकन टोली हाल अधिकांश युवा खेलाडी छन्।