सबस्टेसनको काम अलपत्र
फिदिम : पाँचथरको आठराईमा निर्माणाधीन सबस्टेसनको काम एक वर्षदेखि अलपत्र परेको छ। ३३ केभीए विद्युत् प्रसारण लाइनको काम छाडेर ठेकेदार हिँडेपछि सबस्टेसन निर्माणको काम अलपत्र परेको हो।
तीन वर्ष अघिदेखि निर्माण थालिएको सबस्टेसनको काम गत वर्षको साउन महिनादेखि स्थगित भएको हो। आठराई संक्रान्तिबजार नजिकै रहेको सबस्टेसन निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी ए टू जेड इन्सा इन्जिनियरिङले नेपालमा रहेको मल्ल कन्स्ट्रक्सनलाई पेटी ठेक्कामा काम दिइएको बताइएको छ। सबस्टेसनका लागि घेराबार र एउटा भवनको पिल्लर मात्र तयार भएको छ।
पेटी ठेक्कामा काम थालेको मल्ल कन्स्ट्रक्सनले बीचैमा काम छोडेपछि सबस्टेसन समयमा निर्माण नहुने देखिन्छ। आठराईमा ११ केभीए विद्युत् लाइन विस्तार भए पनि सबै घरमा केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन। एक वर्षदेखि सबस्टेसनको काम अलपत्र अवस्थामा रहे पनि अहिलेसम्म कसैले ध्यान नदिएको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्ति बजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए।
सबस्टेसन निर्माण गर्न संक्रान्तिबजारका स्थानीय केवलीप्रसाद मैनालीको परिवारले ९ रोपनी जग्गा नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएका थिए। पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी निर्माण थालिएको सबस्टेसनको काम छाडेर ठेकेदार बेपत्ता भएपछि आठराई अध्याँरोबाट मुक्त हुन सकेको छैन।
तेह्रथुमको दुर्गम क्षेत्रमा रहेको आठराई विद्युतीय क्षेत्रमा निकै पछि छ। आठराई संक्रान्तिबजारसहित आसपासका केही गाउँमा मात्र विद्युत् पुगेको छ। ३३ केभीए विद्युत् प्रसारण लाइन निर्माण र विस्तारले गति नलिनु समग्र आठराईबासीको समस्या भएकाले आफू चिन्तित रहेको स्थानीय याममणि बरालले बताए।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रणाली सुदृढीकरण आयोजनाका अनुसार सबस्टेसन निर्माण र लाइन विस्तारका लागि १० देखि १५ करोड रुपैयाँको लागतमा निर्माण कार्य अघि बढाइएको हो। प्रणाली सुदृढीकरण आयोजनासँग ए टू जेड इन्सा इन्जिनियरिङ कम्पनीको सबस्टेसन निर्माणसम्बन्धी सम्झौताको समय सकिन अब तीन महिना मात्र बाँकी छ।