स्वर्गद्वारी बचाउन सकस
काठमाडौं : अर्बौंको सम्पत्ति भएको भएर पनि प्यूठानको प्रसिद्ध स्वर्गद्वारी आश्रम भक्तजनको भेटीबाट सञ्चालन भइरहेको छ। दाङका विभिन्न क्षेत्रमा आश्रमका नाममा १२ सय बिघा जग्गा छ। तर आश्रमको आयस्रोत भक्तजनबाट प्राप्त मानो मुठी आयस्रोत हो।
जग्गाजमिन कब्जा भएकाले आश्रम सञ्चालन कठिन बन्दै गएको सञ्चालक समिति सदस्य डा. धु्रव श्रीले बताए। उनका अनुसार बहुदलीय व्यवस्था पुनस्र्थापनापछि आश्रमको जग्गा अतिक्रमण सुरु भएको हो। द्वन्द्वकालमा तत्कालीन माओवादीले जग्गा कब्जा ग¥यो। २०४८ सालपछि आश्रममा कुत बुझाउन बन्द भयो।
भक्तजनले चढाएको दानदातव्यबाट स्वर्गद्वारीको गतिविधि सञ्चालन भइरहेको डा. धु्रव श्रीले बताए। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भक्तले चढाएको दान÷दातव्य, भेटीबाट आश्रम चलेको छ। नपुगेमा स्वामी आफंै भारतको गुजरात, राजस्थान, मुम्बई गएर भिक्षा माग्नुहुन्छ।’
स्वर्गद्वारीमा नेपालीभन्दा भारतीय भक्तजन बढी पुग्छन्। भारतका गोरखपुर, सिद्धार्थनगर, श्रावस्ती, गोन्डा, बलरामपुरबाट वर्षमा दुई लाख श्रद्धालु स्वर्गद्वारी पुग्छन्। नेपाली भक्तजन भने वार्षिक ५० देखि ८० हजार पुग्ने गरेका छन्।
सरकार नै भक्षक
स्वर्गद्वारी आश्रम तहसनहस पार्न सरकारी संयन्त्र नै सक्रिय रहेको आश्रमका पदाधिकारी बताउँछन्। डा. धु्रव श्रीले जनप्रतिनिधिबाटै स्वर्गद्वारीका विषयमा कुप्रचार गरिरहेको बताए। उनले एक सय २५ वर्ष पुरानो इतिहास बोकेको धार्मिक संस्थालाई समाप्त पार्ने खेल भइरहेको भन्दै दुःख व्यक्त गरे। ‘स्वर्गद्वारीबारे जिम्मेवार जनप्रतिनिधिबाट भ्रामक प्रचार भइरहेको छ। त्यसले आमभक्तजनको मनमा ठेस पुग्न गएको छ’, उनले भने, ‘बालतपस्वीबाट झोलीको रकम हाली खरिद गरिएको स्वर्गद्वारी आश्रमको स्वामित्वमा रहेको जग्गा हडप्ने प्रयास भइरहेको छ। आश्रममाथि भ्रामक आरोप लगाउनु दुःखदायी छ।’ बालतपस्वी महाप्रभुले वि.सं. १९५२ मा १८ सय बिघा जग्गा खरिद आश्रमसहित, गौशाला, यज्ञशाला र पाठशाला सञ्चालन थालनी गरेका थिए।
गुठी विधेयक पारित भएको भए एकहप्तामै स्वर्गद्वारीको अस्तित्व समाप्त हुने उनको भनाइ छ।
डा. ध्रुव श्रीले निजी गुठीका रूपमा रहेको आश्रमलाई जबरजस्ती राजगुठीमा परिणत गरी समाप्त पार्ने खेल २०५८ मा सुरु भएको बताए। ‘२०५८ सालमै खेल सुरु भएको हो तर न्यायालयलाई गुहार्दा जमिन हड्प्ने तत्व निस्तेज भए,’ उनले भने।
उनका अनुसार १९८३ सालमा देउखुरीका ४ मौजा खरिद भएर चेलाका नाममा जिमिदारी बहाली भएपछि १९९३ सम्ममा दाङ, झिगौरा, रामपुर, साहीपुर, नैनवार, पड्डाहासमेतमा जग्गा खरिद गरिएको हो। २०३० सालमा भूमिसुधार लागू भपछि आश्रमले लालपुर्जा लिएको हो।
डा. ध्रुव श्रीले आश्रम वास्तविक किसानका विपक्षमा नरहेको पनि स्पष्ट पारे। उनले किसानका नाममा भूमाफियाले बीचमा बसेर खेलिरहेको आरोप लगाए।
काठमाडौं र उपत्यकाबाहिरका गुठी फरकफरक प्रकृतिको भन्ने कुरा गलत भएको उनको भनाइ छ। ‘देशभरका गुठी एकै हुन्, बाहिर र यहाँका फरक भन्नु सरसार गलत हो,’ उनले भने, ‘गुठी परम्परा नबुझेकाले र भ्रम फैलाउनेले गरेको हल्ला मात्रै हो यो।’