सुपरदोर्दी खोला जलविद्युत आयोजनाको काम ठप्प
बेंसीसहर : लमजुङको दोर्दीखोलामा गत साता आएको बाढीले क्षति पुर्याएपछि निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी 'ख' जलविद्युत आयोजनाको काम ठप्प भएको छ। साउन ८ गते दिउँसो अचानक आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याउँदा त्यसयता आयोजनाको निर्माणकार्य अघि बढ्न सकेको छैन्।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको बाँध पुरिएको छ। डिसेन्डरमा पानी र काठ जमेर बसेको आयोजनाले जनाएको छ। आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमका अनुसार आयोजनामा जाने बाटो बाढीले बगाएको छ। तत्काल खुलाउन सकिने अवस्था छैन।
डिसेन्डरमा रहेको सबै मेसिनरी सामग्री बगाएको र भएका पनि काम नलाग्ने अवस्थामा रहेको उनले बताए। गौतमकाअनुसार बाढीबाट करिब १० करोड बराबरको क्षति अनुमान गरिएको छ। दिउँसो ३ बजेतिर एक्कासी आएको बाढीमा १७ जना कामदार फसे पनि उनीहरुको सकुशल गरिएको थियो। सोही बाढीले बगाउँदा माथिल्लो दोर्दी 'ए' जलविद्युत आयोजनामा कार्यरत ५ मजदुरको मृत्यु भयो भने ५ जना बेपत्ता छन्।
सुपर दोर्दी 'ख' आयोजनामा करिब ८ सय कामदार छन्। बाढी आएको क्षेत्रमा मात्रै २ सय कामदार थिए। उनीहरु अहिले कामबिहीन बनेका छन्। आयोजनाको काम अनिश्चितकालका लागि बन्द भएको गौतमले बताए।
आयोजनाका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार आयोजनाको ६० प्रतिशत काम सकिएको छ। आयोजनामा बाढीले क्षति पुर्याएपछि पुनः काम गर्नुपर्ने अवस्था आएको उनले बताए। आयोजनाको बाँधको काम सकिएको छ। ९ हजार २ सय ७८ मिटर सुरुङमध्ये ६ हजार ५०० सुरुङ खनिसकिएको छ । उक्त आयोजना साँढे ८ अर्ब रुपियाँमा निर्माण हुन लागेको हो ।
आयोजनामा नविल बैंकको नेतृत्वमा ९ वटा बैंकले ७० प्रतिशत लगानी गर्ने छ । आयोजना सत प्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको प्रवद्र्धक पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक रायमाझीले बताए ।
दोर्दी गाउँपालिका ७ ढोडेनी र ७ फलेनीबीच बग्ने दोर्दीखोलामा निर्माणधीन उक्त अयोजना २०७१ फागुन २० गते नेपाल विद्युत प्राधिकरणसँग हिउँदमा ४ रुपैयाँ ८० पैसा र बर्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो।
उक्त आयोजनाको बाँध ढोडेनीको तुम्सीमा रहने आयोजनाले जनाएको छ। सुरुङमा पनेस्टक पाइपमार्फत पानी ल्याएर ढोडेनीको ताँजे गाउँको तल्लो भेग लोँदो र दोदीखोलाको तीरमा भूमिगत विद्युत गृह निर्माण गरि विद्युत उत्पादन गरिने भएको छ। नदीको बहाबमा आधारित (रन अफ द रिभर) प्रकृतिको उक्त आयोजनाको ग्रस हेड ६ सय ४० मीटरको हुने छ । आयोजनाका अनुसार बार्षिक २८ करोड ६४ लाख युनिट विद्युत उत्पादन हुने छ ।
बाढीको क्षतिपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले निरीक्षण गरेको छ।मुख्यमन्त्री गुरुङले विपद् सम्भावित ठाउँमा 'डिजास्टर इन्फर्मेशन सिष्टम' जोड्ने प्रतिवद्धता जनाएका छन्। प्राकृतिक प्रकोपमा परेकाको उद्दार तथा राहत वितरणमा अप्ठ्यारो भएकाले जलविद्युत आयोजना क्षेत्रको सडक निर्माणमा प्रदेश सरकारको ध्यानाकार्षण उनले बताए ।