अवरुद्ध ग्रामीण सडक खोल्दै गाउँपालिका
धनकुटा : अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध ग्रामीण सडक खुलाउन गाउँपालिकाले पहल सुरु गरेको छ। सहिदभूमि गाउँपालिकाले आफ्नै स्काइभेटर प्रयोग गरेर काम सुरु गरेको हो।
आवात-जावत, कृषिजन्य वस्तु र खाद्यान्न ढुवानीमा समस्या भएपछि गाउँपालिकाले सडक खुलाउन सुरु गरेको अध्यक्ष मनोज राईले जानकारी दिए।
गाउँपालिकाको एक्साभेटरले अहिले गाउँपालिका प्रवेश गर्ने मुख्य सडकमा रहेको पहिरो पन्छाउने काम गरिरहेको छ।
अविरल वर्षाले हिले-छिन्ताङ-त्रिवेणी, मुलघाट-त्रिवेणी-भोजपुर, गुठीटार-छिन्ताङ्ग-अखुवाटार सडकखण्डका विभिन्न क्षेत्रमा पहिरो गएको छ। सडक अवरुद्ध हुँदा बिरामीलाई बोकेर अस्पताल लानुपर्ने बाध्यता भएको स्थानीयको भनाइ छ।
सहिदभूमि गाउँपालिकामा ग्राभेल, कच्ची गरी करिव तीन सय किलोमिटर सडक रहेको छ।