‘डिभोर्स’ बिर्सिएर राप्रपा ‘प्याचअप’ तिर
काठमाडौं : राप्रपा र राप्रपा (संयुक्त)ले दसैंअगावै एकताको तयारी गरेका छन्। दुवै पार्टीले एकअर्कालाई एकता आह्वान गरेका छन्।
राप्रपा केन्द्रीय समिति बैठकले असारमा एकता गर्ने निर्णय गरेको थियो। राप्रपा (संयुक्त)ले त्यो प्रस्ताव स्वीकार गरेको छ। उक्त पार्टीले कार्यसम्पादन समिति बैठकबाट एकता पहल थाल्ने निर्णय गरेको छ। राप्रपाले अध्यक्ष कमल थापा र संयुक्तले अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएका छन्।
राप्रपा र राप्रपा नेपालबीच ६ मंसिर २०७३ मा एकता भएको थियो। असन्तुष्टि बढेपछि लोहनी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अलग्गिएका थिए।
राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेका थिए। २०७५ माघमा पुनः एकताको प्रयास भएको थियो। त्यस बेला राणा र लोहनी मिलेर राप्रपा (संयुक्त) बनाइएको थियो।
कार्यकर्ताको दबाबपछि एकताको प्रयास थालिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। ‘दोस्रो तहका नेताबीच चिया गफ भइरहेको छ’, उनले भने, ‘चाँडै औपचारिक छलफल हुन्छ।’
सबै नेताले आआफ्नो ठाउँबाट वार्ता गरेको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले बताए। ‘हामी दसैंअगावै एकताको प्रयासमा छौं’, उनले भने, ‘अब हुने एकता पहिलाजस्तो हुँदैन।’
अध्यक्षहरूबीच अनौपचारिक संवाद भइरहेको उनले बताए। ‘अध्यक्षबीच फोन सम्पर्क भइरहेको छ’, उनले भने, ‘भेटचाहिँ भएको छैन।’
राप्रपा संयुक्तका अध्यक्ष डा. लोहनीले एकताको वातावरण बनिरहेको बताए। ‘एकले अर्कालाई वार्ताका लागि स्वागत गर्नु वातावरण तयार हुनु हो’, उनले भने, ‘दोस्रो तहमा वार्ता भइरहेको छ। राष्ट्रवादी शक्ति एक हुनुको विकल्प छैन।’
हिन्दूराष्ट्र र राजसंस्थामा यसअघि संयुक्त एकता हुँदा सहमति भएका कारण पनि एकताको सम्भावना बढेको नेताहरूको भनाइ छ। पार्टी एकतापछि हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयताको विरोधलाई एजेन्डा बनाइने राप्रपा उपाध्यक्ष तामाङले बताए।
दुवै पार्टीले एकताको निर्णय गरिसकेकाले चाँडै निर्णय हुने राप्रपा संयुक्तका प्रवक्ता किरण गिरीको भनाइ छ। ‘एकताको विषय सकारात्मक रूपमा अघि बढेको छ’, उनले भने, ‘अध्यक्षलाई एकताका लागि अधिकार दिएका छौं। उहाँहरूले चाँडै निर्णय गर्नुहुन्छ।’
राप्रपा जुट र फुटको शृंखला
-
२०४६/४७ को जनआन्दोलनपछि पूर्वपञ्चहरू पार्टीमा लागे। तर, नेतृत्व विवादले एकै पार्टी घोषणा भएन। सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले २०४७ जेठमा एकै दिन छुट्टाछुट्टै पार्टी घोषणा गरे।
-
२०४८ माघमा पार्टी एकता भयो। अध्यक्ष सूर्यबहादुर थापा बने।
-
२०५४ को निर्वाचनमा राप्रपा तेस्रो शक्ति बन्यो। २०५६ मा राप्रपा (चन्द) र राप्रपा (थापा) गरी पार्टी दुई भयो।
-
२०५७ मा पुनः एकता भएको थियो।
-
२०५९ असोज १८ मा थापा र चन्द अलग भए।
-
२०६२ मा कमल थापाले पार्टी फुटाए। उनले राप्रपा नेपाल घोषणा गरेका थिए।
-
पशुपतिशमशेरसँग मनमुटाव भएपछि सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे। पूर्वपञ्चको पार्टीको संख्या तीनवटा पुगेको थियो।
-
२०७० मा पुनः राणा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भयो। नाम राप्रपा राखियो।
-
६ मंसिर २०७३ मा राप्रपा र राप्रपा नेपाल एक भई राप्रपा बन्यो। एकता एक वर्ष पनि टिकेन। राप्रपा फेरि तीन चिरामै विभाजन भयो।
-
२०७५ राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्त्रिक) मिलेर राप्रपा (संयुक्त) गठन भयो।