याक नहुँदा समस्या
सोमदाङ : व्यवसायिक चौंरीपालन गरेर दैनिक जीवनयापन गरिरहेका चौरीपालक किसानहरुलाइ याक (भाले चौंरी) नहुँदा समस्या भएको छ। गत वर्ष फागुन महिनामा भएको भारि हिमपातका कारण भाले चौंरीको मृत्यु भएपछि चौंरीपालक किसानलाई याकको समस्या भएको हो।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाको सोमदाङ, तिप्लिङ र पाङसाङ क्षेत्रमा व्यावसायिक रूपमा चौंरीपालन हुँदै आएको छ। गत वर्षको हिमपात र हिमपहिरोमा याकहरू मरेपछि पोथी चौंरीका लागि याक अभाव भएको किसान निदेश घलेले बताए। ‘हिमपातका कारण उन्नत जातका याकहरू गुमाउनुपर्यो, दूध उत्पादनका लागि पालिएका चौंरीलाई बच्चा जन्माउन याक लगाउन समस्या भएको छ’, लामो समयदेखि चौंरीपालन व्यवसायमा संलग्न उनले भने, ‘याक नभएपछि किसान चौंरी गर्भाधारण गराउन याक लिन चीनको तिब्बत र रसुवाको सोमदाङ र लाङटाङ धाउनुपरेको छ।’
आफ्नै गोठमा जवान उमेरका याकहरू नहुँदा चौंरीको सन्तान उत्पादन प्रक्रियामा असर पुग्ने र दूधको उत्पादन पनि घट्ने किसानले बताएका छन्। चौंरीको दूधबाट बन्ने परिकार बिक्री गरी राम्रो आम्दानी लिँदै आएका किसानले सरकारले नयाँ याक उत्पादनका लागि नाक र याकको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन्। चौंरी किसानको संयोजक र खर्क उपभोक्ता समितिका अध्यक्षसमेत रहेका दिनेशले भने, ‘याक किन्न असाध्यै महँगो छ, सरकारले केही अनुदान रकम सहयोग गरिदिए हुन्थ्यो।’ आफ्नै गोठमा याक भएदेखि चाहिनेबित्तिकै गर्भाधान गराउन पाइने, धेरै दूध बेच्न पाइने र नयाँ चौंरीको संख्या बढाउन सकिने दिनेशले बताए। उक्त क्षेत्रमा अहिले चौंरीलाई ४५ हजार, नाकलाई ६० हजार र याकलाई करिब १ लाख १० हजारमा खरिद बिक्री हुने गरेको छ।
अर्का चौंरीपालक किसान आइतीमाया तामाङले भनिन्, ‘चौंरीपालनबाट दूध बेचेर राम्रो आम्दानी हुन्छ। दैनिक घरखर्च चलाउन र जीविकोपार्जन गर्न सजिलै छ।’ ५० भन्दा बढी चौंरी पाल्ने किसानले मासिक ३ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ। एक पटक ब्याएको चौंरीले ९ महिनासम्म दूध दिने गर्छ।
त्यहाँका किसानले आफैं मिलेर खर्कमैै डेरी उद्योग सञ्चालन गर्न थालेका छन्। उद्योगमा किसानले प्रतिलिटर दूधको ६० रुपैयाँमा बिक्री गर्ने गरेका छन्। तिप्लिङमा चौरीको दूधबाट बनाइएका छुर्पी, घिउ र चिज नेपाली ठेकेदारले जम्मा गरी रसुवागढी हुँुदै चीनको व्यापारिक केन्द्र केरुङ निर्यात गर्ने गरेका छन्।
चौंरीको बिमा गरिएको भए पनि मृत्यु प्रमाणित गर्न बिमा कम्पनीहरू गोठसम्म जान नमानेकाले आफूहरूले बिमा रकम पनि पाउन नसकेको किसानले गुनासो गरे। सोमदाङमा करिब ५० चौंरीगोठ छन्। प्रत्येक किसानका गोठमा १५ देखि ५० वटासम्म चौंरी छन्। सोमदाङमै रहेको दुग्ध विकास संस्थानको डेरीले दैनिक ६ सय लिटर दूध किन्ने गरेको छ । डेरीले त्यसबाट चिज–छुर्पी उत्पादन गरी काठमाडौं पठाउँछ । धादिङको पाङसाङ र नार्चेतमा तिप्लिङका किसानको र सोमदाङमा सीमाना जोडिएको रसुवा, गत्लाङबासीका गोठ छन्।
चौंरीखर्कको संरक्षण र विकासका लागि कृषक दिनेश घलेको संयोजकत्वमा खर्क उपभोक्ता समूह गठन गरिएको छ। अहिले किसानले सबै चौंरी रुबिभ्याली गाउँपालिकाको वडा नं १ स्थित पाङसाङ र सोमदाङका चरन क्षेत्रमा राखेका छन्। तिप्लिङको पाङसाङ क्षेत्र चौरी पाल्न उपयुक्त हावापानी भएको ठाउँ मानिन्छ।