यो कूटनीति, खै के कूटनीति !

यो कूटनीति, खै के कूटनीति !

दूतावासमा कस्ता व्यक्तित्वको हारमा कस्ताको फोटो झुन्डिएका छन्, यो पाटो पुस्तक पढ्दै गर्दा झनै दिग्दार लाग्छ।


राजदूतलाई वर्तमान विश्वमा मुलुकको चिफ एक्जुकेटिभ अफिसर (सीईओ)का रूपमा लिइन्छ। पठाउने सरकार र काम गर्ने मुलुकबीचको प्रमुख सहजकर्ता पनि राजदूत नै हुन्। राजदूतका गतिविधिले मुलुकको यथार्थ झल्काउँछ। सम्बन्धित मुलुकसँग दुईपक्षीय व्यापार र लगानीको वातावरण तय गर्ने जिम्मेवारी राजदूतकै हो। सायद यसैले होला, राजदूतलाई प्रतिनिधि पात्र बनाएर मुलुकको अवस्था नियाल्ने अन्तर्राष्ट्रिय अभ्यास अझै छ।

सञ्चार र प्रविधिमा अहिलेको जस्तो क्रान्ति नहुँदा राजदूत साँच्चै मुलुकको वास्तविक मुहार थिए। अहिले राजदूत सरकारको मुहारमा खुम्चिएका छन्। दुईपक्षीय सम्बन्ध राम्रो हुने र नहुने विषय राजदूतको हैसियत, कार्यशैली र क्षमतामा निर्भर रहन्थ्यो। अहिले अवस्थामा आमूल परिवर्तन भइसकेको छ। राजदूत वा कूटनीतिक पात्र मात्र विदेशी भूमिमा उपस्थित छैनन्। अन्य नेपालीको पनि बाक्लो उपस्थिति छ। तत्काल सम्पर्क गरेर वा गुगल गरेर अधिक जानकारी लिन सक्ने सञ्चार र प्रविधिको विकास भइसकेको छ। जुन सुविधा पहिले थिएन। यस्तो अवस्थामा नेपालजस्तो भूराजनीतिक अवस्थिति बेहोरेको मुलुकको विगतको कूटनीति जान्न कसलाई रुचि हुन्न र ?

‘राजदूतले नुन चर्को खाएमा त्यो मुलुकका सारा जनताले नुन चर्को नै खान्छन्’ भन्ने सन्देश फैलिने अवस्था थियो विगतमा। अहिले अवस्था परिवर्तन भए पनि मुलुकको आधिकारिक धारणा विदेशमा प्रवाह गर्ने व्यक्ति हुन्, राजदूत। यसैले राजदूतको मुख सुस्त, आँखा टाठो, कान चनाखो हुनुपर्ने मात्र होइन दिमाग तिनै थोकलाई समन्वय गर्दै कुद्ने नै हुनुपर्छ। त्यसका लागि विगत भुल्नै हुन्न।

त्यही विगत स्मरण गराउन २० राजदूतको अनुभव समेटेर तयार गरिएको पुस्तक हो, ‘नेपालको कूटनीतिक अभ्यास : राजदूतहरूको अनुभव’। पुस्तकमा २० जना पूर्वराजदूतको अनुभव समेटिएको छ। त्यसमा कूटनीतिक सेवामा कार्यरतभन्दा बाहिरबाट गएका राजदूतहरूको अनुभव प्रशंसा गर्नलायक छ। कूटनीतिक सेवाभन्दा बाहिरका राजदूतहरू अर्जुनसिंह राणा, कमल कोइराला, केदारभक्त माथेमा, खड्गजित बराल, नयनबहादुर खत्री, डा. नोबलकिशोर राई, भिक्ट्रीशमशेर जबरा, डा. भेषबहादुर थापा, डा. मोहनप्रसाद लोहनी, राजेश्वर आचार्य, श्यामानन्द सुमन, सुशीलचन्द्र अमात्य, सूर्यप्रसाद श्रेष्ठ र सुरेन्द्रबहादुर श्रेष्ठको अनुभव पुस्तकमा संगृहीत छन्।

उनीहरूको अनुभवका केही विषयलाई व्यक्तिकेन्द्री नठान्ने हो भने स्पष्ट हुन्छ, पहिला दरबारले कसरी पात्र चयन गर्थ्यो ? कुन मुलुकका लागि कस्ता व्यक्ति पठाउँदा उपयुक्त हुने रहेछ, त्यसमा सरकारसँग लामो बहस दरबारले गर्ने गरेको पाइन्छ। अनि अहिले राजनीतिक दलले नियुक्त गरेका नाम स्मरण हुन्छ। कूटनीतिक सेवामा रहेर राजदूतको जिम्मेवारी पाएकाहरू इन्द्रबहादुर सिंह, केदारभक्त श्रेष्ठ, गोपीनाथ दवाडी, पुष्करमानसिंह राजभण्डारी, लीलाप्रसाद शर्मा र सुन्दरनाथ भट्टराईका अनुभव हेर्दा अहिलेका भन्दा बढी सक्रिय रहेको र उनीहरूको मेहनतलाई कम आकलन गर्न सकिँदैन।

सबैको धारणा अध्ययन गर्दा निष्कर्ष एउटै छ— दूतावास र परराष्ट्रको समन्वय नाजुक। अनि परराष्ट्र र अन्य सम्बन्धित मन्त्रालयको सम्बन्ध झनै नाजुक। अहिले झन् यसमा आएको स्खलनले कूटनीतिक सेवा नै हो कि होइन भन्ने अवस्था सिर्जना भएको छ। विज्ञता हासिल गरेको व्यक्तिको अभाव अहिलेको विडम्बना हो। अनि परराष्ट्र मन्त्रालयमा कुनै पनि डकुमेन्टेसन नहुनुको पीडा राजदूतले पोखेका छन्। त्यति बेला दरबारले धन्न सबै डकुमेन्टेसन राख्ने हुनाले त्यहाँबाट ल्याएर पढ्ने गरेको अनुभव राजदूतको छ। आफू सेवानिवृत्त भएपछि सबै जानकारी आफूपछि आउनेलाई दिने र सबै फाइलिङको अवस्था बुझाउने गरेको विगत अहिले सेवा सकिएपछि वा पदच्यूत गरिएपछि गैरजिम्मेवार बन्ने राजदूतका शैली पनि उजागर भएको देखिन्छ।

सबैजसोको गुनासोपत्रझैं रहेका ती अनुभवमा अहिलेझैं विगतमा पनि परराष्ट्र मन्त्रालयले राजदूतको विषयलाई रेस्पोन्स नगर्ने कुरा परेका छन्। राजदूत भएर जानै लाग्दासमेत मुलुकको स्पष्ट धारणा लिएर जान नसकेको विषय उनीहरूको मानसपटलमा अझै छ। साउदी अरेबियामा नेपालीलाई छुट्याइएको जग्गामा नेपालले घर नबनाएपछि अहिले अरूलाई दिऊँला, चाहिँदा नेपाललाई दिऊँला भनेर फिर्ता लिएको थियो। साउदी अरेबियामा नेपालको दूतावास खुल्दा चीनको दूतावास नै नभएको विषयले हामी पहिला प्रोएक्टिभ थियौं। तर अहिले रिएक्टिभ भएको स्मरण हुन्छ। हुन त दूतावास खुल्दैमा प्रोएक्टिभ हुने होइन। यद्यपि साउदीमा दूतावास खाँचो थियो। पछि बहराइन, ओमान, कुवेतमा खुलेका जस्तो अवस्था होइन। साँच्चै आवश्यक भएर खुलेका हुन्। अहिलेजस्तो भागबन्डा मिलाउन र गैरआवासीय नेपालीले नेताको चाकडी गरेको भरमा त्यति बेला दूतावास खोलिँदैनथ्यो।

त्यो समय थियो, परराष्ट्रका तत्कालीन अधिकारीहरू मैनबत्ती बालेर परराष्ट्रको काममा खटिन्थे। यो अनुभव कूटनीतिक सेवाकाले होइन, बाहिरकाले नै प्रशंसा गरेका थिए त्यति बेला। अहिले त आफैं यसो गरे उसो गरे भनेर गुड्डी हाँक्ने कूटनीति हाबी भएको छ। ‘पढेलेखेको मानिस चाहिन्छ मुलुक बनाउन, तिम्रो पढाइ सकेपछि मलाई खबर गर्नू’, राजा महेन्द्रले डा. भेषबहादुर थापालाई भनेको पुस्तकमा उल्लेख छ। उनले फर्कने खर्च छैन भन्दा दरबारबाटै खर्च पठाउने बताएका र उनी पछि फर्केको कुराले पढेलेखेको मानिसको आवश्यकता त्यति बेला कति थियो, अहिलेका नेतृत्वको दिमागमा पस्छ कि ?

काठमाडौं–कोदारी बाटोबारे अमेरिकालाई सम्झाउन उनै थापालाई दूत बनाएर पठाइएको थियो। छिमेकी भारतसँगको तनावका कारण नेपालले यो विकल्प खुला गरिराखेको भनेर अमेरिकीलाई डा. भेषबहादुर थापाले सम्झाएका थिए। उनै डा. थापालाई वीरेन्द्रले त झनै अमेरिकाको राजदूत नै बनाएर पठाए। राजाको भ्रमण गराउने विषयमा कुरा हुँदा राजा वीरेन्द्रले भनेका थिए, ‘इरानका शाह रेजा पल्लभी जिन्दगीभर अमेरिकातिर मोडिए आखिर सत्ताबाट हट्दा शरणार्थीसमेत हुन पाएनन्। त्यस्तो राज्यमा के उत्सुकता राख्ने।’ राजा वीरेन्द्रले डा. थापालाई सुनाएका थिए, ‘अरूलाई मानवअधिकार हनन भएको कुरा उठाउने अमेरिका जिन्दगीभर उसैलाई साथ दिएको राजालाई संकट पर्दा शरणार्थी हुने ठाउँसमेत नदिएकाले भ्रमणको उत्सुक त छैन तर हेर न।’ डा. थापाले लेखेका थिए। यो वाक्य लिनुको अर्थ हो, अहिलेका नेतृत्वले यो स्तरको सोच राख्न सक्छन्। यिनलाई यस्तो घटनाक्रमबारे जानकारी छ र ? हुन्थ्यो भने अहिले विदेशमा आराम गर्न गएका राजदूतको सूची राख्दा स्पष्ट भइहाल्छ नि।

दूतावासमा कस्ता व्यक्तित्वको हारमा कस्ताको फोटो झुन्डिएका छन्, यो पाटो पुस्तक पढ्दै गर्दा झनै दिग्दार लाग्छ। अनि परराष्ट्रको हालतको सम्झना हुन्छ। त्यति बेला दरबारमा सबै अभिलेख दुरुस्त। आदानप्रदानको चिठीपत्रदेखि राष्ट्रिय दिवसको शुभकामनासमेत रहन्थ्यो। राजदूत भएर जानेले सम्बन्धित मुलुकको फाइल दरबारमा गएर अध्ययन गर्थे। त्यस्तो अभिलेख परराष्ट्रमा हुनुपर्ने हो, त्यो थिएन। परराष्ट्रमा त्यसको छाया प्रति पनि भेटिँदैनथ्यो। राजाले कुन कुन विषय फोकस गर्ने भनेर सुझाव दिएर पठाउँथे।

राजदूत पठाउने मुलुक, काम गर्ने मुलुक र पठाउने मुलुकका जनताको नाइके हो भन्ने विषय यदुनाथ खनाललाई भेटेर जाने राजदूतले अनुभवमा लेखेका छन्। राजनीतिक नियुक्ति योग्य व्यक्तिले पाउँदा कसरी सम्भव भयो भन्ने पनि त्यहाँ पढ्न पाइन्छ। श्रीलंकाले कोसिस गरेर पनि नसकेको तर नेपालमा जापानका प्रधानमन्त्री यासिरो मोरीको भ्रमण गराउन सफलता मिलेको विषय राजदूत केदारभक्त माथेमाले राखेका छन्। त्यसबाट पनि स्पष्ट हुन्छ, यो स्तरको राजनीतिक व्यक्तिलाई पठाउँदा करिअरबाट पठाइएको राजदूतको भन्दा बढी सक्रियता मिल्छ। करिअरकाले आँट नै गर्न सक्दैनन्, र यस्तो भन्दा हुन्छ होला र भनेर सोच्दैमा समय घर्किसकेको हुन्छ। किनकि उनीहरू त्यही स्कुलिङबाट हुर्केका हुन्छन्।

जापानी प्रधानमन्त्रीको नेपाल भ्रमणको जानकारी आउनुअघि भारतीय राजदूतले बधाई भनेको विषयले स्पष्ट हुन्छ, भारतसँग पनि छलफल गरेर मात्र जापानी प्रधानमन्त्री नेपाल भ्रमणमा आउने निश्चित गरेका रहेछन्। त्यो भ्रमण श्रीलंकाले गराउन नसक्दा राजदूत फिर्ता गरिदिएको विषयले अहिले हामीकहाँ त्यस्तो अभ्यास छ र ? राजदूत फिर्ता र पठाउने दलनिकट मात्रको विषय छ। काम नगरेको आधारमा फर्काउने हो भने ७५ प्रतिशत दूतावास अहिले खाली नै हुन्छन्।

यसमा मन्त्रालय पनि जिम्मेवार छ। मन्त्रालयले दूतावासको जवाफ नपठाउने रोग पुराना राजदूतले पनि गरेका छन्। राजनीतिक नियुक्ति लिएर गएकालाई कर्मचारीले एक्ल्याउने विषय छँदै छ। पुस्तकमा कतिपय विषयलाई राजदूतले आफ्नो फूर्ति लाउने लेखका रूपमा पनि राखेका छन्। उनीहरूले दरबारबाट खबर, मन्त्रीको फोन आएपछि गएको लेखिरहँदा त्यो आउने बनाउनका लागि धाएको र तलुवा खिएको विषय भुलेको पढ्दा भान हुन्छ। होला एकदुई व्यक्तिलाई खोजेर नै पठाइएको तर अधिकांशले आफ्नो पैरवी गरेका छन्। पूर्वप्रधानन्यायाधीश रहेका नयनबहादुर खत्रीले आफूले दरबारमै कूटनीतिमा जान पाए हुने कुरा गरेको उल्लेख गरेका छन्। अन्यले पहल नै नगरी झ्वाट्ट आएको पदका रूपमा प्रस्तुत गरेका छन्। घरमा बसिरहेको थिएँ, दरबारबाट टेलिफोन आयो, प्रधानमन्त्रीको सचिवालयबाट फोन आयो र पद पाएकामा अचम्भित बनेको भनिएको छ। दरबारबाट खबर आए पनि आफ्नो यात्रा नसकी चासो नदिएको पनि पढ्न पाइन्छ। के त्यस्तो होला र ? कौतूहल छ। त्यसका लागि कति स्थानमा पुगेर वातावरण तय गरिएको थियो, त्यो पाटो चुकेको छ। अहिले जसरी नेताको घरदैलोमा पुग्ने र नेताको परिवारमार्फत पद लिने दाउपेच त्यति बेला पनि नहुने होइन।

पुस्तकमा नेपालमा पाकिस्तानबाट बग्गी तान्न घोडा किनेकोदेखि श्रीलंकाले दिएको १० रोपनी जग्गाको उपयोग नगरेको सम्मका अनुभव पढ्न पाइन्छ। जिमी कार्टरलाई सम्झाउनेदेखि जापानलाई सुरक्षा परिषद्मा भोट नदिएको विषयमा स्पष्ट पारेकोसम्मका अनुभव पढ्दा लाग्छ— विगतको कूटनीति अहिलेको दाँजोमा निकै माथि थियो। जग्गा पाएर पनि नेपालले घर बनाउन नसकेको भन्ने सन्देश गएको कुरामा कूटनीतिज्ञको ध्यान नपुगेको पनि छ। पहिले कूटनीति एलिटहरूको जब भनिन्थ्यो। अहिले त्यो तोडिँदै गए पनि एलिटहरूले नै यसलाई धानिरहेको तीतो यथार्थ छ। विश्व राजनीति र नेपाली कूटनीति यो पुस्तासँग अझ बढी कूटनीतिक कौशल, दक्षता र सक्रियताको माग भइरहेको छ, बदलिँदो विश्व परिवेशले। के त्यसमा नेपाल अग्रसर छ ? हाम्रो कूटनीतिक निकायले त्यसलाई सम्बोधन गर्न सक्ला ? अहिले प्रश्न खडा भएको छ।

त्यही विषयलाई ध्यान दिएर होला सायद, कूटनीति र भूराजनीतिमा चासो राख्नेहरूले आफ्नै भाषामा अधिक पुस्तक पढ्न पाउन थालेका छन्। यही भीडमा आएको यो पुस्तकमा केही राजदूतका अनुभव साँच्चै पठनीय छन्। यसबाट स्पष्ट पनि हुन्छ, कूटनीतिक सेवाभन्दा बाहिरबाट गएकाको कूटनीतिक क्षमता त्यति बेला पनि अब्बल थियो। त्यही प्रकारको व्यक्ति छनोट अहिले हुनसके त्यसमा झन् निखारपन आउने यो पुस्तक पढ्दा अनुभव हुन्छ। अहिले राजनीतिक नियुक्ति पनि नेता निकट, नातेदार, आर्थिक सहयोगकर्ता जस्ता हुँदा कमजोर भएको र मन्त्रालयमा पनि विगतमा झैं अनुभवी बनाउने, खार्ने बानी हट्दै गएकाले छिटै जिम्मेवारी पाउने हुनाले पनि समस्या आएको हो। कुनै विश्लेषणात्मक टिप्पणीभन्दा पनि उनीहरूको तत्कालीन अवस्था र उनीहरूले गरेको कामको विषयलाई उतार्ने जमर्को गरेझैं देखिन्छ।

कूटनीतिलाई रिले दौडको खेलाडीले झैं नयाँ जोस र सिर्जनासहित अघि बढाउने एक निरन्तर अभ्यास भनिएको विषय पुस्तकमा नेतृत्व पंक्तिबाट राखिए पनि त्यसमा काम गरेका छन् त भन्ने प्रश्न सोध्न मन लाग्ने खालको छ। मन्त्रालयमा तीन तहसम्म चेक गर्ने नोटहरू अहिले दूतावासमा कार्यवाहक रूपमा रहने नवनियुक्त जुनियर अधिकारीले जसरी कुराकानी र उपयोग गरेका हुन्छन्, त्यसले मुलुकलाई कता डोर्‍यायो ? मन्त्रालयलाई सोच्ने फुर्सद छ ? यस्ता विषयका लागि पनि विगत नियाल्नु अनिवार्य छ। ७० वर्षको नेपालको कूटनीतिक यात्राको कदममा सानो आँखीझ्याल रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वीकार गरे पनि यो पुस्तकमा अनुभवसँगै विश्लेषण गर्न सकिने धेरै स्थान थिए। तर त्यसमा समय अभाव वा सरकारी बजेट नपुग भएर होला, लेखकले विश्लेषणमा धेरै समय दिएको देखिँदैन।

कमल कोइरालाले परराष्ट्रबाट समयमा जवाफ नआएको विषय उठाएका छन्। परराष्ट्रबाट पत्रको जवाफ नआएपछि मन्त्रालयको नाम ब्ल्याक होल नामकरण गरेको विषय साँच्चै उस्तै छ। जवाफ नै नआउँदा खिस्रिक्क र करिअरका अर्का भेट्रान कूटनीतिज्ञ हुन्, लीलाराज शर्मा। उनले भुटानसँग हारेको कूटनीति भनेका छन्। हतारमा निर्णय लिने, अध्ययन नगर्ने हाम्रो कूटनीति र राजनीतिज्ञमा कूटनीतिक चेतनाको अभावलाई जोड दिएका छन् उनले। उनले मन्त्रालयले भएका र गरिएका वार्ताको फाइलिङ नराख्ने प्रणाली दुःखद भनेका छन। कुनै पनि विषयको तीन प्रति बनाउनुपर्ने र त्यो तीन निकायमा रहनुपर्ने कुरा राख्नुले पनि वर्तमान कूटनीतिको अवस्था झल्किन्छ। यदुनाथ खानालमाथि लागेका आरोप पुष्टि हुने प्रकारको देखिँदैन भने कतिपयले आफूलाई केन्द्रमा राखेर गरेका विषयमा क्रस चेक गर्न लेखक चुकेका छन्।

लेखक विष्णु रिजालले अर्को पनि यस्तै अनुभव निकाल्ने बताएका छन्। त्यसमा सुधार होला र सरकारी थिंक ट्यांकबाट निकालिएको भए पनि त्यो ट्यांकमा यस्ता पुस्तकको बहस कति भयो भन्नेमा प्रश्न पनि उठेको छ।

@NepaliDiplomacy


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.