आफूलाई टेण्डर नपरेपछि ललितपुर महानगरको पार्किङ कब्जा
ललितपुर : त्रिपद्म स्कुल पुलचोकको पूर्वतर्फ रहेको खाली जग्गामा साउन १ गतेदेखी नःटोलबासी धर्नामा छन्। ललितपुर महानगरपालिकाले साउन १ गतेदेखि नयाँ टेण्डरमा लगाएको थियो। स्थानीयले टेण्डर रद्ध गर्नुपर्ने र याथाशीघ्र पोखरी बनाउनुपर्ने माग राख्दै धर्ना सुरु गरे।
यसअघि खाली ठाउँमा पर्यटकका सवारी पार्किङ हुन्थे। नःत्वा पलेस्वा पुखु संरक्षण समितिले २०७३ सालदेखि टेण्डर पारेर थियो। समितिका संचालक बाबुराजा महर्जन हुन्।
‘मंका छे’ (गुठी घर) का बाबुराजा र कदमलाल महर्जनले उक्त ठाउँ पर्यटक बसपार्ककका रुपमा चलाउँदै आएका थिए। तर गत असार ३१ मा उनीहरुको टेण्डरको म्याद सकिएपछि महानगरपालिकाले पुनः टेन्डर लगायो।
साउन १ गतेदेखि लागु हुनेगरी पाँच वर्षका लागि वडा नम्बर ८ का विनोद महर्जनलाई टेण्डर पर्यो। तर नःटोलबासी, पोखरी संरक्षण समिति मंका छेंका अध्यक्षलगायतले उक्त टेण्डर बदर हुनुपर्ने माग गर्दै धर्ना सुरु गरेका हुन्।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कदमलाल र बाबुराजा महर्जनले आफूलाई टेण्डर नपरेको झोंकमा यो विवाद निम्त्याएको आरोप लगाए। उक्त ठाउँ टेण्डरमा लगाएर वषौंदेखी आर्थिक लाभ लिदैआएकाले विरोधमा उत्रिएको भन्दै उनी रुष्ट छन्।
कदमलाल महर्जन नगर प्रहरी ललितपुरका प्रमुख साथै नःटोल सुुधार समितिका अध्यक्ष पनि हुन्। नगरपालिका सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेको भन्दै महानगरपालिकाको ६ गते निलम्बन गरेको थियो।
महानगरपालिकाका, राजश्व प्रशासन महाशाखाका प्रमुख, डिल्लीराज शाक्यका अनुसार पोखरी संरक्षण समिति र नःटोल सुधार समितिले तत्कालीन समयमा मासिक ४१ हजार बुझाउने सहमतिमा ०७६ साल असार मसान्तसम्मका लागि टेण्डर पारेको थियो।
दोस्रो र तेस्रो वर्ष मासिक शुल्कमा २० प्रतिशत भाडा वृद्धि हुने भनिएको थियो। सोही सहमति स्वरुप उनीहरुले मासिक ६० हजार बुझाउँथे। शाक्यले भने, ‘तर नयाँ टेण्डरमा मासिक एक लाख ६१ हजार रुपैयाँ महानगरपालिकालाई आम्दानी हुन्छ।’
स्थानीयले साउन १ गते पोखरीको शिलान्याससमेत गरिसकेका छन्। महानगरपालिकाले पाँच वर्षका लागि पुनःटेण्डर लगाए पनि स्थानीय सरकारलाई आवश्यक परेको खण्डमा पूर्वसूचना दिएर सम्झौता रद्ध गर्न सकिने मेयर महर्जनको भनाइ छ।
उनका अनुसार यो वर्ष पर्यटनमार्फत महानगरपालिकाले १४ करोड आम्दानी गरेको थियो। तर स्थानीयले धर्ना बस्न थालेपछि पर्यटकको सवारी पार्किङ समस्या बनेको छ।
‘पर्यटककका गाडी साझा बस पार्क तिर पठाउन थालेका छौं’, उनले भने, ‘घुम्न आउने पर्यटकलाई असर नपरोस भनेर भ्रमणवर्ष नसकिन्जेल यो ठाउँ पार्किङस्थल बनाउन चाहेको हुँ।’
आफूलाई सम्पदा र समुदाय विरोधी बनाएर आलोचना गरेको गुनासो महर्जनले गरे, ‘म भन्दा सम्पदाप्रेमी, नेवाप्रेमी को होला ?’
समाचार एकतर्फी आएकोप्रति मेयर महर्जनले आपत्ति जनाए। ललितपुरका सबै पोखरीलाई संरक्षण गर्न लागिपरेको बताउँदै पींबहालको काम सकिसकेको साथै पूर्णचण्डी, सप्तपाताल, न्यहुँपोखरी लगनखेललगायतका ठाउँमा धमाधम काम भइरहेको उनको भनाइ छ।
नगर प्रहरी प्रमुख कदमलालले पोखरीको दक्षिणतिरको करिब ६ आना जग्गा मिचेर गुठीको भवन बनाएको आरोपसमेत मेयरले लगाए। तर कदमलालले मेयर महर्जनले लगाएको आरोपमा सत्यता नभएको बताए। पोखरी संरक्षण गर्न सिंगो टोल लागेको उनको भनाइ छ।
नःटोलबासीको पिण्ड चोख्याउने ठाउँ भएकाले पोखरी बनाउने पहल ०२६ सालदेखि अग्रजले गर्दैआएको उनको भनाइ छ।
५० वर्ष पहिला पोखरी रहेको ठाउँ एक जना स्थानीयको नाममा रहेकाले त्यहाँ घर बनाउन पाउँ भनेका थिए। तर सर्वोच्चले पोखरी कायम राख्नुपर्ने फैसला गरेको दृष्टान्त उनले सुनाए। सर्वोच्च अदालतका निर्णयहरु अंशवन्डा गर्न क्रममा र घर सर्दा हराएकाले भेट्टाउन सकिएको छैन। ‘फैसला सर्वोच्चमा पक्कै हुनुपर्छ खोज्ने क्रममा छौं’, महर्जनले भने।
विवाद लम्बिएपछि हाललाई वार्ताका लागि टोली बनाइएको छ। जसका लागि ज्यापु समाजले समन्वय गरिरहेको छ। नःटोलका सात, ज्यापु समाजका सात र महानगरपालिकाका पाँच जनाको वार्ता टोली बनेको महानगरपालिकाले बताएको छ।
वार्ताले सकारात्मक परिणाम ल्याउने कदमलाल महर्जनले आशा राखेको बताए। ‘विवादलाई सुरक्षित अवतरण गराउने विषयमा छलफल गरिरहेका छौं’, कदमलालले भने, ‘वार्ता नबिथोलियोस्।’
धर्नामा सामेल भएकी ६६ वर्षीया भिन्नमाया महर्जनले पनि ‘सम्पदा बचाउन का लागि एक्यवद्धता जनाउन आएको बताइन्।