महिनामा एकदिन अनिवार्य श्रमदान

महिनामा एकदिन अनिवार्य श्रमदान

धनकुटा : उमेर ७४ वर्ष। तर जोश जाँगर युवाको भन्दा कम छैन। धनकुटा-२ सीमटोल भीरगाउँका लीमवहादुर राई गाउँका लागि उदाहरणीय बनेका छन्। गाउँ जोड्ने सडक मर्मत गर्न छरछिमेकीसँगै उनी पनि श्रमदानमा जुट्ने गरेका छन्। श्रमदानमा ढुँगा ओर्साने, सोलिङ बिछ्याउने काम गर्छन् उनी।

राईमात्रै होइन वडा नम्बर २ का २२ टोल वस्ती संगठनमा आवद्ध स्थानीय वासिन्दा श्रमदान गर्नैपर्ने नियममा बाँधिएका छन्। २२ टोल वस्ती संगठनमा ९ सय ७५ घरपरिवार आवद्ध छन्। हरेक घरपरिवारबाट एकजना सदस्य सार्वजनिक काममा श्रमदान गर्न अनिवार्य उपस्थित हुनुपर्ने नियम छ। आफु मरेर गए पनि आफुले गरेको योगदान गाउँसमाजमा जीवन्त रहने भएकाले यस्ता काममा सहभागी हुन पाउँदा खुसी लागेको ७४ बर्षीय राईले बताए। ‘उमेर छँदा पनि गाउँ समाजकै लागी खट्थे’, उनले भने ‘यो उमेरमा पनि सामाजिक काममै लागीरहेको छु। खुसी लाग्छ।’

गाउँघरमा हुने विकास निर्माणको काममा सबैलाई सहभागी गराउने उद्देश्यसहित धनकुटा-२ वडा कार्यालयले ‘महिनामा एक दिन अनिवार्य श्रमदान’ गर्नुपर्ने नियम बनाएपछि आफ्नो गाउँको विकासका स्थानीय सामुहिक रुपमा जुट्न थालेका हुन्। बाटो, खानेपानी, कुलो, विद्यालय, चौतारा, धार्मिकस्थल निर्माण, मर्मत तथा सरसफाइजस्ता कामका लागि महिनामा एकपटक सबैले श्रमदान गर्नुपर्ने नियम रहेको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिए।

जेठदेखी वडा समितिले औपचारिक निर्णय गरी यो नियम लागु गरेको हो। यो अभियान ७ महिनाअघि वडाका विभिन्न टोलमा स्वतफूर्त रुपमा चलेको थियो। स्थानीयवासी संगठित भएर वडालाई औपचारिक रुपमा निर्णय गर्न अनुरोध गरेपछि वडाले निर्णय गरेको थियो। श्रमदानमा आउने स्थानीयले आआफ्नो सीप र क्षमताअनुसार जानेका काम गर्छन्।

श्रमदानमा नजानेले जरिवाना स्वरुप टोलबस्तीलाई पाँचसय रुपैयाँ बुझाउनु पर्छ। जरिवानावापतको रकम टोलबस्ती संगठनको खातामा राखिन्छ। यो काम पैसा उठाउनेभन्दा पनि गाउँमा विकास निर्माणका काममा सबैलाई सहभागी गराउनु रहेको वडाध्यक्षको भनाइ छ।

वडाध्यक्ष तामाङ पनि श्रमदानमा जुट्ने गरेका छन्। उनी आवद्ध टोलबस्तीले तोकेको स्थानमा गएर अरुसँगै श्रमदानमा जुट्छन्। ‘जनप्रतिनिधि पनि उपस्थिति हुँदा सबैलाई हौसला हुन्छ’, उनले भने, ‘जनसहभागिता उत्साह जनक छ।’ सोही टोलकी उषा राई पनि महिनाको एक पटक हुने श्रमदानमा सहभागी हुने गरेकी छन्। सबैको सहभागिताले सामुहिक एकताको विकास भएको पनि उनले बताइन्। ‘भत्किएको बाटो तथा संरचना बनाउन सरकारको मुख ताक्दा कहिले बन्छ कहिले’, उनले भनिन्, ‘यसरी सबै जुटेर गर्दा समयमै काम बन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.