ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने प्रचण्डको चेतावनी

ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने प्रचण्डको चेतावनी

रामेछाप : नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जूनबाट लखेट्ने चेतावनी दिएका छन्। आइतबार खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। 

‘राजा महाराजाहरु फेरि सलवलाउन थालेका छन्’, प्रचण्डले भने,  ‘धेरै सक्रियता देखाए पूर्वराजा ज्ञानेन्द्रले नसोचेको परिणाम भोग्नुपर्छ।’ 

परिवर्तन नचाहनेले देशमा बकवास गर्न थालेको प्रचण्डको आरोप छ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै प्रचण्डले उनी नसच्चिए नागार्जुन दरबारबाट लखेट्ने चेतावनी दिए। 

‘तीन करोड जनता फेरि सडकमा आउनु परे परिवर्तन विरोधीहरुको हालत नराम्रो हुनेछ’, प्रचण्डले भने।  एघार वर्षअघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोड्ने खैरेनीघाटको उक्त पुल करिब नौ करोड लगानीमा निर्माण सम्पन्न भएको हो।  

उनले अहिले केही व्यक्तिले सिस्टम नै फेर्ने दिन आएको बताएकोप्रति उनले आपत्ति जनाए। ‘हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरु सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेका छन्’, उनले भने, ‘जम्मा डेढ वर्ष भयो सरकार बनेको, स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ। दुई वर्ष पुगेकै छैन तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन्।’ 

उनले फेरि केही मान्छेलाई राजा नै ल्याउने मन भएको भए पनि त्यो सपना कहिल्यै पूरा नहुने प्रष्ट पारे। ‘एकथरी मान्छेले राजालाई ल्याउँछौं भनेको सुन्नुभएको पनि होला’, प्रचण्डले भने, ‘म यो मञ्चमा बसेर देशभरका जनतालाई अपील गर्न चाहान्छु। तिनीहरुले नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेका छन्, त्यो कहिल्यै पुरा हुुने छैन। त्यसलाई कुनै हालतमा पुरा हुन दिइने छैन।’ 

अहिलेको उपलब्धि बलिदानको परिणाम भएको उनको भनाइ छ। उनले कसैले दया माय गरेर कम्युनिस्ट पार्टीलाई दुई तिहाई नदिएको पनि प्रष्ट पारे।  ‘सानो दुःख, त्याग र बलिदानले यो ठाउँमा आएका होइनौं’, प्रचण्डले भने, ‘हामीलाई कसैले दया माया गरेर कम्युनिस्ट पार्टीलाई दुई तिहाई दिएको होइन।’ 

देशमा प्राप्त परिवर्तन र उपलब्धि नाटकीय ढंगले प्राप्त नभएको प्रचण्डको भनाइ छ।  ‘नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा स्थानीय सरकार प्रादेशीक सरकार र संघीय सरकार संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्’, प्रचण्डले भने, ‘यो नाटकीय ढंगले गरिएको परिर्तन पनि होइन।’

उनले अहिलेको उपलब्धि सबै त्याग र बलिदानको परिणाम भएको बताए। ‘यो व्यवस्था नेपाली जनताले राणाशाही विरोधी आन्दोलनको बेलादेखि २००७ साल, संविधान सभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर तीन तहको निर्वाचन नहुँदासम्म गरेको अनवरत संघर्ष, त्याग र बलिदानको परिणाम हो’, उनले भने। 

झण्डै ७० वर्ष नेपाली जनताले जाति, क्षेत्र, लिंग, समुदाय सबैको बलिदान र संघर्षको कुल योगफलको रुपमा आजको संविधान र आजको संरचना प्राप्त भएको उनको भनाइ छ। ‘यो संरचनाले विकास गर्नुपर्छ। जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘त्यसकारण हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले आफ्नो सपनाको रुपमा समृद्ध नेपाल निर्माण गर्ने र नेपालीहरुलाई सुखी बनाउने राष्ट्रिय सपना बोकेको छ।’ 

प्रचण्डले चाँडै विकासले गति लिने विश्वास व्यक्त गरेका छन्। ‘डेढ बर्षमा हामीले गरे नगरेका सबै कुरा छर्लङ्गै छन्य’, उनले भने, ‘आउने वर्षमा हाम्रो विकासले अझ ठूला ठूला गति लिन्छन् भन्ने विश्वासको आधार तयार गरेको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.