पहिरोले गावैं उठायो

पहिरोले गावैं उठायो

ठूलोलुम्पेक (गुल्मी) : रातभर पानी पर्छ। जति सुत्न कोसिस गरे पनि निद्रा लाग्दैन। डाँडाकाँडा चिरिएका छन्। गाउँभर सग्लो जमिन भेट्टाउनै मुस्किल हुन्छ। पहिरोले गाउँ घेरेको छ।

दुई साताअघि पहिरोले पीडामा थलिएको सत्यवती गाउँपालिका-३, ४ ठूलोलुम्पेक र लिम्घा अझै उठ्न सकेको छैन। ठूलोलुम्पेकमा ३०७ घरधुरीका एक हजार २ सय ६० जना विस्थापित भएका छन्। खस्कोटका धनबहादुर सिञ्जालीले भने, ‘छोराहरू विदेशमा छन्। बूढाबूढी त्रिपाल टागेर बसेका छौं।’ महिना दिनअघि बनाएको घरमा बस्नै नपाई पहिरोले बगाएको उनले दुःखेसो गरे।

साउन ६ गते राति अविरल वर्षापछि गएको पहिरोमा दुवै गाउँका गरी १४ जनाको ज्यान गएको छ। ठूलोलुम्पेक गाउँ जोखिममा परेको प्रहरीले जनाएको छ।

धर्मापुर मावि, नव बिहानी प्रावि, राम मावि, धर्मपुर प्रावि, मनकामना प्रावि, साजपुर प्रावि, ओखर, ढुंगाचाल्ने, कसिन्थला, डाँडा, कसिन्थला मोतीप्रसाद, दानसिंगा, गगनपुर, विन्टुंग, काउले, गज्कोट र किल्दिपमा गरी १६ ठाउँमा सामूहिक शिविर सञ्चालनमा छ।

शिविरमा खचाखच भएपछि त्रिपालमुनि बस्नुपरेको पीडित माया थापाले बताइन्। ‘राति सुत्ने बेला मुसलधारे पानी परेको थियो’, उनले भनिन्, ‘मध्यराति पहिरो आएछ। यस्तो विपत्ति आउँछ भन्ने सोचेकी पनि थिइनँ। छिमेकीले पहिरो गयो भनेर कराएपछि मात्र थाहा पाएँ।’ उनीसहित छोराछोरी र सासूआमा गरी चार जनाको बिचल्ली भएको छ।

पहिरोले घर पुर्दा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको जमुना कुँवरले गुनासो गरिन्। ‘सपनामा मान्छे लाइन लागेको देखेकी थिएँ’, उनले भनिन्, ‘अहिले बसिरहेको ठाउँमा पहिरोले भीर बनाएको छ।’ उनको गोठभरि गाईभैंसी र बाख्रा छन्। गाईभैंसी सस्तोमै बेचेर गाउँ छाड्न मन लागेको उनको भनाइ छ। जोखिममा परेका सबैजसो घरमा चाबी लगाएर पीडितले गाउँ छाडेका छन्।

सुरक्षित बासको पर्खाइ

पहिरो गएलगत्तै पीडितलाइ राहत वितरण गर्नेको लर्को लाग्यो। सहयोगीले खाद्यान्न, नगद, लत्ताकपडा वितरण गरेका छन्। केही दिन सडक अवरुद्ध हुँदा गाउँमा राहत लैजान सकस भयो। तीन पटकसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लगिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। विभिन्न संघसंस्था, व्यक्ति, गाउँ तथा नगरपालिकाले गाउँमा राहत पुर्‍याएका छन्। पीडितहरु सुरक्षित बासको आसमा छन्। पहिरो जानुको कारणबारे भूगर्वविद्को टोलीले अध्ययन थालेको छ।

एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हीरा अर्यालले राहत प्रभावकारी रूपमा वितरण गर्नुपर्नेमा सुझाव दिए। उनले एकद्वार प्रणालीबाट राहत वितरण गरे पीडितले पाउने बताए। जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीले जिल्ला दैवी प्रकोप समिति बैठक तत्कालै बसेर दीर्घकालीन समाधानका विषयमा छलफल गरिने बताए। पीडितहरुले तत्काल सुरक्षित बासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.