सूचना प्रवाह गर्न 'माइक रेडियो'
बेनी : म्याग्दीको ग्रामिण बस्तीमा सूचना प्रवाहको परम्परागत माध्यम 'कटुवाल प्रथा' आधुनिकीकरण हुन थालेको छ। पहिले गाउँको अग्लो डाँडामा कटुवालले घोक हालेर (चर्को स्वरमा चिच्याएर) सूचना प्रवाह गराउँथे। सूचना प्रवाह गराउने कटुवाल र सहयोगी हरेक जस्तो बस्तीमा छन्।
तर उनिहरुले गाउँमा सूचना पुर्याउन आधुनिक शैली अपनाउन थालेका छन्। गाउँमा सूचना प्रवाह गराउन “माइक रेडियो” र माइकीङको माध्यम प्रभावकारी बनेको छ। अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा र धवलागिरी गाउँपालिकाले सूचना प्रवाह गराउने कटुवाल प्रथालाई आधुनिकीकरण गरेका छन्। दुई सय घरधुरी बसोबास रहेको औलाको बाक्लो बस्तीको बिचमा गाडिएको फलामको टावरमा तीन वटा माइक तीनतिर फर्काइएको छ।
ती माइकको आवाज नसुनिने तल्लो गाउँका लागि बस्ती तलको उत्तिसको रुखमा अर्को एक माइक स्थायी किसिमले राखिएको छ। औलास्थित मण्डली आधारभूत विद्यालयको एक कोठामा मिक्स्चर र माइक्रोफोन छ। ‘कुनै सूचना भयो भने यही आएर माइकबाट प्रशारण गरेपछि गाउँभरीकाले थाहा पाउँछन,’ सूचना प्रवाह गराउने जिम्मेवारी लिएका टोल सुधार समितिका संयोजक कुमबहादुर पुर्जाले भने ‘घर–घरमा पुगेर, चिच्चाएर, फोन, एसएमएसभन्दा सस्तो, छिटो र प्रभावकारी छ।’
गाउँमा कटुवाल र सहयोगी नपाएपछि स्थानीय नवज्योति युवा क्लवले २०६४ मा माइक रेडियो सुरु गरेको थियो। सूचना प्रवाहका साथै गाउँमा आएका विशेष व्यक्तित्वहरुसँगको अन्तरवार्ता माइक रेडियोबाट सुनाउने गरिन्छ। गीत, कविता, कथा लगायत साहित्यीक रचनासमेत सुन्ने सुनाउने गरिएको क्लवका पूर्व अध्यक्ष डिलबहादुर फगामीले बताए। ‘माइक खोलेर केही समय गीत बजाएपछि सबैजना चनाखो भएर बस्छौ,’ फगामीले भने ‘गीतले ध्यान तानेपछि सूचना वाचन गरिन्छ।’
माइक रेडियो प्रभावकारी र सस्तो भएको स्थानीय रिमबहादुर पुर्जाले बताए। कटुवाल प्रथाको तुलनामा माइक रेडियो धेरै आधुनिक र सहज भएको उनको भनाइ छ। गाउँमा श्रमदान, भेला, बैठक, खोप लगायत विभिन्न कार्यक्रम हुँदा माइकबाट सूचना प्रशारण गरेपछि सबैले जानकारी पाउने स्थानीय बलराम रन्तिजाले बताए। विद्युत्को वैकल्पिक व्यवस्थाका लागि माइक रेडियोको स्टुडियोमा सोलार जडान पनि गरिएको छ। माइक रेडियो सञ्चालन गर्न क्लवले डेढ लाख बढी लगानी गरेको छ।
म्याग्दीको औलामा राखिएको माइक रेडियोको टावर। तस्बिर : सन्तोष गौतम
वडा सदस्य टिका घतानेले माइक रेडियोले गाउँपालिकाबाट नागरिकलाई प्रदान हुने सेवा सुविधाको सूचना पनि प्रशारण गर्ने गरिएको बताइन्। सूचना पुर्याउन लाग्ने समय र पैसाको बचत भएको उनको भनाइ छ। यसैगरी भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाले पनि कटुवालहरुलाई हाते माइक वितरण गरेको छ। चर्को स्वरमा गाउँभरी कराउँदै आएका उनीहरुलाई सहज बनाउन माइक वितरण गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन्।
‘कटुवालहरुलाई घाँटी नै सुक्नेगरी चिच्याउँदा दुख हुने गरेको थियो,’ अध्यक्ष पुनले भनिन् ‘टोल–टोलमा पुगेर चिच्चाउन धेरै समय लाग्छ। समय र स्वास्थ्यको ख्याल गर्ने माइक दिएका हौं। माइबाट एकैपटक धेरै टाढासम्म सुनिन्छ।’ गत आर्थिक वर्षमा कटुवालहरुलाई वडा कार्यालयमार्फत २३ वटा माइक वितरण गरिएको योजना शाखाका रमेश पौडेलले बताए। मुनाका कटुवाल धनविर विकले माइकले सूचना प्रवाह गराउन सजिलो भएको बताए। अन्य बस्तीमा भने सूचना प्रवाहका लागि परम्परागत कटुवाल प्रथा कायमै छ। कटुवाल काम गर्ने अधिकांश दलित समुदायका छन्।
कटुवाल काम गरेवापत बालीघरे प्रथा अनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ज्याला पाउँछन्। परम्परागत बालीघरे प्रथा अन्त्य गरी नगद नै दिने व्यवस्था मिलाउनुपर्ने ताकमका कटुवाल भक्तविर विश्वकर्माले बताए