वडाध्यक्षको ५ वर्षको तलब दलितलाई
मुगु : छायाँनाथ रारा नगरपालिका–४ का वडा अध्यक्षले पाँच वर्षसम्मको पारश्रमिक दलित समुदायलाई वितरण गर्ने भएका छन् । उनले नगरपालिकाका १४ वटै वडाका दलित समुदायलाई आफ्नो ५ वर्षको तलब बाड्ने बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी २९ वर्षीय वडा अध्यक्ष विष्णबहादुर भामले निर्वाचित भएदेखि पाँच वर्षसम्म पारश्रमिक दलित समुदायको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा लगानी गर्न बताएका हुन्।
उनले सोही रकमबाट सोमबार छायाँनाथ रारा नगरपालिका–५ लुवारवाडामा रहेका १ सय २५ घरधुरी दलित परिवारलाई ४० हजार बराबरको खाने तेल वितरण गरेको वडा कार्यलयले बताएको छ । उनले प्रति घर ४ पाकेटको दरले तेल वितरण गरेका थिए ।
पहिलो चरणमा ४ लाख २० हजार वडा नम्बर १ देखि ५ सम्मका दलित समुदायका बालबालिका र अविभावकहरुलाई लक्षित गरी शैक्षिक सामग्री, सरसफाई र व्यक्तिगत आवश्यक सामान वितरण गरिने वडा अध्यक्ष भामले बतएका छन्।
नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका भाम २० वर्षमा वन उपभोक्ता समितिको अध्यक्ष भएका थिए ।
भामले व्यत्तिगत खर्चबाट चैनखोला, बालैबजार, लामाचौर, मिलिचौर (रारा ताल क्षेत्र) र मुख्य सडकहरुमा सार्वजनिक शौचालय बनाउनेसमेत घोषणा गरेका छन् ।
उनको कार्यले छायाँनाथ रारा नगरपालिकाका दलितहरु निकै खुसी भएका छन् ।
यो कार्य आफ्नो सानो सहयोग मात्र भएको अध्यक्ष भामले बताए। आफ्नो कार्यबाट अन्य व्यक्तिहरुले पनि सिको गरे आफू खुसी हुने उनले बताए। गाउँका जनतालाई आफ्नो काम आफैँ गर्न प्रयास गर्न पनि उनले आग्रह गरेका छन् ।