वर्षौँ बिते तर बनेन पुल, डराई-डराई गर्नुपर्छ वारपार
प्युठान : झोलुंगे पुल जीर्ण बनेको वर्षौं बितिसक्दा पनि नयाँ पुल निर्माणमा सम्बन्धित निकायले चासो देखाएका छैनन्। स्थानीयबासीले पटक पटक नयाँ पुल निर्माणको माग गरे पनि सुनुवाइ भएको छैन। झिमरुक गाउँपालिका–४ चुँधारा नजिकैको पुल जीर्ण छ। यही पुलबाटै स्थानीय वर्षौंदेखि आउजाउ गर्दै आएका छन्।
ओखरकोट सयमुरेदेखि खहरे जोड्ने गर्तडखोलास्थित पुल जीर्ण बनेको नौ वर्ष भइसकेको स्थानीयले बताएका छन्। ‘खेतीपाती गर्दा वारपार गर्ने यही पुल हो’, स्थानीय दण्डपाडी पोखरेलले भने, ‘खाली हिँड्न समेत गाह्रो छ। भारी बोकेर कसरी जानु ? गाउँपालिकाले गाउँलेको माग सुनेन।’
जीर्ण झोलुंगे पुलबाट यस क्षेत्रमा पर्ने चुँधारा, खहरे, हुराना, बासटारी, जाइखोर लगायत गाउँका सर्वसाधारण ओहोरदोहोर गर्दै आएका छन्। गाउँपालिका कार्यालय मच्छीसहित बजार गर्न र विद्यालय पुग्न बालबालिकालाई हम्मेहम्मे हुने गरेको छ। हजारौं सर्वसाधरण यसबाट प्रत्यक्ष प्रभावित छन्। सिद्धेश्वरी प्रावि चुँधारा, बालशिक्षा मावि, गौमुखी इंग्लिस बोर्डिड स्कुलमा पढ्न जाने सयौँ विद्यार्थी जोखिम मोलेरै वारपार गर्दै आएका छन्।
स्थानीयका अनुसार पुलबाट लडेर थुप्रै विद्यार्थी घाइते भए। खेतवारीमा काम गर्न र उब्जिएको अन्नपात घरसम्म पुर्याउन कठिन भएको स्थानीय दुर्गाप्रसाद पोख्रेलले सुनाए। ‘पुल मर्मत गर्न धेरैलाई आग्रह गर्यौँ’, उनले भने, ‘जति कराए पनि हाम्रो कुरा सुनेनन्।’ पोहोर साल नापजाँच गर्न आए पनि हिजोआज कसैले वास्ता नगरेको उनले सुनाए।
दुईवटा वडा र हजारौं सर्वसाधरणलाई लक्ष्य गरी निर्माण गरिएको झोलुंगे पुल मर्मत गर्न गाउँपालिकाले चासो नदेखाएको स्थानीयको गुनासो छ। पुलमा बिच्छाइएका काठ जीर्ण भएका छन्। तार चुडिएको र पुलको पूरै भाग बांगिएको छ।
पहुँचवालाको क्षेत्रमा सय मिटरको दुरीमा पुल निर्माण भएको र हजारौँ जनसंख्या प्रभावित हुने स्थानमा पुरानो पुलको मर्मतसमेत नगरिँदा स्थानीय आक्रोशित छन्। नजिकै खहरेका स्थानीयले पटकपटक राज्यसँग पुल निर्माणका लागि माग गर्दा सुनुवाई नभएपछि आफ्नै लगानीमा गाउँमा पक्कीपुल निर्माण गरेका थिए।
यसअघि विकास माग्न सदरमुकाम खलंगा पुग्नुपरेको गुनासो गर्दै आएका यस क्षेत्रका स्थानीयले गाउँमै सरकार आए पनि विकासको अनुभूति गर्न नपाएको प्रतिक्रिया दिए। जथाभावी सडक निर्माणभन्दा जनतालाई राहत पुग्ने विकासमा लगानी बढाउन उनीहरूले जनप्रतिनिधिसँग माग गरे।