यसै साता चार सचिवको अवकाश
काठमाडौं : नेपाल सरकारका चार सचिवले यसै साता अवकाश पाउँदैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विष्णुप्रसाद लम्साल, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की र युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अवकाश पाउँदैछन्। लम्साल, शर्मा, कार्कीले सचिवको पाँचवर्षे सेवावधिका कारण साउन २१ मा र देवकोटाले उमेर हदका कारण साउन २२ मा अवकाश पाउँदैछन्।
अवकाश हुन लागेका चारैजना सचिवले एउटा मन्त्रालय, आयोगमा आफ्नो कार्यकाल पूरा गर्न पाएनन्। उनीहरु आधा दर्जनभन्दा बढी मन्त्रालय, आयोगमा काम गरे। प्रधानमन्त्री कार्यालयबाट अवकाश पाउँदै गरेका सचिव लम्साल लोक सेवा आयोग, आपूर्ति, रक्षा, श्रमका साथै महिला तथा बालबालिका मन्त्रालय र राष्ट्रिय योजना आयोगमा समय बिताए।
तनहुँमा जन्मेका उनले जनप्रशासनसहित दुई विषयमा स्नातकोत्तर गरेका छन्। लम्साल मेहनतले सचिवसम्म पुगेको बताए। ‘जागिरकै लागि सरकारी सेवा प्रवेश गरेको हुँ, यहाँसम्म आइपुगें’, उनले भने।
खानेपानी मन्त्रालयबाट सेवानिवृत हुन लागेका सचिव शर्माले शहरी विकास, प्रधानमन्त्री कार्यालय, युवा तथा खेलकुद मन्त्रालय लगायतमा काम गरे। पाँचवर्षे कार्यकालमा सबभन्दा धेरै पौने तीन वर्ष उनले शहरी विकास मन्त्रालयमा काम गर्ने मौका पाए भने युवा तथा खेलकुद मन्त्रालयमा १४ महिनामा बिताए। २०५२ बैशाख २६ गते सरकारी सेवा प्रवेश गरेका शर्माले आफू धेरै फेरबदलमा नपरेको बताए। मेलम्ची खानेपानी योजना विवादमा परेर गजेन्द्रकुमार ठाकुर सरुवा भएपछि उनी खानेपानी मन्त्रालयमा आएका थिए।
पुनर्निर्माण प्राधिकरणबाट अवकाश पाउने लागेका कार्कीसँग सहरी विकास मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, नेपाल ट्रस्टमा काम गरेको अनुभव छ। विद्यार्थी आन्दोलनमा लागेकाले उनले पटक–पटक लोक सेवा दिए पनि २०४८ सालमा मात्रै स्थायी भए। जागिरे जीवनमा तालिमका लागि जापान गएका बेला उनको तलब समेत रोक्का भएको थियो।
२०५८ सालमा उपसचिवको एउटा सिटका लागि विज्ञापन भयो। उनले परिक्षा दिए। नाम निकाले। त्यसको अढाई वर्षपछि फेरि सहसचिवका लागि एक सिट खुल्यो। उनले परिक्षा दिए। त्यहाँ पनि पास भए। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक बने। अपर तामाकोशी जलविद्युत आयोजना नेपाली जनताको लगानीमा निर्माण गर्ने अवधारणा आफूले ल्याएको उनको भनाइ छ। चिलिमेमा त्यही अवधारण ल्याए। अन्तरदेशीय प्रशारण लाइन ढल्केवर सुरुवात गरे।
पोखरामा क्षेत्रिय प्रशासक हुँदा बेनी मुस्ताङ सडकमा रहेको सिन्डिकेट हटाए। त्यो नेपालमै पहिलो पटक सिन्डिकेट तोड्न काम भएको उनको दावी छ। भौतिक पुर्वाधार सचिव हुँदा स्वदेशकै लगानीमा फास्ट ट्रयाक बनाउन प्रस्ताव गरेको उनको भनाइ छ। मदन भण्डारी राजमार्ग स्वीकृत गराए। यस्ता अनेक राम्रा काम गरे पनि आफूले जस नपाएको उनको गुनासो छ। ‘देशका लागि राम्रो काम गर्दा गर्दै मलाई नेपाल ट्रस्टमा सरुवा गरियो। मेरा लागि त्यो सजाय थियो’, उनले भने। त्यसपछि उनलाई पुर्ननिर्माण प्राधिकरण लगियो। भौतिक पूर्वाधार र जलस्रोतसम्बन्धि अनुभवी कार्की फेरि मन्त्रालयको लागि योग्य ठानिए।
जागिरे जीवनमा उनले धेरै तिता अनुभव पनि सुनाए। ‘राज्य सत्ता निर्दयी हुन्छ, विकेक पु¥याउँदैन’, उनले भने, ‘निर्दयी र विवेकहीन हुँदा व्यक्तिलाई त क्षणिक नोक्सान हुन्छ तर राष्ट्रलाई धेरै र दिर्घकालिन क्षति पुग्छ।’ नेपालको राज्य सत्ताले चाकडी मन पराउने उनको गुनासो छ। ‘कर्मचारीतन्त्र समस्याग्रस्ता होइन, जसरी चलाउन खोजिएको छ, त्यसमा समस्या छ’, उनले भने, ‘निर्धक्क, ठिक कुरा राख्ने र काम गर्नेलाई जिम्मेवारीविहीन् बनाइन्छ।’
युवा तथा खेलकुद मन्त्रालयबाट घर जान लागेका देवकोटा एक वर्षमा तीन पटक सरुवा भएका थिए। महालेखा परिक्षकको प्रतिवेदन २०७५ अनुसार देवकोटाको २०७४÷७५ मा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा भएको थियो। उनी साउन २२ गते ५८ वर्ष पुग्दैछन्। २०३९ सालमा सरकारी सेवा प्रवेश गरेका देवकोटाले २०४६ सालमा व्यवस्था विरोधी भनेर झण्डै जागिरबाट हात धुनु परेका थियो। पोखरामा तत्कालिन राजा विरन्द्रको सवारीका बेला बाल संगठन नभएकाले उनलाई व्यवस्था विरोधीको आरोप लगाइएको थियो। ‘बहुदल नआएको भए मेरो जागिर, त्यही बेला जान्थ्यो’, उनले विगत सुनाउँदै भने, ‘यो नै मेरो जीवनको दुखत घटना हो।’
चितवन राष्ट्र निकुञ्जमा पर्नेे पदमपुर गाविसको बस्ती स्थानीयलाई हस्तान्तरणको अन्तिम चरणमा पु¥याएर आफूले प्रशंसा पाएको सुखद घटना पनि उनले सुनाए। ‘लामो समयदेखि रोकिएको बस्ती स्थानान्तरणलाई मैले पूर्णता दिएँ। यो मेरो जीवनको सुखद अनुभूति हो’, उनले भने। देवकोटासँग लामो समय भूमिसुधारमा बसेको अनुभव छ। ‘सत्ता भनेको देवो भवः रहेछ। म स्पष्ट बोल्ने मान्छे भएकाले कहिलेकाहीँ समस्या पनि भोगें’, उनले भने। समग्रमा आफ्नो जागिरे जीवन सुखत रहेको उनको भनाइ छ।