एम्बुलेन्स दुर्घटनामा गर्भवतीसहित ११ घाइते
उदयपुर : उदयपुरका बिरामी बोकेका दुई एम्बुलेन्स मंगलबार फरक-फरक ठाउँमा दुर्घटना हुँदा गर्भवतीसहित ११ जना घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका- १ बाट गर्भवती लिएर बिराटनगरतर्फ जाँदै गरेको स.१.झ.५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा बिहान ३:१० बजे ठोक्किएर दुर्घटना हुँदा ३२ वर्षीया सबिना बास्तोला (सुत्केरी व्याथा लागेकी बिरामी) सहित चारजना घाइते भएका हुन्।
दुर्घटनामा सबिना बास्तोला, उनका श्रीमान् ३६ वर्षीय खेमबहादुर बास्तोला, ३६ वर्षीय सिताराम बास्तोला र २८ वर्षीय नीरबहादुर पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिए।
घाइते बास्तोला परिवारको बिराटनगरस्थित बिराट टिचिङ अस्पताल र चालक उदयपुरगढीका २८ वर्षीय नीरबहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी झापाबाट उदयपुरतर्फ आउँदै गरेको मे.१.च.६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका -६ चुरेमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
झापामा उपचार गरी घर फर्कने क्रममा चुरेमा अनियन्त्रित हुँदा दुर्घटना भएको एसपी मगरले बताए। दुर्घटनामा एम्बुलेन्समा सवारत त्रियुगा नगरपालिका ६ का सदरुल मिँया, छोरी २८ वर्षीया सहिजा मिँया, ३५ वर्षीय मोहमद हमिद, ४० वर्षीय सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ वर्षीया अम्बिका बिक र उनका छोरा ११ वर्षीय अशोक बिक घाइते भएको एसपी मगरले बताए।
घाइते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने चालक र एम्बुलेन्स इलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।