बालबालिकाको सडक सुरक्षा

बालबालिकाको सडक सुरक्षा

आशिष गजुरेल

जनसंख्या र सवारीसाधनको संख्यामा वृद्धिसँगै सवारी दुर्घटना पनि बढेको छ। यस्ता दुर्घटनामा ज्यान गुमाउने बालबालिकाको संख्या पनि उल्लेख्य छ।

हरेक वर्ष विश्वभर सरदर १३ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक दिन सडक दुर्घटनाबाट विश्वभर औसत सात सय २० बालबालिकाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ।

नेपाल पनि यो समस्याबाट अछूतो छैन। नेपाल रेडक्रस सोसाइटीको तथ्यांकअनुसार नेपालमा बर्सेनि अ‍ौसत दुई हजार मानिस सडक दुर्घटनाको सिकार हुने गरेका छन्। अध्ययनले देखाएअनुसार ९० प्रतिशत दुर्घटनाका कारण तीव्र गति नै हो, जुन मानवीय त्रुटिबाट हुने गर्छ।

ट्राफिक सुरक्षा आज संसारकै एक मुख्य चुनौती बनेको छ। नेपालजस्तो विकासोन्मुख मुलुकमा साँघुरा र खराब सडकहरूको साथै सडक प्रयोगकर्तामा सडक अनुशासनको पालना नहुनु नै मुख्य समस्या हो। यसैका कारण दुर्घटना बढ्दै गएको पाइन्छ।

सडक सुरक्षामा सुधार गर्न चार प्रमुख विषयमा ध्यान पुर्‍याउनु जरुरी छ। सडकको इन्जिनियरिङ, ट्राफिक शिक्षा, आपत्कालीन उपचार र कानुनको कार्यान्वयन।

इन्जिनियरिङमा सडकको संरचना र सवारीसाधनको अवस्था पर्छन्। सडक सुरक्षाको मापदण्डअनुसार सडक निर्माण गरिनुपर्छ। यान्त्रिक गडबडी रोक्न सवारी समयसमयमा चेकजाँच गराउनुपर्छ। शतप्रतिशत कन्डिसनको गाडीमात्र चलाउनु पर्छ। बिग्रिएको गाडी चलाउनु भनेको बिरामी मानिसलाई काम लगाउनु जस्तै हो। सवारी साधन कन्डिसनमा छ कि छैन भनेर सरकारी निकायले समयसमयमा चेकजाँच गर्ने व्यवस्था लागू हुनु जरुरी छ।

त्यस्तै जनचेतना पनि त्यति नै महत्त्वपूर्ण छ। सडक प्रयोगकर्ता सबैलाई ट्राफिक ज्ञानको आवश्यकता छ। पैदलयात्रीले आकाशेपुललाई त्यति प्रयोग गरेको पाइँदैन। यसको उपयोगिताबारे चेतना फैलाउनु आवश्यक देखिन्छ। जेब्रा क्रसिङबारे पनि कमैले ध्यान दिन्छन्। त्यसैले आज ट्राफिक शिक्षा अझै महत्त्वपूर्ण छ। दुर्घटना पछि उद्धार र आपत्कालीन उपचार व्यवस्थाको विकास गर्नुपर्छ। उद्धार कार्य र आपत्कालीन उपचार जति चुस्त हुन्छ यसले मानवीय क्षति कम गर्न सघाउँछ। विकसित मुलुकमा आपत्कालीन हेलिकप्टर र सवारीसाधन तम्तयार राखिन्छ।

अर्को महत्त्वपूर्ण विषय ट्राफिक नियमको कार्यान्वयन हो। मुख्य सडकका प्रयोगकर्ताहरू चालक, साइकलयात्री र पैदलयात्री हुन्। सडक सबैको साझा सम्पत्ति भएकाले सबैको उत्तिकै अधिकार हुन्छ। एकअर्काको अधिकार हनन नहुने गरी कानुनको पालना गर्नुपर्छ। फुटपाथमा गरिने पार्किङ, राखिने पसलले पैदलयात्री सडकबाट हिँड्न बाध्य हुन्छन्। यसले पनि दुर्घटना गराइरहेका छन्। यसैले सडकमा गरिने पार्किङ र राखिने पसल हटाइनुपर्छ।

सडक दुर्घटनामा बालबालिकालाई सुरक्षित बनाउन विशेष पहलको जरुरी छ। स्कुल जाँदा आउँदा होस् वा सामान्य कामको लागि आवत्जावत गर्दा बालबालिकाले सडकको प्रयोग गरेका हुन्छन्। उनीहरूसँग अभिभावक सधैं सँगै नरहन पनि सक्छन्। यस्तो अवस्थामा बालबालिका आफैं पनि सवारी नियमबारे सचेत हुनु जरुरी छ। यसका लागि उनीहरूलाई यसबारे ज्ञान आफ्नै घरबाट दिलाउनु पर्छ। विद्यालयहरूले पनि यसबारे नियमित रूपमा जागरण कार्यक्रम सञ्चालन गर्नुपर्छ। बालबच्चाले सवारी नियमबारे पहिलो चोटी सिक्ने भनेको बाबु आमाबाट हो।

त्यसैले बाबुआमा आफैंले आफ्ना बालबालिकाका अगाडि सवारी नियम उल्लंघन गर्नु हुँदैन। त्यसको सन्देश उनीहरूमा नकारात्मक जान्छ। त्यस्तै, सवारी व्यवस्थापनमा बालबालिकालाई स्वयम्सेवकको रूपमा प्रयोग गर्दा पनि उनीहरूमा यसको व्यवस्थापनबारे व्यावहारिक ज्ञान बढ्न सक्छ। यसका लागि अभिभावक, विद्यालय, प्रहरी वा अन्य सडक सुरक्षामा काम गर्ने निकायबीच पर्याप्त समन्वय र सहकार्य हुनु जरुरी छ। यसो नभएसम्म निर्दाेष बालबालिका दुर्घटनाको सिकार हुने क्रम रोकिने छैन।

सुरक्षित हुन के गर्ने 

 .मोटरसाइकल, साइकल चलाउँदा हेल्मेट लगाउने।

· सवारीसाधनमा यात्रा गर्दा सवारी पेटी प्रयोग गर्ने।

· मादकपदार्थ सेवन गरी चलाएको सवारीसाधनमा यात्रा नगर्ने, आफन्तलाई मादकपदार्थ सेबन गरी चलाउन नदिने।

· चालकलाई साइड बत्ती प्रयोग गर्न सुझाउने।

· सदैव जेब्रा क्रसिङ प्रयोग गर्ने।

· ट्राफिक बत्तीको पालना गर्ने (हरियोमा बाटो काट्ने, रातोमा रोकिने र पहेँलोमा सावधान हुने।

· ओभरटेक दाहिनेबाट मात्र गर्ने।

· लेन अनुशासनको पालना गर्ने।

· सडक चिह्न पालना गर्ने।

· सवारीसाधनको पार्किङ तोकिएको ठाउँमा मात्र गर्न लगाउने।

· चालकले सवारीसाधन चलाउँदा फोनको प्रयोग नगर्ने।

· सवारीसाधनलाई धेरै गतिमा चलाउन नदिने।

· मोटरसाइकल पछाडि यात्रा गर्दा पनि हेल्मेट प्रयोग गर्ने।

· मोटरसाइकलमा दुईजना भन्दा बढी यात्रा नगर्ने।

· बालबालिकाले साइकल मुख्य सडकमा नचलाउने।

· सवारीसाधनको छतमा बसी यात्रा नगर्ने।

· सवारीसाधनमा झुन्डिएर यात्रा नगर्ने।

· सार्वजनिक यातायात प्रयोग गर्दा बस स्टपमा मात्र चढाउने र उतार्ने।

· रातको समयमा सवारी बत्ती ठूलो लाइट बालेर नचलाउने।

   पैदल यात्रीले ध्यान दिनुपर्ने कुरा

·  सदैव जेब्रा क्रसिङ प्रयोग गर्ने।

·  आकाशेपुल भएको ठाउँमा अनिवार्य प्रयोग गर्ने।

·  केटाकेटीले ठूलो मानिसको सहयोगमा मात्र सडक पार गर्ने।

·  ट्राफिक बत्तीको पालना गर्ने।

·  सडक पेटी नभएको अवस्थामा सडकको किनारबाट हिँड्ने।

·  नेपालमा बायाँतर्फी सवारी चल्ने हुँदा सदैव सडकको दायाँबाट हिँड्ने।

·  रातको समयमा विशेष सावधानीपूर्वक सडक पार गर्नुपर्छ।

·  सडक सबैको साझा भएकोले अनुशासित भएर सडक प्रयोग गर्ने।

(गजुरेल ट्राफिक इन्जिनियर हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.