मदिरा पसल बन्द गरी रेस्टुरेन्ट दर्ता
परासी : पश्चिम जिल्लामा मदिरा बिक्री गर्दै आएका व्यवसायीले धमाधम पसल बन्द गर्न थालेका छन्। पसल बन्द गरेका व्यवसायीहरुले नयाँ नामको पसल दर्ता गरेका छन्। मदिरा पसलहरु बन्द गर्न अहिले घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसायीको भिड लाग्ने गरेको छ।
साउन महिनादेखि मदिरा बिक्री गर्ने पसल अनिवार्य भ्याटमा जानु पर्ने प्रावधान राखेपछि व्यवसायीहरु पसल बन्द गरेर अर्को उद्देश्यको नयाँ पसल दर्ता गर्न आउन थालेको घरेलु तथा साना उद्योग कार्यालका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए।
एक पटक दर्ता भइसकेको पसलको उद्देश्य परिवर्तन गर्न नमिल्ने भएकाले व्यवसायीहरुले पहिलाको पसल बन्द गराएर नयाँ दर्ता गर्न थालेको भुसालको भनाइ छ। मदिरा पसल बन्द गरी होटल तथा रेष्टुरेण्ट सञ्चालनको अनुमति लिएका छन्। होटल तथा रेष्टुरेण्टको उद्देश्यमा खाजा, नास्ता बिक्री गर्ने जनाइएको छ। तर अधिकांशले भने मदिरा बिक्री भने छाडेका छैनन्।
अधिकांश होटल तथा रेष्टुरेण्टमा मदिरा नै बिक्री हुने गर्दछ। भ्याटको झण्झटमा मदिरा पसल बन्द गरेर नयाँ नामको पसल दर्ता गराएको हुन सक्ने उद्योग अधिकृत भुसालले बताए। मदिरालाई ‘व्यापार’र होटल तथा रेष्टुरेण्टलाई ‘उद्योग’मा राखिएको भुसालले जानकारी दिए। साउनदेखि व्यापार गर्ने सबै भ्याटमा जानु पर्ने प्रावधान राखेपछि दैनिक लेजर मेण्टेन गर्न झण्झटिलो हुने भएकाले मदिरा पसल बन्द गरेर अर्को पसल दर्ता गर्न आउनेको संख्या बढेको कार्यालयले जनाएको छ। होटल तथा रेष्टुरेण्टले पानमा मात्र कारोबार गर्न सक्ने प्रावधान छ।
सोमबारसम्म ३० जना मदिरा पसल सञ्चालन गर्ने व्यवसायीले पसल बन्द गरेका छन्। ती मध्ये २० जनालाई होटल तथा रेष्टुरेण्ट सञ्चालनको अनुमति दिइ सकिएको उद्योग अधिकृत भुसालले जानकारी दिए। साना व्यवसायीले भ्याट कारोबारको हिसाब राख्न नसक्ने भएकाले अर्को प्रकृतिको पसल दर्ता गरेको पाल्हीनन्द गाउँपालिकाका अर्जुक कहाँरले बताए। नगरपालिका क्षेत्रका मदिरा पसलले वार्षिक ७ हजार र गाउँपालिकाका पसले ६ हजार कर बुझाउँदै आएका छन्।