चाबहिलवासी आन्दोलित

चाबहिलवासी आन्दोलित

काठमाडौं : चाबहिल–चुच्चेपाटी सडकखण्ड विस्तारमा ढिलाइ हुँदा ढल फुटेर छरपस्ट भएको छ। ढल व्यवस्थापनमा चासो नदिएको भन्दै स्थानीय मंगलबार आन्दोलनमै उत्रिए। उक्त सडकमा यतिबेला ढल फुटेर बाटो हिलाम्मे बनेको छ। ढलका कारण चाबहिल र चुच्चेपाटी क्षेत्रमा हिँड्नै समस्या भएपछि स्थानीयले आक्रोशित भइ मंगलबार बिहान सडक अवरुद्ध गरे। तत्काल ढल व्यवस्थापन गरी सडक कालोपत्रे गर्नुपर्ने माग स्थानीयको छ ।

मुआब्जा विवादले वर्षौंदेखि सडक निर्माण लथालिंग छ। ढलका लागि ह्युम पाइप करिब ३ महिनादेखि राखिए पनि काम भएको छैन। सामान्य पानी पर्दा पनि ढल बग्ने पाइप बन्द भएर सडक हिलाम्मे हुन्छ। सवारी वारपार गर्न मुस्किल हुन्छ। सडक पेटीबाट हिँड्न सकिँदैन। हिँड्नै नसकिने सडक भएकाले स्थानीय आक्रोशित भएका हुन् ।

चाबहिलदेखि साँखुसम्म सडक विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले ०७२ सालमा पहिलोपल्ट ठेक्का लगाएको थियो। १३ किलोमिटर लामो सडक ५ खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। दुईपल्ट म्याद थपिँदा पनि ठेकेदारले सडक बनाएको छैन। ४ वर्षमा पनि अझै ५० प्रतिशत काम मात्र सकिएको छ ।

समस्या समाधान नभएकाले आन्दोलनमा उत्रिनु परेको स्थानीय शंकर श्रेष्ठले बताए। ‘सडकमा सधैं समस्या छ। ४ वर्षमा पनि काम भएन। सडकमा नउत्री काम नभएकाले अवरोध गर्न बाध्य भएका हौं,’ उनले भने, ‘कतिन्जेल यो सकस सहेर बस्ने ? ’ स्थानीयले मंगलबार बिहान ९ बजेदेखि करिब १ घण्टा सडक अवरुद्ध गरेका थिए। सडक बन्द भएपछि तत्काल सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाकर्मीले बल प्रयोग नगरी समस्या समाधान गर्न वार्ता गर्ने गरी बाटो खुलायो ।

तत्कालको समस्या समाधान गर्न काठमाडौं महानगरपालिका–७ को कार्यालयमा स्थानीय, ठेकेदारका प्रतिनिधि, वडाध्यक्ष, प्रदेश सांसद र सुरक्षाकर्मीसहित बैठक बसेको थियो। छलफलमा स्थानीयले सडक बनाउन ढिलो गर्दा समस्या भएको जानकारी गराए। तत्कालै ढल बनाएर काम सुरु गर्नुपर्ने प्रस्ताव स्थानीयले राखे। ‘काममा ढिलाइ भएको हो,’ ठेकेदारका प्रतिनिधि श्रीधर देवले भने, ‘तत्काल समस्या समाधान गर्न तत्कालै काम सुरु गर्छु ।’

स्थानीयले वडाको समस्या समाधान गर्न वडाले पनि जिम्मेवारी लिनु पर्ने बताए। तर वडाध्यक्षले काम ठेकेदारले गर्नुपर्ने वडाले नगर्ने भनाइ राखे। वडाध्यक्षको भनाइले स्थानीय झन् आक्रोशित भए। उनीहरूले बैठकमै ‘निकम्मा जनप्रतिनिधि चाहिँदैन’ भन्दै नाराबाजी समेत गरे ।

छलफलमा मंगलबारै काम सुरु गर्ने सहमति भएको छ। तत्काल सडकको हिलो सफा गर्नुपर्ने छ। ह्युम पाइप हटाएर ढल खन्न थाल्ने सहमति भएको छ। सहमतिअनुसार काम नथाले भोलि नै आन्दोलनमा उत्रने चेतावनी स्थानीयले दिएका थिए। ‘४ वर्ष देखि स्थानीय समस्यामा छन्,’ बैठकमा सहभागी प्रदेश ३ को क्षेत्र ४ ‘क’ का प्रदेश सांसद नरोत्तम वैद्यले भने, ‘त्यसैले आक्रोशित हुनु स्वाभाविक हो। काम नभएकोमा स्थानीय प्रतिनिधिले पनि जिम्मेवारी लिनुपर्छ ।’

तर वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले यो काम आफूअन्तर्गत नभएकाले जिम्मेवारी लिन नसक्ने बताए। ‘सडक विस्तार सरकारअन्तर्गतको काम हो,’ उनले भने, ‘समस्या ठेकेदारको लापरवाहीले भएको हो। यो उसैले समाधान गर्छ। हामीले पहल गर्ने हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.