२९ घर पहिरोको जोखिममा
बेनी : पहिरो खस्न थालेपछि म्याग्दीको मालिका–६ गोगनपानी गाउँ पहिरोको जोखिममा परेको छ। दिच्यामको लाम्पाटा डाँडाबाट पहिरो खसेको हो। यो गाउँमा २९ घरको बसोबास छ। ६ घर जोखिममा रहेको स्थानीय सुनील गुरुङले बताएका छन्।
‘भिरालो पाखोमा भएको बस्ती माथिबाट खसेको पहिरोसँगै बग्ने हो कि भन्ने त्रास छाएको छ’, उनले भने। उनका अनुसार पूर्णबहादुर गुरुङ, दिलबहादुर गुरुङ, दलबहादुर गुरुङ, तेजबहादुर गुरुङ, दलबहादुर जुग्जाली र मनवीर जुग्जालीको घर उच्च जोखिममा छन्। दिनमा घरको काम सकेर सुत्न आफन्तकहाँ जाने गरेको स्थानीय पूर्णबहादुर गुरुङले बताए। ‘दिउँसो ठिकै भए पनि राति ढुक्क भएर बस्न सक्ने स्थिति छैन’, उनले भने।
भूमिगत पानीका कारण एक महिनाअघि सुरु भएको पहिरो अझै नरोकिएको स्थानीय सविन गुरुङले बताए। उनका अनुसार पहिरोले सयौं रोपनी खेतबारी पुरिएको छ। सिद्ध आधारभूत विद्यालय जाने मोटरबाटो बगाएको छ। विद्यार्थी र गाउँलेलाई आवतजावत गर्न समस्या भएको छ। वडाध्यक्ष सन्तोष सुवेदीले जोखिममा परेका घरलाई सतर्कता अपनाउन अनुरोध गरिएको बताए। तत्काल पहिरो रोकथाम सम्भव नभएकाले हिउँदमा नियन्त्रण योजनाको पहल गरिने उनले बताए।
बेनी–दरवाङ सडक सोमबार अपराह्नदेखि खुलेको छ। यो म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जोड्ने सडक हो। दुखुखोला, बांगेपहिरो, टोलाबाङ क्षेत्रमा खसेको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको वडाध्यक्ष सुवेदीले बताए। गाउँपालिका, प्रहरी, यातायात ब्यवसायी र स्थानीयबासीको पहलमा सडक मर्मत गरिएको हो।