बालकथा : जाँतेकिराको उडान
श्यामकृष्ण खुलिमुली
‘यो जाँतेकिरा आज पनि ढिला आयो। जा कक्षाबाहिर बस्’ खरायोले हप्काएपछि जाँते डरले लुथ्रुक्क भयो र कक्षाबाहिर बस्यो।
जंगलको बीचमा रहेको पीपलको रूखमुनिको विद्यालय पुग्न उसलाई बिहानभरि लाग्छ। जति छिटो हिँडे पनि ढिला भइहाल्छ। त्यसैले उसले धेरैपटक कक्षा छुटाइसकेको छ।
‘म पनि पुतली जस्तै उड्न पाएँ हुन्थ्यो नि ’, उसले मनमनै सोच्यो।
‘टिनिनिनी।’
अचानक घण्टी बजेपछि ऊ झसंग भयो। ऊ तर्सेको देखेर बाहिर निस्केका गाइनेकिरा, पुतली, भंगेरा र फट्यांग्रो गलल हाँसे।
‘हाम्रो जस्तो पखेटा हुनुपर्यो नि, उडेर चाँडै विद्यालय आइपुग्न’, गाइनेले भन्यो।
‘त्यही त भनेको। कस्तो लोसे रहेछ’, पुतलीले हो मा हो मिलायो।
‘पख न म पनि एकदिन उडेर देखाइदिन्छु ’, उसले मनमनै अठोट गर्यो।
साँझ परिसकेको थियो। ऊ घर फर्किरहेको थियो। उसले एउटा बेलुन देख्यो। त्यसमा बसेर मानिस आकाशमा उडिरहेका थिए।
‘अब म पनि बेलुनमा उड्छु ’, उसले सोच्यो।
ऊ सरासर गोबे्रसाहुको पसलमा गयो र एउटा बेलुन किन्यो।
भोलिपल्ट बिहान ऊ घरनजिकैको चौरमा गयो। उसले फुकेको बेलुनमुनि एउटा बोतलको बिर्को बाध्यो।
‘ए जाँते ! के गर्न लागेको ? ’, डुल्न आएको फट्यांग्राले सोध्यो।
‘उड्न लागेको’, उसले जवाफ दियो।
‘अचम्म लाग्यो’, फट्यांग्राले हाँसेर भन्यो।
‘हेरिराख न’, ऊ बिर्कोमा बस्यो। बिस्तारै बेलुन उड्न थाल्यो। ऊ उडेको उड्यै भयो, फट्यांग्रा हेरेको हेर्यै भयो।
ऊ माथि माथि पुगेपछि उत्साहित भयो। ‘अब म यसमै बसेर विद्यालय जान्छु’, ऊ चिच्यायो।
‘ब्वाङ !’ अचानक आवाज आयो। कतै बन्दुक पड्यो कि ! कहाँ हुनु नि बरु ऊ त ढुनमुनियो। सम्हाल्नै पाएन र तल झर्यो। बेलुन फुट्यो र ऊ घाँसमा बज्रियो।
‘कति माथि उडेको है !’ उसको अवस्था देखेर फट्यांग्रा गलल खितखितायो। बिचरा जाँतेकिरा केही बोल्न सकेन र खुरुखुरु घरतिर लाग्यो।
घर पुगेर ऊ पातमुनि घुस्रियो। उसलाई उकुसमुकुस भयो। अब के गर्ने होला ? ऊ छटपटायो।
बिहानै ऊ घरबाट बाहिर निस्कियो। उसलाई देखेर फूलको रस चुस्दै गरेको पुतलीले सोध्यो, ‘कहाँ जान लागेको ? ’
ऊ केही नबोली गयो। बाटोमा हिँडिरहेको थियो। एउटा प्लास्टिक झोला उडेर आयो। ऊ त्यसमा अड्कियो।
ऊ निस्कन खोज्दै थियो। तर अचानक चलेको हावाले उसलाई उडाएर लग्यो। ऊ माथि माथि पुग्यो।
‘आहा ! यो त मज्जाले उड्दो रहेछ।’ ऊ दंग पर्यो।
एउटा ठूलो रूख आयो। ऊ मोडिन खोज्यो। तर सकेन। ऊ हाँगामै अल्झियो।
‘मेरो गुँड भत्काउन आयौ कि के हो ? ’ रूखको हाँगामा रहेको गुँडमा बसिरहेको भँगेराले भन्यो।
‘होइन। उड्दाउड्दै अड्केँ। सहयोग गर न ’, उसले सहयोग माग्यो।
भँगेराले चुच्चाले अड्केको प्लास्टिक निकालिदियो। तर ऊ तल खसिहाल्यो।
आज पनि ऊ विद्यालयमा ढिला पुग्यो र कक्षाबाहिरै बस्नुपर्यो।
ऊ चौरमा बसिरहेको थियो। आकाशमा हेर्यो र मनमनै सोच्यो, ‘कहिले उड्न पाउने होला ? ’
एउटा हेलिकप्टर ठूलो आवाज गरी उडेर आयो।
‘कस्तो कानै खाएको’ आफ्नो सिङ्ले कान बन्द गर्यो।
अचानक उसको दिमागको बत्ती बल्यो। उसको अनुहार धपक्क बल्यो र सिङ ठाडो पार्यो।
त्यसपछि ऊ गोबे्रको खेलौना पसलमा गयो। उसले एउटा खेलौना हेलिकप्टर किन्यो।
उसलाई रातभरि निद्रा लागेन। कहिले भोलि बिहान होलाजस्तै भयो।
रात बित्यो। बिहान भयो।
ऊ हेलिकप्टरमा बस्यो र विद्यालयमा गयो। तर अचम्म ! ऊ पुग्दा त विद्यालयमा कोही आइपुगेको थिएन।
‘म त पहिलो भएँ’ उसको आँखा बिजुली झैं बल्योे। ‘खरायो पनि छक्क पर्ने भो।’
उसलाई देखेर विद्यालयको चौरमा रहेको पीपलको रूखमा जालो बनाइरहेको माकुराले भन्यो, ‘ए जाँते ! एकाबिहानै हेलिकप्टरमा बसेर कता हो ? ’
‘देखेनौं ? विद्यालय आएको नि’, मुसुक्क हाँस्दै जाँतेले भन्यो, ‘आज त मैले सबैलाई उछिनेँ नि।’
‘आज शनिबार भनेर थाहा छैन ? ’, माकुराले हाँस्दै भन्यो।
‘ए, हो र ! कस्तो बिर्सेको’, उसले एन्टेनाझैं तन्काएको आफ्नो सिङ खुम्च्यायो र लजायो।
त्यसपछि ऊ फर्कियो। अगाडि अर्को हेलिकप्टर आइरहेको थियो। उसले आफ्नो हेलिकप्टर मोड्न भ्याएन।
‘ल अब ठोक्कियो’, उसले डराउँदै आँखा चिम्म गर्यो।
‘जाँते म पनि उड्न थालेँ’, हुइँयाँ गर्दै अगाडि बढेको हेलिकप्टरबाट आवाज आयो।
जाँतेले सिङ ठाडो पारेर आँखा खोल्यो। त्यो त फट्यांग्रा पो रहेछ !