नेपालमा इन्जिनियरिङ पढाइ एसियाकै अब्बल

नेपालमा इन्जिनियरिङ पढाइ एसियाकै अब्बल

यहाँ पढ्ने विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास पनि उत्कृष्ट हुन्छ।


विद्यालयस्तरीय पढाइ सकिएपछि कलेजको खोजीमा भौतारिने अधिकांश नेपाली विद्यार्थीको चाहना विदेश जाने हुन्छ। परिवारको आर्थिक हैसियतअनुसार विश्वविद्यालय छनोट गर्ने तथा अभिभावकको चाहना पनि आफ्ना छोराछोरीले अब्बल कलेजमै पढून् भन्ने हुन्छ। हरेक वर्षको नयाँ शैक्षिक सत्र सुरु हुँदा कुन कलेजमा पढ्ने, के पढ्ने, कति खर्चने र कसरी व्यवस्थापन मिलाउने भन्ने चटारो विद्यार्थी/अभिभावक दुवैको चिन्ताको विषय पनि हो। तर, इन्जिनियरिङ क्षेत्रमा आफ्नो भविष्य देख्ने विद्यार्थीका लागि नेपालकै पढाइ दक्षिण एसियाकै अब्बल छ भन्ने विषयमा कमैको मात्र ध्यान पुग्ने गरेको छ।

‘इन्जिनियरिङ अध्ययन गर्न चाहनेविद्यार्थीको निम्ति सैद्धान्तिक ज्ञानदेखि व्यावहारिक अभ्याससम्मको ज्ञान नेपालमै राम्रो छ’, कान्तिपुर इन्टरनेसनल कलेजका निर्देशक प्रतापराज जोशी भन्छन्। उनका अनुसार अभिभावकको बुझाइ बाहिर पढेर आएको अवस्थामा मात्रै राम्रो भन्ने हुन्छ। नेपालमा गरिने अध्ययन र पढाइलाई राम्रोसँग नबुझी बाहिरै मात्र जान खोज्ने विद्यार्थीको जमात निकै ठूलो छ। छिमेकी मुलुक भारत होस् वा जुनसुकै अरू देशमा पुग्न विद्यार्थी लालायित हुने र अभिभावकको सोचाइ पनि बाहिर पढेको मात्रै राम्रो भन्ने छ। यसको तुलनामा नेपालकै इन्जिनियरिङको स्तर धेरै राम्रो भएको जोशीको बताउँछन्।

यहाँ पढ्ने विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास पनि यही हुन्छ। हामीले खोजेजस्तो शिक्षा र सोहीअनुसारको अभ्यास विदेशमा हुँदैन्। त्यसैले बाहिर पढेर आउनेलाई व्यावहारिक अभ्यास कम हुँदा यहाँ आएर के गर्ने के नगर्ने भन्ने समस्या धेरैमा पाइन्छ।

विदेशमा विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकबीचको सम्पर्क समय अर्थात् कलेज आवर जम्मा तीन हजार घण्टामात्रै छ। नेपालमा भने यस्तो कलेज समय ४२ सय घण्टा हुने भएकोले पनि नेपालको पढाइमा विद्यार्थी अब्बल हुने जोशी दाबी गर्छन्।

नेपालमा हाल ६ वटा विश्वविद्यालय मातहत ५१ वटा इन्जिनियरिङ कलेज छन्। यी कलेजमा विभिन्न १४ वटा विधामा पढाइ हन्छ। नेपालमा पढेका विद्यार्थी बाहिर जाने क्रम बढिरहेको भए पनि यही पढ्नेको संख्या पनि निकै राम्रो छ। विद्यार्थीको बुझाइअनुसार कलेज छान्ने चलन यहाँ छैन्। अभिभावकले भनेको ठाउँमा पढ्ने र त्यसैलाई रोज्नुपर्ने बाध्यता विद्यार्थीमा छ। नेपालमा भएको अवसरलाई यही सदुपयोग गरेर उत्कृष्ट ज्ञान लिन सकिने बुझाइ नेसनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनप्रसाद पौडेल बताउँछन्।

विद्यार्थीले विदेशी विश्वविद्यालयको प्रमाणपत्र लिनु त राम्रो तर स्वदेश फर्किएर सेवा गर्नेको संख्या चाहिँ कम हुनुले पलायनलाई मात्रै प्रोत्साहन दिएको जस्तो देखिन्छ। समग्रमा नेपालकै इन्जिनियरिङ अध्ययनमा विद्यार्थीको रोजाइ विभिन्न विधा भए पनि सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक र इलेक्ट्रिकलमा बढी माग छ।

सगरमाथा इन्जिनियरिङ कलेजका प्राचार्य रमेश श्रेष्ठका अनुसार नेपालको इन्जिनिरिङ अन्तर्राष्ट्रिय स्तरमा पहिलेदेखि नै रिकनाइजेन हुन्थ्यो। नेपाली विद्यार्थी यही अध्ययन गरेर पनि अब्बल नै छन्। श्रेष्ठका अनुसार सरकारी होस् वा निजीमा इन्जिनियरिङको प्रस्तुति तथा छवि राम्रो छ।

नेपालमै पढेका इन्जिनियरहरू लोकसेवा, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरणसहितका निकायमा पुगेका छन्। अन्य क्षेत्रमा पनि नेपालमै पढेका र नेपाली निकै अब्बल भएको बुझाइ श्रेष्ठको छ।

पूर्वाधारमा निजी कलेजले पनि राम्रो लगानी गरेका छन्। दक्षता बढाउन, सेवासुविधामा र विद्यार्थीको मागअनुसारको विधा थप हुँदै गएको छ। अरूको तुलनामा सम्भावना बढी भएर र तुरुन्त काममा खटिहाल्न पाइने भएकोले सिभिल र कम्प्युटर इन्जियिरिङको माग बढी छ। यो क्षेत्रमा जति जनशक्ति उत्पादन भए पनि अझै नपुगेको श्रेष्ठको बुझाइ छ।

नेपालमा स्नातक सक्ने र बाहिर स्नातकोत्तरका लागि जाने विद्यार्थी कम मात्रै फर्कने भएकोले पनि जति उत्पादन भए पनि नपुगेको हो। बाहिर पढ्न गएका विद्यार्थीले उतै अवसर पाउने भएकोले करिब २० प्रतिशत मात्रै अध्ययन सकेर फर्कने गरेको बुझाइ उनको छ।

अबको माग हाइड्रो र इलेक्ट्रिकलमा

नेपालमा धमाधम पूर्वाधार निर्माण भइरहँदा इन्जिनियरको माग पनि बढ्दै गइरहेको छ। नेपालमा जति धेरै विकास निर्माणले गति लिँदै गयो दक्ष जनशिक्तसहितका इन्जिनियर उति नै बढी आवश्यक पर्छ। अहिले सिभिल र कम्प्युटर इन्जिनियरको माग भएकोले त्यतातर्फ नै विद्यार्थी जाने गरेका छन्।

अबको आवश्यकता भनेको हाइड्रो र इलेक्ट्रिकल इन्जिनियरको हो। अब सुरु गर्ने विद्यार्थीले अध्ययन पूरा गर्दा कम्तीमा चार वर्ष लाग्ने र त्यो बेला पर्याप्त सम्भावना जलविद्युत्मा देखिन्छ। अबको आवश्यकता भनेकै हाइड्रो र इलेक्ट्रिकलमा बढी हुने बुझाइ पनि सम्बन्धित इन्जिनियरिङ कलेजको छ।

ललितपुर इन्जिनियरिङ कलेज प्रिन्सिपल ललनकुमार तिवारीका अनुसार त्रिभुवन विश्वविद्यालयबाट उत्पादन भएका विद्यार्थीको वर्चस्व निकै राम्रो छ। सबै क्षेत्रमा बाहिर पढ्न जाँदा पनि नेपाली विद्यार्थीले पीएचडीमा होस् वा अन्य प्रयोगात्मक परीक्षामा राम्रो तुलनात्मक रूपमा नतिजा राम्रो छ। कोर्स डिजाइनको हिसाबले र अन्तर्राष्ट्रिय संस्थाको स्तरीकरणका हिसाबमा पनि नेपालको इन्जिनियरिङ अब्बल रहेको बुझाइ तिवारीको छ।

एयर स्पेस इन्जिनियरिङ नेपालमै

नेपालमा पहिलोपटक एयर स्पेस इन्जिनियरिङ पनि गत वर्षदेखि सुरु भएको छ। वार्षिक ४८ जनालाई त्रिविले स्नातक तहमा भर्ना लिएर पढाइ सुरु गरिरहेको छ। विद्यार्थीको चासो पनि यो क्षेत्रमा बढिरहेको छ। नेपालमा सुरु भएको यो विधामा अध्ययन गर्न बाहिर जानु नपर्ने र नेपालमा सस्तोमा एयर स्पेस इन्जिनियर उत्पादन हुने दाबी पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक आयुष भट्टराईले बताए।

पहिलो ब्याज तयार हुन चार वर्ष लाग्ने भए पनि अहिले अध्ययन गरिरहेका विद्यार्थी सबै नेपालमै बस्ने हो भने पनि अझै माग धान्न नसकिने अनुमान गरिएको छ। नेपालमा हवाई उड्डयनको विकास बढी रहेकोले पनि यस क्षेत्रको इन्जिनियरप्रतिको रुचि पनि बढ्न थालेको उल्लेख छ।

विपन्न समुदायका १२ जनालाई जम्मा ६० हजार रुपैयाँमा नै कलेजले चारवर्षे अध्ययन सुविधा पनि दिएको छ। नेपाल बाहिर पढ्दा यो विधामा करिब २०/२५ लाखदेखि ५० लाख रुपैयाँभन्दा बढी रकम गर्नुपर्ने बाध्यता छ। नेपालमा भने जम्मा ६ लाख रुपैयाँमै एयर स्पेस इन्जिनियरिङ अध्ययन पूरा गर्न पाइने पनि कलेजको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.