किन इन्जिनियरिङ पढ्ने ?
मनीष पाण्डे । काठमाडौं : वैज्ञानिकहरू संसारलाई जस्तो छ त्यस्तै अध्ययन गर्छन्। इन्जिनियरहरूले यस्तो संसार बनाउँछन् जुन पहिले कहिल्यै भएको थिएन। विश्वमा जति पनि अकल्पनीय सुधार भएका छन्, त्यसमा इन्जिनियरहरूको अहम् भूमिका रहेको पाइन्छ। नयाँनयाँ आविष्कारमा रमाउने र आफूमा भएको ज्ञानले संसार परिवर्तन गर्ने शक्ति इन्जिनियरमा हुन्छ। यस्तै विभिन्न खोज र आविष्कारको माध्यम इन्जिनियरिङ पेसा वर्तमान समाजमा धेरै विद्यार्थीको सपना बनेको छ। २१औं शताब्दीको यो प्राविधिक युगमा इन्जिनियरिङ विषय भिन्न रचनात्मक कला भएका विद्यार्थीका लागि लोकप्रिय रोजाइ बनेको छ।
इन्जिनियरिङ कुनै पेसा मात्र नभएर एउटा अवसर हो। विज्ञान र गणितका सिद्धान्त प्रयोग गरी प्राविधिक समस्याहरूको आर्थिक समाधान विकास गर्ने क्षमता इन्जिनियरमा हुन्छ। कुनै पनि काममा थोरै परि श्रमबाट धेरै परिणाम निकाल्नु इन्जिनियरको खुबी हो।
कुनै पनि देशको पूर्वाधार जस्तै शिक्षा, सञ्चार, विभिन्न संरचनाहरू र विकासका लागि इन्जिनियरिङ क्षेत्रको भूमिका अपरिहार्य रहेको छ। इन्जिनियरलाई नेपालीमा अभियन्ता अर्थात् अभियानकर्ता पनि भनिन्छ। अँध्यारोतिर लम्किएको देशको भविष्यलाई विकासको उज्यालोतर्फ मोड्ने अभियानकर्ता इन्जिनियर हुन्।
इन्जिनियरिङले नयाँनयाँ आविष्कारमा रमाउन सिकाउँछ। विभिन्न सीप सिकाउँछ। किताबी ज्ञानमा मात्र सीमित नभई त्यसलाई व्यवहारमा कसरी उतार्ने भन्ने शिक्षा इन्जिनियरिङबाट पाइन्छ। स्कुलमा न्युटन र आइन्स्टाइनजस्ता वैज्ञानिकको सिद्धान्त पढ्दा मनमा आएका प्रश्नहरूको उत्तर यहाँ पाइन्छ। याक्स र वाईको मान निकालेर के हुन्छ ? यो म्याट्रिक्स कता काम लाग्छ ? जस्ता प्रश्नको जवाफ यहाँ पाइन्छ। इन्जिनियररिङले वास्तविक जीवनमा आइपर्ने समस्याको समाधान गर्न सिकाउँछ। मानिसको संसारतर्फ हेर्ने दृष्टिकोण र सोचाइ परिवर्तन गराउँछ, जीवनशैली सुधार गर्छ।
विद्यार्थीमा महत्त्वपूर्ण गुणहरू ल्याउँछ, विभिन्न अवसरहरू प्रदान गर्छ र कसरी त्यो अवसरको सही उपयोग गर्ने हो भन्ने समेत सिकाउँछ। किताबी ज्ञान, आफ्नो क्षेत्रको ज्ञानसँगै धेरै जीवनोपयोगी पाठ सिकाएर एउटा राम्रो मानिस इन्जिनियरिङले बनाउँछ। एउटा राम्रो विद्यार्थीले चारवर्षे इन्जिनियरिङ सकाएर निस्किँदा उज्ज्वल भविष्यतर्फ लम्किँदै आफ्नो जीवन सार्थक पार्न सक्ने भएर निस्किन्छ।
नेपालमा पाँच विश्वविद्यालयसँग सम्बन्धन लिएर ५१ इन्जिनियरिङ कलेजहरू सञ्चालनमा छन्। जेठो रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा पुल्चोक, थापाथली, पश्चिमाञ्चल र पूर्वाञ्चल र पछिल्लो समय स्थापना भएको चितवन इन्जिनियरिङ कलेज सञ्चालनमा रहेका छन्। विभिन्न प्राइभेट कलेज पनि छन्। पुल्चोकमा एरोस्पेस, पश्चिमाञ्चलमा जियोम्याटिक्स र पूर्वाञ्चल क्याम्पसमा पढाइ हुने कृषि इन्जिनियरिङ अन्त कम पढाइ हुन्छन्।
त्यसैगरी काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालय पनि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्छन्। मध्यपश्चिम विश्वविद्यालयले नयाँ विषय हाइड्रोपावर इन्जिनियरिङ पनि पढाउन थालेको छ। प्लस टु साइन्स पढेपछि विद्यार्थीहरूले आफ्नोअनुसारको इन्जिनियरिङ पढ्न पाउँछन्। यस्तैगरी एसईई पछि पढिने डिप्लोमा इन्जिनियरिङ पनि केही कलेजहरूले पढाउने गरेका छन्।
केही समय अगाडि भनिन्थ्यो, यदि धरहराबाट ढुंगा तल फालियो भने कुनै न कुनै बेरोजगार इन्जिनियरलाई लाग्छ, तर विडम्बना अहिले न धरहरा छ, न त धरहरा बनाउन सिपालु इन्जिनियर। भूकम्पपछिको पुनर्निर्माणमा देशलाई एक कुशल तथा दक्ष इन्जिनियरको खाँचो छ। नेपाल जस्तो पिछडिएको विकासोन्मुख देशमा इन्जिनियरिङ पढाइ निकै महत्त्वपूर्ण रहेको छ। गरिबी, बेथिति र एक कुशल नेतृत्वको अभावले डुब्न लागेको मेरो देशलाई किनारा लगाइदिन एउटा गुणवान् इन्जिनियररूपी माझीको आवश्यकता परेको छ। यो प्राविधिक युगमा अन्य धनी र बलवान् देशहरूको बीच नेपाललाई चिनाउन सक्ने इन्जिनियर देशलाई चाहिएको छ।
- आइओइ पश्चिमाञ्चल क्याम्पस पोखरामा इलेक्ट्रिक इन्जिनियरिङ अध्ययनरत
प्रतिक्रिया दिनुहोस !