सरकारले जनतालाई धोका दिन सक्दैन : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासनको निर्मम एजेण्डा बोकेर अघि बढेको सरकारले जनतालाई धोका दिन नसक्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूलाई केहीले 'व्यापारी पोस्यो' भन्ने आरोप लगाएको भन्दै सुशासनको कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा धोका दिन नसक्ने बताए। उनले सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्ने बताए।
आफूले दुई रुपैयाँमात्रै बदमासी भएको पुष्टि भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको भन्दै उनले यो नैतिक आँट आफूमाथि प्रश्न उठाउने सांसदहरूलाई पनि प्राप्त होस् भन्दै जवाफ दिए। आफूमाथि प्रश्न उठाउनेहरूका काण्डबारे अनभिज्ञ नरहेको उल्लेख गर्दै मन्त्री वाग्लेले सबै काण्डमाथि छानबिन हुने धारणा राखे।
उनले निजी लगानी सुस्त रहेको र अर्थतन्त्र मन्दीको अवस्थाबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा माग पुनर्जीवित गर्ने कार्यक्रम ल्याउनु अपरिहार्य रहेकाले यसलाई केवल मध्यम वर्गमुखी वा सहरी वर्गमुखी भनेर व्याख्या गर्नु यथार्थपरक नहुने बताए।
प्रतिक्रिया दिनुहोस !