'यसपटकको विश्वकप रोनाल्डोले जितिदिए हुन्थ्यो'
काठमाडौं : नेपाली फुटबलका पूर्व कप्तान राजुकाजी शाक्यले यसपटकको विश्वकप रोनाल्डोले जित्नुपर्ने बताएका छन्। अन्नपूर्ण स्पोर्ट्स रङ्गशालामा उनले क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले जितिदिए हुने बताएका हुन्।
त्यसो त उनी ब्राजिलका समर्थक हुन्। फुटबलको सुरुवाती करियरबाट नै उनी ब्राजिललाई पछ्याउँदै आएका छन्। धरानको घरेलु फुटबलबाट राष्ट्रिय टिमसम्म आइपुग्दा उनको पहिलो रोजाइ ब्राजिल बनेको हो। तर उनी भन्छन्, ‘रोनाल्डोको मेहनत र नामअनुसार उसले पनि एउटा विश्वकपको उपाधि जितिदियोस् भन्ने कामना छ।'
सन् १९०० को दशकमा नेपाली फुटबलले अर्जेन्टिनी टिमसँग खेलेको थियो। दक्षिण कोरियाजस्तो टिमहरूसँग पनि नेपालले खेल्थ्यो। यही इतिहासलाई बाँचेका व्यक्ति हुन् राजुकाजी शाक्य। उनी भन्छन्, ‘अहिले विश्वकप खेलिरहेका टिम यत्तिकै विश्वकप खेलिरहेका होइनन्। उनीहरुले फुटबलमा गरेको लगानी दीर्घकालीन नीतिको परिणाम विश्वकप र माथिल्लो स्तरको फुटबल खेलिरहेको बताए।
‘नेपाली फुटबललाई विश्वकपसम्म पुग्न र ठूला प्रतियोगिताहरू खेल्नका लागि दीर्घकालीन नीति र निजी स्वार्थ नहेरी फुटबल विकास गर्ने व्यवस्थापनको आवश्यकता छ,' उनले भने। नेपाली फुटबल खेल्ने रणनीति, प्रविधि तथा खेलाडी बदलिए। तर, नेपाली फुटबलको स्तर भने बदलिएन। यसको मुख्य कारण दीर्घकालीन नीति तथा योजनाको कमी रहेको पूर्व कप्तान राजुकाजी शाक्यले बताए। ‘नेपाली फुटबललाई माथि लाने हो भने राजनीतिक खिचातानी कम हुनुपर्छ। नियमित तालिका अनुसार खेलहरू हुनुपर्छ।'
उनले पहिलाका खेलाडीहरू निकै अनुशासित देखिए पनि अहिले पैसामुखी भएको बताए। 'क्लबको प्रशिक्षण हुँदा प्रशिक्षण गर्ने, त्यसबाहेक खाली समयमा नगर्ने प्रवृत्ति अहिलेको पुस्तामा देखिरहेको छु,' उनले भने।
उनले अहिले आइरहेका युवा पुस्ताले रोनाल्डो र मेस्सीले बनाएको लेगेसी पछ्याउन नसक्ने पो हो कि भन्ने आशंका पनि व्यक्त गरे। उनी भन्छन्, ‘एम्बापेले खेलेको पहिलो विश्वकप हेरेपछि एकदमै धेरै अपेक्षा गरिएको थियो। तर, पछिल्लो समय उनले त्यो लय समाउन सकेका छैनन्। अहिले आइरहेका विश्वका ठूला ठूला भनिएका र उदीयमान भनिएका युवा खेलाडीहरुलाई चोटले पछि धकेलिरहेको छ।'
यति भन्दै गर्दा उनले युग आउँदै गरेका युवा पुस्ताले यो विश्वकपमा केही जादुयी प्रदर्शन पनि गर्न सक्ने अड्कल गरे। ‘चार वर्षमा आउने विश्वकपमा केही न केही जादुमय प्रदर्शन भने सधैं हुन्छन्। योपटक पनि केही जादुमय प्रदर्शनहरू पक्कै हुनेछन्।'
प्रतिक्रिया दिनुहोस !