पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त
काठमाडौं : फुटबल खेलाडी विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् ( राखेप)को उपाध्यक्षमा नियुक्त भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उनलाई उपाध्यक्षको पदमा नियुक्त गरेका हुन्।
पूर्व राष्ट्रिय खेलाडी विशाल श्रेष्ठले बुधबार नै खेलाडी जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् सामाजिक सञ्जालमार्फत उनले सन्यासको घोषणा गरेका थिए। उनले २०८० पुष ७ गते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका थिए तर घरेलु फुटबलमा मछिन्द्र फुटबल क्लबबाट खेल्दै आएका उनले अन्ततः खेलाडी जीवनबाटै सन्यास लिएका थिए।
खेलाडी जीवनबाट सन्यास लिएसँगै विशाल राष्ट्रिय खेलकुद परिषद् राखेपको उपाध्यक्ष पदमा नियुक्त भएका हुन्। सँगै खेलकुद क्षेत्रमा आबद्ध रहेका चार जना खेल क्षेत्रमा आबद्ध रहेका खेलाडी तथा पूर्व खेलाडी राखेपको बोर्ड सदस्यमा नियुक्त भएका छन्।
क्रिकेटबाट पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्तिप्रसाद गौचन, बुद्धिचालकी मोनालिसा खुम्बु, फुटबलका पवन शाही र टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ राखेपको बोर्ड सदस्यमा नियुक्त भएका हुन्।
शक्तिले सोमबार रूपन्देही क्रिकेट सङ्घको अध्यक्ष पदमा चुनाव हारेका थिए। त्यस्तै मोनालिसा खुम्बु हिमालयन चेस एकेडेमी सञ्चालन गर्दै आएकी थिइन्। सिक्का सुवाल भने खेलाडी जीवनबाट नै सिधै राखेप बोर्ड सदस्यमा नियुक्त भएकी हुन्। उनी एभिएम टेबल टेनिस क्लब कि खेलाडी हुन्। फुटबल खेलाडी पवन शाही भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस !