विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव हो, फिफा विश्वकप । जसको २३औं संस्करण बिहीबार रातिदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप धेरै अर्थमा ऐतिहासिक बनेको छ । पहिलोपटक ४८ राष्ट्र सहभागी विश्वकपमा उज्वेकिस्तान, जोर्डन, केप भेर्दे र कुरासाओले डेब्यु गर्दै छन् भने ५ पटकको विश्वविजेता ब्राजिलले लगातार २३औं संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ । तीन देशका १६ सहरमा हुने रोमाञ्चक १ सय ४ खेलपछि एक टोलीले विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्ने छ ।
काठमाडौं/अमेरिका : फिफा विश्वकपको इतिहासमा पहिलोपटक तीन देशले संयुक्त रूपमा आतिथ्यता गर्दै १६ सहरमा हुने विश्वकप फुटबलको २३औं संस्करण जुन ११ बाट सुरु हुँदैछ। जहाँ ४ देशले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा सर्वाधिक विश्वकपको उपाधि जितेको ५ पटकको विश्वविजेता ब्राजिलको यो लगातार २३औं संस्करणमा सहभागिता हुनेछ।
पहिलोपटक उज्वेकिस्तान, जोर्डन, केप भेर्दे र कुरासाओले पहिलोपटक विश्वकप खेल्दै छन्। उज्वेकिस्तान र जोर्डन एसियाली मुलुक हुन् भने केप भेर्दे अफ्रिकी आइल्यान्ड र कुरासाओ नेदरल्यान्ड नियन्त्रित क्यारेबियन टापु हो।
सन् १९३० को सुरुवाती विश्वकपको आतिथ्यता दक्षिण अमेरिकी मुलुक उरुग्वेले गरेको थियो। र, अहिले २३औं संस्करण संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको गरी उत्तरी अमेरिकाका तीन मुलुकमा सञ्चालन हुँदैछ। दक्षिण अमेरिकाका ७, युरोपबाट ४ र उत्तरी अमेरिकाबाट २ गरी कुल १३ देशको सहभागितामा पहिलो संस्करण सम्पन्न भएको फिफाको २३औं संस्करणमा भने ४८ देशको सहभागिता हुँदैछ। पहिलो संस्करणमा १३ देशको सहभागिता रहेकोमा १९३४ र १९३८ गरी दोस्रो र तेस्रो संस्करणमा १६ देशको सहभागिता रहेको थियो। ४ वर्षको फरकमा हुने भनिए पनि दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ मा विश्वकप हुन सकेको थिएन, १९५० मा सम्पन्न चौथो संस्करणमा पनि विशेष परिस्थितिका कारण १३ देशको मात्र सहभागिता रहेको थियो।
१९५५ मा भएको पाँचौं संस्करणदेखि १९७८ मा सम्पन्न ११औं संस्करणसम्म १६ देशको सहभागिता रहेको थियो। सन् १९८२ देखि १९९४ मा सम्पन्न १२औंदेखि १५औं संस्करणसम्म २४ देशको सहभागिता रहेको थियो। सन् १९९८ देखि २०२२ मा सम्पन्न १६औंदेखि २२औं संस्करणसम्म ३२ देशले सहभागिता जनाएका थिए। पहिलोपटक सन् २०२६ को यस विश्वकपमा ४८ देशले सहभागिता जनाउन लागेका छन्।
विश्वकप छनोट चरणको यात्रा पार गरी छानिएका युरोपका १६, एसियाका ९, अफ्रिकाका १०, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारेबियन र मध्यअमेरिकाका ६, दक्षिण अमेरिकाका ६ र ओसियानाका एक गरी ४८ देशले विश्वकपको २३औं सस्करण खेल्दै छन्। छनोट भएका ४८ देशलाई विभिन्न १२ समूहमा विभाजन गरिएको छ।

यसअघिका २२औं संस्करणसम्म आठ देशले विश्वकप उपाधि जितेका छन्। जसमा सर्वाधिक ५ पटक जितेको ब्राजिल (१९५८, १९६२, १९७०,१९९४ र २००२), ३ पटक जितेको अर्जेन्टिना (१९७८, १९८६ र २०२२) र २ पटक जितेको उरुग्वे (१९३० र १९५०) को दक्षिण अमेरिकी मुलुक र ४ पटक उपाधि जितेको (१९५४, १९७४, १९९०, २०१४ जसमा सुरुका तीनवटा पश्चिम जर्मनीको नामबाट खेलेको), २ पटक उपाधि जितेको (१९९८ र २०१८), एक÷एक पटक उपाधि जितेका इङ्ल्यान्ड (१९६६) र स्पेन (२०१०) र ४ पटक उपाधि जितेको इटली (१९३४, १९३८, १९८२ र २००६) छन्।
उपाधि जित्ने ८ मध्ये ७ देशले २३औं संस्करणमा सहभागिता जनाउँदा इटली भने छनोट चरणमै रोकिएको छ। विश्वकपको उपाधि चुमिसकेका र यस विश्वकपमा सहभागिता जनाउने ७ देशमध्ये उरुग्वे र स्पेनबीच समूह चरणमा नै प्रतिस्पर्धा हुनेछ। यी दुई समू ‘एच’मा छन्। जसमा केप भेर्दे र साउदी अरेबिया पनि समावेश छन्।
अमेरिकाको ११ (एटलान्टा, बोस्टन, डालास, ह्युस्टन, क्यान्सस सिटी, लस एन्जलस, मायामी, न्युयोर्क, फिलाडेल्फिया, सान फ्रान्सिस्को, सियाटल) क्यानडाको २ (टोरन्टो र भ्यानकुभर ) तथा र मेक्सिकाको ३ (मेक्सिको सिटी, ग्वाडालाहारा र मोन्टेरे) गरी १६ सहरमा ४८ देश सहभागी विश्वकपको १ सय ४ खेल हुनेछन्। उद्घाटन खेल सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिकोको एस्टाडिओ अज्टेकाका रंगशाला मेक्सिको सिटीमा जुन ११ हुनेछ भने समापन अमेरिकाको न्युयोर्क न्युजर्सीमा रहेको मेट लाइफ रंगशालामा जुलाई ११ मा हुनेछ।
फुटबलभन्दा अमेरिकनहरूले सकर भन्न रुचाउने अमेरिका बाहिर फुटबलको महासंग्राम भनेर चिनिने फिफा विश्वकपका लागि अमेरिकाका १३ सहरमा रहेका रंगशालाहरूको नामसमेत अस्थायी रूपमा परिवर्तन गरिएको छ। वेसबल र अमेरिकन फुटबलको निम्ति बढी प्रयोगमा आउने रंगशालाहरूलाई फिफा विश्वकपका निम्ति तयार गरिएको छ। अधिकांश रंगशाला रहेको सहरमध्येको चर्चित सहरको नाममा अस्थायी नामाकरण गरिएको छ।
४८ देशलाई १२ समूहमा विभाजन गरेअनुसार समूहगत खेल हुने सहर नजिकका अन्य खासगरी विद्यालय, कलेज र विश्वविद्यालयका खेलमैदानलाई सहभागी देशहरूका लागि समूहअनुसार होम अर्थात् अभ्यास मैदानको रूपमा दिइएको छ भने विश्वकप हुनुअघिका अभ्यास र मैत्रीपूर्ण खेल पनि त्यही नै खेलाइने छ। विभिन्न सहरले पनि सहभागि देशहरूलाई उत्कृष्ट आतिथ्यता दिँदै सहरमा ती देशका झण्डाहरूले रंग्याएका छन् ।
समूह ‘ए’
समूह ‘ए’ सहआयोजकमध्येको एक फिफा वरीयातामा १४औं स्थानमा रहेको मेक्सिको, २५औं स्थानमा रहेको दक्षिण कोरिया, ३९औं स्थानमा रहेको चेकिया र ६०औं स्थानमा रहेको दक्षिण अफ्रिका छन्।
समूह ‘बी’
समूह ‘बी’मा फिफा वरीयतामा १९औं स्थानमा रहेको स्विट्जरल्यान्ड, ३०औं स्थानमा रहेको सहआयोजकसमेत रहेको क्यानडा, ५७औं स्थानमा रहेको कतार र ६४औं स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिना छन्।
समूह ‘सी’
यस समूहमा फिफा वरीयतामा छैटौं स्थानमा रहेको ब्राजिल, सातौं स्थानमा रहेको मोरोक्को, ४२औं स्थानमा रहेको स्कटल्यान्ड र ८३औं स्थानमा रहेको हाइटी छन्।
समूह ‘डी’
समूह ‘डी’मा फिफा वरीयतामा १७औं स्थानमा रहेको सहआयोजक संयुक्त राज्य अमेरिका, २२औं स्थानमा रहेको टर्की, २७औं स्थानमा रहेको अस्ट्रेलिया र ४०औं स्थानमा रहेको पाराग्वे छन्।
समूह ‘ई’
यसैगरी समूह ‘ई’मा फिफा वरीयतामा १०औं स्थानमा रहेको जर्मनी, २३ औं स्थानमा रहेको इक्वेडर, ३३औं स्थानमा रहेको आइभरी कोस्ट र ८२औं स्थानमा रहेको कुरासाओ छन्।
समूह ‘एफ’
यस समूहमा आठौं स्थानमा रहेको नेदरल्यान्ड्स, १८औं स्थानमा रहेको जापान, ३८औं स्थानको स्वीडेन र ४६औं स्थानमा रहेको टवनिसिया छन्।
समूह ‘एच’
यस्तै समूह ‘एच’मा फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्पेन, १६औं स्थानमा रहेको उरुग्वे, ६१औं स्थानमा रहेको साउदी अरेबिया र ६७औं स्थानमा रहेको केप भेर्डे छन्।
समूह ‘आई’
यस समूहमा फिफा वरीयताको तेस्रो नम्बरमा रहेको फ्रान्स, १५औं नम्बरमा रहेको सेनेगल, ३१औं स्थानमा रहेको नर्वे र ५६औं स्थानमा रहेको इराक छन्।
समूह ‘जे’
यो समूहमा फिफा वरीयताको पहिलो स्थानमा रहेको विश्वकपको साविक विजेता अर्जेन्टिना, २४औं स्थानमा रहेको अस्ट्रिया, २८औं स्थानमा रहेको अल्जेरिया र ६३औं स्थानमा रहेको जोर्डन छन्।
समूह ‘के’
यसैगरी यो समूहमा पाँचौं स्थानमा रहेको पोर्चुगल, १३औं स्थानमा रहेको कोलोम्बिया, ४५औं स्थानमा रहेको कंगो र ५०औं स्थानमा रहेको उज्वेकिस्तान छन्।
समूह ‘एल’
समूह ‘एल’मा फिफा वरीयतामा चौथो स्थानमा रहेको इङ्ल्यान्ड, ११औं स्थानमा रहेको क्रोएसिया, ३४औं स्थानमा रहेको पानामा र ७३औं स्थानमा रहेको घाना छन्।
२३ औं संस्करणसम्म सहभागिता जनाउने ब्राजिल मात्र
सुरुदेखि २३औं संस्करणसम्म सहभागिता जनाउने एक मात्र देश ब्राजिल हो। जसले सर्वाधिक ५ पटक उपाधिसमेत जितिसकेको छ। ब्राजिलपछि जर्मनी (जो पहिला पश्चिम जर्मनीको नामबाट सहभागिता जनाउने गर्दथ्यो) ले २१ विश्वकपमा सहभागिता जनाउँदा ४ पटक उपाधि जितेको छ।
साविक विजेता अर्जेन्टिना जसले ३ पटक उपाधि जितेको छ, उसले १९ वटा विश्वकपमा सहभागिता जनाएको छ। २३औं संस्करणको सहआयोजक मेक्सिकोले १८ विश्वकपमा सहभागिता जनाएको छ भने ४ पटक उपाधि जितेको इटलीले पनि १८ पटक सहभागिता जनाइसकेको छ। तर, सन् २०१८ देखि २०२६ सम्म लगातार तीनपटक इटली विश्वकपमा छनोट हुन असफल रहँदै आएको छ। इटली एक मात्र यस्तो विश्वकप उपाधि जितेको देश बनेको छ जो लगातार तीनपटक विश्वकपमा छनोट हुन सकेन।
- २३औं संस्करण संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको गरी उत्तारी अमेरिकाका तीन मुलुकमा सञ्चालन हुँदैछ।
- युरोपका १६, एसियाका ९, अफ्रिकाका १०, तीन आयोजक देशसहित उत्तारी अमेरिका, क्यारेबियन र मध्यअमेरिकाका ६, दक्षिण अमेरिकाका ६ र ओसियानाका १ गरी ४८ देशले विश्वकपको २३औं सस्करण खेल्दै छन्।
- पहिलोपटक उज्वेकिस्तान, जोर्डन, केप भेर्दे र कुरासाओले पहिलोपटक विश्वकप खेल्दै छन्।
- फिफा विश्वकपका लागि अमेरिकाका १३ सहरमा रहेका रंगशालाहरूको नामसमेत अस्थायी रुपमा परिवर्तन गरिएको छ।
- विश्व प्रख्यात फुटबलर लियोनल मेसीका लागि २०२६ फिफा विश्वकप सम्भवतः अन्तिम विश्वकप बन्ने अनुमान गरिएको छ।
विश्वकपको पहिलो संस्करण १९३० मा समावेश नभएको इटली १९५८ मा पनि छनोट हुन सकेको थिएन। फ्रान्सले १८ वटा विश्वकपमा सहभागिता जनाइसकेको छ भने अर्को विश्वकप उपाधि जितेको इङ्ल्यान्ड र स्पेनले १६÷१६ पटक तथा उरुग्वेले १५ पटक विश्वकपमा सहभागिता जनाएको छ।
एसियाली मुलुक उज्वेकिस्तान र जोर्डन, करिब ७ लाख मात्र जनसंख्या रहेको अफ्रिकी आइल्यान्ड केप भार्डे र क्यारेबियन टापु कुरासाओले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदै छन्। करिव १ लाख ५६ हजार मात्र जनसंख्या भएको कुरासाओ नेदरल्यान्ड्स स्वशासित टापु हो। यसैगरी, १९७४ पछि हाइटीले विश्वकपमा सहभागिता जनाउँदैछ भने पानामा २०१८ पछि फेरि दोस्रो पटक विश्वकप खेल्दैछ।
इटली जस्तै विश्व फुटबलका प्रभावशाली देश चिली, क्यामरुन, नाइजेरिया, डेनमार्क, पोल्यान्ड, कोस्टारिका, युक्रेन, स्लोभाकिया, रोमानियालगायत देश यस विश्वकपमा छनोट हुन सकेनन्। रूसलाई भने फिफाले बन्देज लगाएको छ। जापान र कोरियामा सन् २००२ मा भएको विश्वकपमा पहिलोपटक सहभागी भएको र ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने चीन यस पटक पनि विश्वकपमा छनोट हुन सकेन।
दक्षिण कोरियाको १२औं सहभागिता
एसियाको ९ देशको सहभागिता हुने यस विश्वकपमा एसियाबाट सबैभन्दा १२ पटक दक्षिण कोरियाको सहभागिता रहँदैछ। एसियाली मुलुकबाट विश्वकपमा सबैभन्दा उत्कृष्ट नतिजासमेत दक्षिण कोरियाले ल्याएको छ । सन् २००२ को सहआयोजक रहेको विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो। दक्षिण कोरियापछि जापानले ८, साउदी अरेबिया, इरान, अस्ट्रेलियाले ७/७ पटक विश्वकपमा सहभागिता जनाएका छन्।
साउदी अरेबिया, इरान र अस्ट्रेलियाको प्रदर्शन विश्वकपमा उत्कृष्ट नरहे पनि जापानले सन् २००२ मा सहआयोजक रहेको समयदेखि २०१०, २०१८ र २०२२ मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। यसपटक पहिलोपटक विश्वकप खेल्न लागेका जोर्डन र उज्वेकिस्तानबाहेक एसियाली मुलुक उत्तर कोरियाले २ पटक सहभागिता जनाइसकेको छ भने यसपटक पनि विश्वकप खेल्ने कतारले योसहित २ पटक विश्वकपमा सहभागिता जनाउनेछ। उत्तर कोरिया सन् १९६६ मा भएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो। चीन, यूएई, इन्डोनेसिया र कुवेतले पनि एक÷एक पटक विश्वकपमा सहभागिता जनाइसकेका छन्।
युवा फुटबलर आकर्षणको केन्द्र
२०२६ फिफा विश्वकपमा विश्व फुटबलका स्थापित सुपरस्टारसँगै नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरूको प्रदर्शनप्रति पनि सबैको चासो बढेको छ। स्पेनका युवा विंगर ल्यामिन यमलको प्रदर्शन चासोको विषय बनेको छ। युरोकप २०२४ पछि अझ खेलमा निखार ल्याएका उनले ला लिगामा १६ गोल र ११ असिस्ट गर्दै बार्सिलोनालाई उपाधि दिलाएका थिए। उनकै कारण स्पेनलाई विश्वकप उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ। फ्रान्सका माइकल ओलिस राम्रो फर्ममा देखिएका छन्। उनले जारी सिजनमा २२ गोल र २६ असिस्ट गर्दै युरोपका शीर्ष ५ लिगका खेलाडीहरूमध्ये आफूलाई अब्बल सावित गरेका छन्। अर्का चर्चित विंगर ओसमान डेम्बेले पनि फ्रान्सका लागि भरपर्दा खेलाडी हुन्।
यसैगरी इङ्ल्यान्डका कप्तान हेरी केन, स्पेनका मिडफिल्डर पेड्री, पोर्चुगलका ब्रुनो फर्नान्डेज तथा नर्वेका मार्टिन ओडेगाड पनि रुचाइएका खेलाडीमा समावेश छन् भने आइभोरी कोस्टका १९ वर्षीय विंगर यन दायमान्डे, इक्वेडरका डिफेन्डर विलियन पाचो, पोर्चुगलका मिडफिल्डर भितिन्हा तथा जर्मनीका अलेक्सन्डर पेभ्लोभिकको प्रदर्शनलाई पनि विश्वकपमा विशेष रूपमा हेरिएको छ।
युवा खेलाडीहरूको प्रदर्शनसँगै विश्व फुटबलका स्थापित सुपरस्टारहरू लियोनल मेसी, काइलिन एमबाप्पे, भिनिसियस जुनियर, जुड बेलिङघम, क्रिस्टियानो रोनाल्डो, नेमार जुनियरलगायत पनि आकर्षणमा पर्ने छन्।
सर्वाधिक गोलको विश्व कीर्तिमान राख्ने अवसर
विश्व प्रख्यात फुटबलर लियोनल मेसीका लागि २०२६ फिफा विश्वकप सम्भवतः अन्तिम विश्वकप बन्ने अनुमान गरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगै ऐतिहासिक ६ पटक विश्वकपमा सहभागिता जनाइरहँदा मेसीका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा आफ्नो नाम राख्ने अवसर मिल्नेछ। त्यसो त यो अवसर फ्रान्सेली युवा स्ट्राइकर काइलिन एमबाप्पेलाई पनि रहेको छ।
यी दुईबीचमा तीव्र प्रतिस्पर्धा रहँदा सर्वाधिक गोलकर्ता बन्ने अवसर सबैभन्दा बढी अर्जेन्टिनी खेलाडी मेसीलाई छ। हाल विश्वकपमा सर्वाधिक १६ गोल गर्ने कीर्तिमान जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा छ।
अर्जेन्टिनाका कप्तान मेसीले विश्वकपमा हालसम्म १३ गोल गरिसकेका छन् भने फ्रान्सका कप्तान एमबाप्पेको नाममा १२ गोल छ। ३८ वर्षीय मेसीले प्रतियोगितामा कम्तीमा ३ गोल गर्न सके भने क्लोजको कीर्तिमान बराबरी गर्न सक्छन् भने ४ गोल गरेमा नयाँ इतिहास रच्नेछन्।
२७ वर्षीय एमबाप्पे अझै आफ्नो करियरको उत्कर्षमा छन्। फ्रान्सलाई पुनः विश्वकप जिताउने लक्ष्य राखेका एमबाप्पेसँग अहिले मात्र होइन, भविष्यका विश्वकपहरूमा पनि क्लोजको कीर्तिमान पार गर्ने पर्याप्त अवसर छ। उनको गोल गर्ने क्षमता र निरन्तर प्रदर्शनका कारण उनलाई कीर्तिमान तोड्ने प्रमुख दाबेदार मानिएको छ।
विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता
- मिरोजस्लाभ क्लोज (जर्मनी) १६ गोल
- रोनाल्डो (ब्राजिल) १५ गोल
- गर्ड मुलर (जर्मनी) १४ गोल
- जस्ट फोन्टेन (फ्रान्स) १३ गोल
- लियोनल मेसी (अर्जेन्टिना) १३ गोल
- पेले (ब्राजिल) १२ गोल
- काइलिन एम्बाब्बे (फ्रान्स) १२ गोल
६ वटा विश्वकपमा सहभागी हुँदै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगै सर्वाधिक विश्वकपको संस्करणमा सहभागी हुने खेलाडीको कीर्तिमान बनाएका लियोनल मेसीका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसरसमेत मिल्नेछ। यी तीन खेलाडीबाहेक क्रोयसियाका लुका मोड्रिक, जर्मनीका म्यानुयल नेयुर र जापानका युटो नागातामोले ५ वटा विश्वकपको संस्करणमा सहभागिता जनाएका छन्। जो अहिले पनि खेल खेलिरहेका छन्। यसअघि मेक्सिकोका आन्टोनियो कार्वाजल, जर्मनीका लोथर म्याथ्युस, मेक्सिकोका एन्ड्रिस ग्वारडाडो, मेक्सिकोकै राफल मार्किजले मेसी, रोनाल्डो र ओचोआसँगै ५ संस्करणमा सहभागिता जनाइसकेका थिए।
ब्राजिलका रोनाल्डोसँगै एक विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको रूपमा गोल्डन बल, सर्वाधिक गोलकर्ताको रूपमा गोल्डन बुट पाउने खेलाडीको सूचीमा रहेका लियोनल मेसीका लागि त्यो अवसरसमेत थप प्राप्त गरी अर्को इतिहास रच्ने मौका छ। रोनाल्डोले १९९८ मा ४ गोलसहित गोल्डन बुट, गोल्डन बल पाएका थिए भने मेसीले २०१४ मा ४ गोलसहित गोल्डन बुट र गोल्डेन बल पाएका थिए। रोनाल्डो अहिले खेल जीवनमा नरहेकाले अर्को कीर्तिमान बनाउने अवसर मेसीलाई छ।
हुनतः ५ संस्करणमा सहभागिता जनाएर छैटौं संस्करण पनि खेल्न थालेका मेसीले सर्वोत्कृष्ट खेलाडीका रूपमा दिइने गोल्डेन बल दुईपटक पाइसकेका छन्। २ पटक गोल्डन बल पाउने एक मात्र खेलाडीको रूपमा रहेका मेसीले २०२२ र २०१४ मा गोल्डन बल पाएका थिए।
फिफाले आधिकारिक रूपमा सर्वोत्कृष्ट खेलाडीलाई गोल्डन बल दिन सन् १९८२ मा सुरु गरेयता १९८२ मा इटलीका पाउलो रोस्सी, १९८६ मा अर्जेन्टिनाका म्यारोडोना,१ ९९० मा इटलीका साल्भातोरे स्चिलाची, १९९४ मा ब्राजिलका रोमारियो, १९९८ मा ब्राजिलका रोनाल्डो, २००२ मा जर्मनीका ओलिभर कान, २००६ मा फ्रान्सका जिनेदिन जिदान, २०१० मा उरुग्वेका डियगो फोर्लान, २०१८ मा क्रोयसियाका लुका मोड्रिकले गोल्डेन बल पाएका थिए।
प्रतिक्रिया दिनुहोस !