जो खेल्दै छन् छैटौं पटक विश्वकप

जो खेल्दै छन् छैटौं पटक विश्वकप
सुन्नुहोस्

अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल २०२६ मा तीन फुटबलरले व्यक्तिगत कीर्तिमान बनाउने अभियानमा छन्।

अर्जेन्टिनाका लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआले लगातार छैटौं विश्वकप खेल्ने कीर्तिमान बनाउने अभियानमा छन्। मेसी र रोनाल्डोले यसअघिका पाँच वटै संस्करण खेलेका छन्। यस पटक उनीहरूले छैटौं विश्वकप खेल्ने कीर्तिमान बनाउने छन्। 

मेक्सिन गोलरक्षक ओचोआले सन् २००६ कै विश्वकपमा स्थान बनाएका थिए। तर, उनले २००६ र २०१० को दुई विश्वकपमा कुनै खेल खेलेनन्। उनले २०१४ देखि २०२२ सम्म लगातार तीन पटक विश्वकप खेलेका थिए।

लियोनल मेसी
अर्जेन्टिनाका सुपरस्टार मेसीले सन् २००६ को विश्वकपमा डेब्यु गरेका थिए। त्यसयता उनले लगातार पाँच विश्वकप खेलेका छन्। ३८ वर्षीय मेसीले पाँच विश्वकपको २६ खेल खेलेका छन् र फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। मेसीले आफ्नो कप्तानीमा सन् २०२२ मा कतारमा भएको विश्वकपको उपाधि अर्जेन्टिनालाई जिताएका थिए। उनी दुई पटक उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बलको हकदारसमेत बनेका थिए। मेसीले विश्वकपमा अहिलेसम्म १३ गोल गरिसकेका छन्।

उनी सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजभन्दा तीन गोलले मात्र पछि छन्। मेसीले सन् २००६ को विश्वकपमा तीन खेल खेल्दै एक गोल गरेका थिए भने २०१० मा पाँच खेल खेलेर पनि कुनै गोल गर्न सकेनन्। यस्तै सन् २०१४ मा अर्जेटिनालाई फाइनल पुर्‍याएका उनले सात खेलमा चार गोल गर्दै गोल्डेन बल जितेका थिए। सन् २०१८ मा अर्जेन्टिनाले क्वार्टरफाइनलसम्मको यात्रा गर्दा उनले चार खेल खेल्दै एक गोल गरेका थिए। सन् २०२२ को कतार विश्वकपमा भने उनले सात खेल खेल्दै सात गोल गरेका थिए।

क्रिस्टियानो रोनाल्डो
४१ वर्षीय क्रिस्टियानो रोनाल्डो यस पटक विश्वकप खेल्ने पाका खेलाडीको सूचीमा छन्। उनले पनि मेसीले जस्तै सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका थिए। त्यसयता रोनाल्डोले लगातार विश्वकप खेल्दै आएका छन्। तर, उनले विश्वकप उपाधि भने जित्न सकेका छैनन्। सन् २००६ मा पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो। तर त्यसपछि भने पोर्चुगल क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेको छैन। यस पटक रोनाल्डो अन्तिम पटक विश्वकप खेल्दै छन् र उनका समर्थकदेखि फुटबलप्रेमीहरू पनि रोनाल्डोले विश्वकप जितोस् भन्ने कामना गरिरहेका छन्। 

रोनाल्डोले विश्वकपमा अहिलेसम्म २२ खेलमा आठ गोल गरेका छन्। सन् २००६ को डेब्यु विश्वकपमै उनले ६ खेल खेल्दै एक गोल गरेका थिए। यस्तै सन् २०१० मा दक्षिण अफ्रिकामा उनले चार खेलमा एक गोल गरे भने २०१४ मा पोर्चुगल समूह चरणबाटै बाहिरिँदा रोनाल्डोले तीन खेल खेल्दै एक गोल नै गरेका थिए। सन् २०१८ मा रूसमा भएको विश्वकपमा रोनाल्डोले चार खेलमा चार गोल गरेका थिए। सन् २०२२ मा कतारमा भएको विश्वकपमा उनले पाँच खेलमा एक गोल मात्र गर्न सके। रोनाल्डो लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो र एक मात्र खेलाडी हुन्।

गुइलेर्मो ओचोआ

४० वर्षीय ओचोआले सन् २००६ मा मेक्सिकोको टिममा स्थान बनाएका थिए। उनले पहिलो विश्वकपमा कुनै खेल खेल्न पाएनन्। २०१० मा पनि उनले कुनै खेल खेल्ने अवसर पाएनन्। सन् २०१४ मा ओचोआले चार खेल खेलेका थिए। यस्तै सन् २०१८ मा  चार खेल नै खेलेका उनले सन् २०२२ को कतार विश्वकपमा उनले समूह चरणको तीन खेल खेलेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.