आजबाट विश्व फुटबल महाकुम्भ

आजबाट विश्व फुटबल महाकुम्भ

काठमाडौं : प्रतीक्षाको घडी सकिएको छ । बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरु हुनेछ । ४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउने छ ।
मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो ।

किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन् । यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन् । प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन् । जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कूल ८ खेल खेल्नेछ । पछिल्लो पटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । जतिबेला मात्र २४ टोली थिए । १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए । यसपाली टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ ।

null

भव्य उद्घाटन समारोह
यस पटकको उद्घाटन समारोह विश्वकप जस्तै विशेष छ । पहिलो पटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ । तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामु प्रस्तुत गर्नेछन् ।
मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन् । त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हुनेछ ।

आयोजक राष्ट्रको चुनौती

घरेलु समर्थकको अपेक्षा र दबाबबीच तीनै आयोजक राष्ट्र विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । जेसी मार्सको प्रशिक्षणमा रहेको क्यानडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकानन जस्ता प्रभावशाली खेलाडी छन् । अल्फोन्सो डेभिजको फिटनेस चिन्ताको विषय भए पनि क्यानडालाई समूह चरण पार गर्ने दाबेदारका रुपमा हेरिएको छ । मेक्सिको पछिल्ला केही वर्षमा संघर्षरत देखिए पनि प्रशिक्षक हाभियर अगुइरेको नेतृत्वमा टोलीको आत्मविश्वास पुनः बढेको छ । विश्वकपअघि सर्बियामाथि ५–१ को प्रभावशाली जितले मेक्सिकोको मनोबल अझ बढाएको छ ।
उता अमेरिकाले माउरिसियो पोचेटिनोको नेतृत्वमा नयाँ उर्जा पाएको छ । सेनेगलविरुद्धको जित र जर्मनीसँगको प्रतिस्पर्धात्मक प्रदर्शनले अमेरिकी समर्थकहरुमा आशा जगाएको छ ।

मेसी र रोनाल्डोका लागि अन्तिम विश्वकप

लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने अभियानमा छन् । प्रतियोगिताका दौरान ३९ वर्ष पुग्ने मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न सकेको छैन । त्यसैले अर्जेन्टिनासामु इतिहास रच्ने अवसर पनि छ ।

४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि अझै पोर्चुगलको टोलीमा छन् । फुटबल करिअरमा विश्वकप उपाधि उनका लागि ‘मिसिङ पज्जल’ हो । बलियो टोली भएकाले पोर्चुगललाई यसपाली उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सका कप्तान किलियन एमबाप्पे अर्का प्रमुख आकर्षण हुन् । क्लब फुटबलमा यस सिजन कठिन समय बिताए पनि विश्वकपमा उनी फेरि चम्किने अपेक्षा फ्रान्स समर्थकहरुको छ ।

त्यस्तै इङ्ल्यान्डका ह्यारी केन करिअरकै उत्कृष्ट लयमा छन् । नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ल्यान्ड ६० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छ । यसैगरी स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा, अनुभवी नेयमार तथा बेल्जियम र पोर्चुगलका नयाँ पुस्ताका प्रतिभाहरुले प्रतियोगितालाई थप रोचक बनाउने अनुमान गरिएको छ ।

null

अमेरिकाको गर्मी

यसपालीको ’हट टपिक ’भनेको मौसम पनि हो । उत्तर अमेरिकाको गर्मीले खेलाडीलाई ठूलो चुनौती दिने अनुमान गरिएको छ । विशेषगरी अमेरिका र मेक्सिकोका केही शहरमा अत्याधिक तापक्रम रहने अनुमान छ । त्यसैले प्रत्येक हाफमा ‘कुलिङ ब्रेक’ अर्थात पानी पिउने विश्रामको व्यवस्था गरिएको छ । प्रशिक्षकहरुले त्यसलाई रणनीतिक छलफलको अवसरका रुपमा समेत प्रयोग गर्नेछन् । लामो क्लब सिजनपछि आएका खेलाडीलाई मौसमसँग भिज्न समय लाग्न सक्छ । जसका कारण प्रतियोगिताको सुरुआती चरणमा केही अप्रत्याशित नतिजा देखिन सक्छन् ।

डार्क हर्सहरुको खतरा
विश्वकप केवल ठूला राष्ट्रहरुको कथा मात्र होइन । हरेक संस्करणमा केही नपत्याउँदो टोलीले अप्रत्याशित नतिजा ल्याइरहेका हुन्छन् । यस पटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगलजस्ता टोलीहरुलाई सम्भावित ‘डार्क हर्स’का रुपमा हेरिएको छ । 

एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे, स्कट म्याकटोमिने र जोन म्याकगिनको स्कटल्यान्ड तथा मोरक्कोले ठूला टोलीहरुलाई चुनौती दिन सक्ने क्षमता राख्छन् । त्यस्तै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डेजस्ता टोलीहरुले पनि विश्व फुटबलमा नयाँ कथा लेख्ने सपना बोकेर मैदान उत्रिने छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.