आन्तरिक पर्यटकीय केन्द्र बन्दै मुहान पोखरी

आन्तरिक पर्यटकीय केन्द्र बन्दै मुहान पोखरी

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोट र ७ वागेश्वरीको सीमामा रहेको मुहान पोखरी पुग्ने आन्तरिक पर्यटकको संख्या बढेको छ। 

मल्लकालमा भक्तपुर नगर क्षेत्रलाई खानेपानीको जोहो गर्न बनाइएको कृत्रिम पोखरीको नाउँबाट उक्त क्षेत्र मुहान पोखरी बन्न पुगेको हो। भक्तपुरकै मुख्य जलाधार क्षेत्र रहेको नगरकोट, वागेश्वरी र सुडालको जंगल क्षेत्रबाट आएका विभिन्न ससाना खोल्सा मिलेर बनेको महादेव खोलाको फेदमा यो पोखरी बनाइएको छ।

वर्षामा उक्त पोखरी भरिएर आएको पानीबाट बन्ने झरनामा नुहाउन मुहान पोखरी पुग्नेको संख्या दैनिक बढिरहेको छ। पछिल्लो समय गर्मी बढेकाले मुहान पोखरी गएर नुहाउने तथा रमाइलो गर्नेको संख्या बढेको बढेयै छ। 

यहाँ अहिले दिनहुँ सर्वसाधारणको चहलपहल देखिन्छ। जसले गर्दा मुहान पोखरी आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सफल भएको छ।

स्थानीय मुहानपोखरी गणेश संरक्षण समितिका अध्यक्ष रमेश केसीका अनुसार अरु दिन करिब पाँच सय जना मुहान पोखरी पुग्छन्। ‘शनिबार र बिदाका दिन यो संख्या पाँच हजार पुग्छ’, अध्यक्ष केसीले भने, ‘गएको तीन वर्षदेखि मुहान पोखरी पुग्ने आन्तरिक पर्यटकको संख्या बढिरहेको छ।’

गर्मीभर झरनामा नुहाउने, एकापसमा पानी छ्यापेर रमाइलो गर्नेको भिडभाड नै हुन्छ। मुहान पोखरीमा पानीसँग खेल्न पैसा लाग्दैन। निजी स्वीमिंग पुलमा जाँदा पैसा तिर्नुपर्छ। त्यसमाथि मुहान पोखरीमा जस्तो रमाइलो र मस्ती गर्न पाइँदैन। मुहान पोखरीमा जति पनि पानीमा खेलेर मज्जा लिन सकिन्छ। यहाँ एकापसमा पानी छ्यापछ्याप गरेर धीत नमरुञ्जेल खेल्न पाइन्छ। सेल्फी लिन पाइन्छ। पानीमा खेलेका फोटोहरु सामाजिक सञ्जालमा देखिएपछि यहाँ पुग्नेहरुको संख्या दिनानुदिन बढ्दो रहेको चाँगुनारायण नपा ७ का वडा अध्यक्ष ज्ञानबहादुर केसी बताउँछन्।

‘मुहान पोखरी भक्तपुरबाट सबैभन्दा नजिकको जलाधार क्षेत्र हो’, उनले भने, ‘यहाँबाट नगरकोट, सुडाल, नाला, साँगा र काठमाडौंको साँखुसमेत पुग्न सकिन्छ। र यी गन्तव्यमा पुगेर यहाँ शीतलता प्राप्त पनि सकिन्छ।’

मुहान पोखरीमा पुग्ने आन्तरिक पर्यटकको संख्या बढेपछि चाँगुनारायण नपाले यहाँ शौचालय निर्माण तथा पसल कवल निर्माण गरिरहेको वडा अध्यक्ष केसीले जानकारी दिए। उनका अनुसार दुई पसल कवल र महिला तथा पुरुषको छुट्टाछुट्टै शौचालय निर्माण भइरहेको छ।

अध्यक्ष केसीले मुहान पोखरी परिसरलाई विस्तार गरी उद्यान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। अबको पाँच वर्षमा उक्त उद्यान तयार भएपछि मुहान पोखरीको मुहारै फेरिने उनको भनाइ छ। 

‘उद्यान निर्माणपछि मुहान पोखरीबाट बार्‍है महिना पानी बग्ने व्यवस्था मिलाउँछौं’, अध्यक्ष केसीले भने, ‘थप पोखरी निर्माण गर्छौँ । मुख्य झरनासम्म पुग्ने पदमार्ग बनाएर त्यसमा ढुंगा छाप्छौं।’

त्यस्तै प्रदेश ३ सरकारले मुहानपोखरीदेखि नगरकोट टावरसम्म पदमाग बनाउन एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको उनले बताए। उक्त बजेटबाट मुहानपोखरीदेखि नगरकोट टावरसम्म करिब चार किलोमिटर पदमार्ग निर्माण गरिनेछ। उक्त पदमार्गमा ढुंगा छापिने अध्यक्ष केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.