प्रदेश ५ का १० स्थानमा उपनिर्वाचनको चहलपहल
दाङ : प्रदेश ५ का १० स्थानमा हुने उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ। एउटा प्रदेशसभासहित ९ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो। प्रदेश ५ मा दाङ, बाके, कपिलवस्तु, प्युठान र रोल्पामा उपनिर्वाचन हुँदैछ। निर्वाचन कार्यालयले मतादाता अध्यावधिक शुरु गरेको छ। राजनीतिक दलले उमेदवार छनोटका लागि प्रारम्भिक छलफल थालेको छ।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेसँगै दाङमा हुने उपनिर्वाचनका लागि राजनीतिक दलभित्र पनि चहलपहल बढेको हो। देशभर ५० पदका लागि हुन लागेको उपनिर्वाचनमा दाङमा एकजना प्रदेशसभा सदस्य र एकजना वडाध्यक्षका लागि निर्वाचन हुँदैछ। दाङ क्षेत्र नं ३ (ख) र घोराही उपमहानगरपालिका–१६ मा उपनिर्वाचन हुन लागेको हो। प्रदेश सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा परी मृत्यु भएपछि दाङ ३ (ख) रिक्त रहेको हो भने घोराही–१६ का वडाध्यक्ष लक्षिण बुढाको रोगका कारण मृत्यु भएको हो।
जिल्लामा क्रियाशील राजनीतिक दलले मंसिर १४ गते दुई पदका लागि हुने उपनिर्वाचनको लागि चुनावी कसरत सुरु गरेका छन्। राजनीतिक दलमा उम्मेदवारका आकाक्षीको नाम सार्वजनिक हुने क्रम बढेको छ। नेकपा, कांग्रेस, राप्रपा, समाजवादीलगायत दलले उपनिर्वाचनको लागि सक्रियता बढाएको छन्। विशेष गरी ठूला दुई दल नेकपा र कांग्रेसमा उम्मेदवारका आकाक्षी धेरै देखिएका छन्। नेकपाको तर्फबाट प्रदेशसभा सदस्य स्व. उत्तरकुमार ओलीकी श्रीमती विमला ओली, पुराना नेता शोभाराम बस्नेत, जिल्ला अध्यक्ष टिकाराम खड्का, जिल्ला सदस्य हुकुम बस्नेतलगायतको नाम उम्मेदवारका लागि चर्चामा छ।
कांग्रेसमा पनि आकाक्षीको पनि सूची लामै छ। कांग्रेस क्षेत्र नं ४ का सभापति जगतबहादुर खड्का, महासमिति सदस्य खीमप्रसाद खराल, केशव आचार्य, जिल्ला सचिव शंकर डाँगी, टिका घर्ती, सुरेश हमाल, मदन रसिक, किरण शाह, गोविन्दबहादुर शाह आकाक्षी देखिएका छन्। यद्यपी दुवै पार्टीले उम्मेदवारका बारेमा कुनै प्रतिक्रिया दिएको छैन।
पार्टीले जित्ने उम्मेदवारलाई टिकट दिने दाङ कांग्रेस जिल्ला सभापति कीर्तिबहादुर खडकाले बताए। चुनावको विषयमा छलफल र बहस सुरु भएको जानकारी दिँदै उनले समयमै उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए। ‘हामी औपचारिक अनौपचारिक छलफलमा जटेका छौं’, उनले भने, ‘मिति घोषणासँग चुनावी सरगर्मी बढेको छ।’
नेकपाका प्रदेश सचिव जगप्रसाद शर्माले नेकपा निर्वाचन र पार्टी एकताका क्रियाकलाप सञ्चालन गरिरहेको बताए। अहिले एकताको क्रियाकलाप बढाएको र निर्वाचन त्यसैसँगै जोडिएको उनको भनाइ छ। उमेदवारका आकाक्षीले भने पार्टीको आधिकारिक धारण आएपछि मात्रै बोल्ने र निर्णयलाई मान्ने प्रतिक्रिया दिने गरेका छन्।
मतदाता रुजु हुँदै
जिल्ला निर्वाचन कार्यालय दाङले उपनिर्वाचनको तयारी तिव्र पारेको छ। कार्यालयले मदताताको नामावली रुजु गरिरहेको जनाएको छ। निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली संकलन बन्द गरी रुजु गर्ने काम भइरहेको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए। जिल्ला भर मतदाता नामावलीमा दर्ता भएको सख्या ३ लाख ६३ हजार ७ सय ३७ जना रहेको उनको भनाइ छ।
दाङमा हुने दुई पदको निर्वाचनका लागि ३४ वटा मतदान स्थल तोकिएको छ। उपनिर्वाचन हुने प्रदेशसभा सदस्य ३ (ख)मा ७० हजार ७ सय ८९ जनाले मतदात नामावली दर्ता गराएका छन्। घोराही उपमहानगर–१६ मा ४५ हजार ७१ जनाले मतदाता नामावली दर्ता गराएका छन्।