बुद्धकालीन सैनामैना पुस्तकमा
बुटवल : बुद्धकालीन सभ्यतासँग जोडिएको रूपन्देहीको सैनामैना क्षेत्रलाई पुस्तकमा उतारिएको छ। संस्कृति तथा पुरातत्वसम्बन्धी विज्ञले बौद्ध र हिन्दु धर्मसँग सम्बन्धित ऐतिहासिकतालाई पुस्तकमा स्थान दिएका हुन्।
‘सैनामैना दर्पण’ नामक पुस्तकले सैनामैनालाई बौद्धकालीन पाँचौं स्मारक मानेको छ। लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह (पण्डितपुर) र सैनामैना बौद्ध स्मारकका रुपमा रहेको विज्ञ समितिले जनाएको छ। सैनामैनामा बुद्धकालभन्दा पनि पुरानो सभ्यता रहेको र त्यो हिन्दु परम्परा अनुरुप रहेको विज्ञको भनाइ छ।
सैनामैना दर्पण सम्पादन समितिका संयोजक झपेन्द्र जीसीले सैनामैनाको सम्बन्ध इतिहास, प्राचिन इतिहास, मध्यकालीन इतिहास र वर्तमान अवस्थासँग जोडिने बताए। वैदिककाल, उत्तर वैदिककाल, पौराणिककाल, प्राचीनकाल, मध्यकालसमेत संक्षेपमा अध्ययनका पाना बनेको उनले बताए।
मञ्जु श्री बोधिसत्व तथा काठमाडौं उत्पत्यकाको निर्माणसँग सैनामैनाको सम्बन्ध भेटिएको उनको भनाइ छ।
सैनामैना क्षेत्रमा पद्मपाणी अवलोकेश्वर वोधिसत्वको संकेत गर्ने योगमुद्रामा रहेको अवस्थामा प्राकृतिक चिकित्सा केन्द्र वौराहा खोला आसपासमा पर्याप्त मात्रामा प्राप्त हुनुले यो क्षेत्र पद्मपाणी वोधिसत्वको महत्वपूर्ण आ श्रमस्थल रहेको कुरालाई पुस्तकमा लेखिएको संस्कृतिबिद् डा. गितु गिरीले बताए।
लुम्बिनी तिलौराकोट, निग्लिहवा, गोटिहवा मात्र नभई प्राचीन कपिलवस्तु भनेको सैनामैना पनि रहेको गिरीको भनाइ छ। शुद्धोदन गाउँपालिका, कन्चन गाउँपालिका, गैडहवा गाउँपालिका लगायतका क्षेत्र पनि कपिलवस्तु राज्य भित्रै हुनुले तिलौराकोट र लुम्बिनीको अध्ययन गर्दा सैनामैना क्षेत्रलाई समाविष्ट गरेर लुम्बिनी गुरुयोजना भित्र समेट्नु पर्ने मागसमेत गरिएको छ।
पुस्तकको वुधबार एक कार्यक्रमकाबीच पूर्व अर्थमन्त्री विष्णु पौडेलले विमोचन गरे। बुद्धकालीन सभ्यतासँग जोडिएको पाँचौ स्थान सैनामैना रहेकाले यसको विकास आवश्यक रहेको उनले बताए।
सैनामैनाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक र सामाजिक पक्षको अध्ययनले पर्यटकीय गन्तव्य निर्माणमा सहयोग पुग्ने सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताए। सरकारले तोकेका १०० पर्यटकीय गन्तव्यमा सैनामैना राखिएको छ। त्यसको पहिचान स्थापित गर्न नगरपालिकाले सैनामैना क्षेत्रको अध्ययन पुस्तक प्रकाशन गरेको हो। सैनामैना क्षेत्र भने अहिले अव्यस्थित रहेको छ। त्यहाँ भेटिएका कपितय मूर्ति लुम्बिनी संग्राहलयमा राखिएको छ भने केही छरिएर रहेका छन्। यसलाई व्यवस्थित गर्न अतिक्रमण क्षेत्र हटाउने योजना नगरपालिकाले बनाएको छ।