भारतीय संस्कृतिको विम्ब

भारतीय संस्कृतिको विम्ब

भारतीय राजनीतिकी आदर्श मानिन्छिन् भने पूर्वीय दर्शन र संस्कृतकी विदूषी पनि थिइन्, भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराज। सुषमा मिर्गौला र मधुमेहबाट पीडित थिइन्। उनको मंगलबार राति हृदयघातबाट निधन भयो। सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। यसपछि उनको स्वास्थ्यमा समस्या देखिरह्यो। स्वास्थ्यको समस्या देखाउँदै सन् २०१९ को लोकसभा चुनावमा उनी उम्मेदवार बनिनन्।

पिता हरदेव शर्मा तथा लक्ष्मी देवीकी पुत्री सुषमा शर्माको जन्म १४ फेब्रुअरी १९५२ मा पञ्जाबको अम्बालामा भएको थियो। भारत विभाजन भएपछि उनका मातापिता वर्तमान पाकिस्तानको लाहोर शहरबाट पञ्जाब आएका थिए। आफ्नो सांस्कृतिक बिरासत जोगाउन हरदेवको परिवार लाहोरबाट विस्थापित भएकाले उनीहरूमा पूर्वीय संस्कृतिप्रति अगाध आस्था थियो। उनीहरूले संस्कृतिविहीन भएर बाँच्नु जीवनकै अभिशाप हुने सम्झाइरहे। त्यसको गहिरो प्रभाव सुषमामा आजीवन पर्‍यो। यसैले उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा पूर्वीय वेषभूषा, पहिरन, संस्कृतिका साथ उनी उपस्थित हुन्थिन्।

सुषमाले अम्बालाकै सनातन धर्म कलेजबाट संस्कृत तथा राजनीति विज्ञानमा स्नातक गरेकी थिइन्। यसका साथै पञ्जाब विश्वविद्यालय, चण्डीगढबाट यिनले कानुनमा उच्च शिक्षा हासिल गरेकी थिइन्। उक्त विश्वविद्यालयले स्वराजलाई सन् १९७३ मा सर्वोच्च वक्ताको सम्मान दिएको थियो। १९७३ देखि यिनले भारतीय सर्वोच्च अदालतमा अधिवक्ताको पदमा रहेर कार्य गरेकी थिइन्। सर्वोच्च अदालतमा काम गर्दै आएका अधिवक्ता स्वराज कौशलसित सन् १९७५ मा प्रेमविवाह भएको थियो।

सुषमा १९७० देखि नै अखिल भारतीय विद्यार्थी परिषद्सित सम्बद्ध थिइन्। भारतमा संकटकाल समाप्त भएपछि स्वराज जनता पार्टीको सदस्य बनिन्। सन् १९७७ मा अम्बाला छाउनी विधानसभा क्षेत्रबाट हरियाणा विधानसभाका लागि उनी विधायक चुनिन्। चौधरी देवीलालको सरकारमा सन् १९७७ देखि १९७९ सम्म राज्य श्रममन्त्री भएर २५ वर्षको अवस्थामा मन्त्री हुने रेकर्ड पनि स्वराजले बनाएकी थिइन्। सन् १९७९ मा २७ वर्षमा उनी हरियाणा राज्यमा जनता पार्टीको अध्यक्ष बनिन्।

सन् १९८० मा भारतीय जनता पार्टी (भाजपा) गठन भएपछि स्वराज यसमा सम्मिलित भइन्। यिनी १९८७ बाट १९९० सम्म अम्बाला छाउनीमा विधायक रहिन् र भाजपा–लोकदलको संयुक्त सरकारमा शिक्षामन्त्री बनिन्। यिनी सन् १९९० मा राज्यसभाको सदस्यका रूपमा निर्वाचित भइन्। सन् १९९६ मा दक्षिण दिल्ली संसदीय क्षेत्रबाट विजयी भइन्। अटल बिहारी वाजपेयी नेतृत्वको १३ दिने सरकारमा सूचनाप्रसारण मन्त्री रहिन्। १९९८ मा दक्षिण दिल्ली संसदीय क्षेत्रबाट पुनः विजयी भइन्। वाजपेयी सरकारमा दूरसञ्चार मन्त्रालयका साथै सूचना एवं प्रसारण मन्त्री भइन्। उनले १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्रीका रूपमा कार्यभार लिइन्।

सन् २०००–२००६ राज्यसभा सदस्य, सन् २०००–२००३ सूचना एवं प्रसारणमन्त्री, सन् २००३–२००४ स्वास्थ्य एवं परिवार कल्याण तथा संसदीय मन्त्री, भइन्। सन् २००६–२००९ राज्यसभा सदस्य, सन् २००९–२०१४ लोकसभामा विपक्षी नेतृ र सन् २०१४–२०१९ केन्द्रीय विदेशमन्त्री रहिन्।

सुषमाले नेपालका दुई व्यक्तित्वलाई निकै आदर गर्थिन्। ती थिए, सरदार यदुनाथ खनाल र अर्का पण्डित रंगनाथ पौडेल।

उनी केन्द्रीय सूचना तथा प्रसारणमन्त्री हुँदा भारतीय फिल्म क्षेत्रलाई उद्योगको दर्जा दिएकी थिइन्। त्यसबाट भारतीय फिल्म उद्योगले बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेकी थिइन्। यसपछि भारतीय फिल्मले अन्तर्राष्ट्रियस्तरमा आफूलाई फैलाउने अवसर पाएका थिए। उनी नेपालप्रति सद्भाव राख्थिन्। नेपालीलाई उनी निकट ठान्थिन्। यद्यपि उनी विदेशमन्त्री भएकै बेला नेपालमा भारतले नाकाबन्दी लगाएको थियो।

२०७२ असोजमा संविधानसभाबाट संविधान पारित गरेपछि नेपालले भारतीय नाकाबन्दी खेप्नुपर्‍यो। नाकाबन्दीले नेपाली जनजीवन अस्तव्यस्त भयो। यसै विषयमा विपक्षी दल कंग्रेसले भारतीय संसद्मा विरोध गरेको थियो। यसको जवाफमा उनले घुमाउरो पाराले नेपालमा नाकाबन्दी लगाएको स्वीकार गरेकी थिइन्। अनौपचारिक भेटघाटमा त यसलाई उनी स्विकार्थिन्। यद्यपि यसप्रति उनी दुःख व्यक्त गर्थिन्। आफूले यथासम्भव प्रयास गरेको उनको भनाइ थियो।

यसै क्रममा उनले भारतीय संसद्मा नेपालका केही नेताको नामै लिएर उनीहरूसँग भेट भएको र यसबारे उनीहरूले गरेका प्रतिबद्धता पूरा नगरेको बताएकी थिइन्। ती नेताहरूले यसबारे सुषमा स्वराज र भारतीय विदेश मन्त्रालयसँग के भनेका थिए, त्यो नेपालका नेताहरूले खुलाएका छैनन्। न त नेपालका नेताहरूले यसको खण्डन गरेका छन्। उनको धारणाअनुसार नेपालका नेताहरूले भारत र पश्चिमा शक्तिसँग फरक फरक प्रतिबद्धता व्यक्त गरेका थिए। दुवै शक्तिसँग निकट हुन दुवैका धारणा सम्बोधन गर्दै आएको बताउँदै आएका थिए।

भारत र पश्चिमाको स्वार्थ एउटै थियो। भारतमा सरकार बदलियो। त्यो बीचमा देखिएका मत भिन्नताबारे नेपाली नेताले केही कुरा सार्वजनिक नगरेको देखिन्छ। नेपालसँग सम्बन्धै नभएका अनावश्यक विषयमा समेत आफ्ना धारणा सार्वजनिक गर्न हतारिने नेपालका नेताहरू यो विषयमा मौन रहनु ठूलो रहस्य देखिन्छ। भारतीय संसद्मा उठेको विषयको चार वर्षसम्म पनि जवाफ नदिनुमा आशंका गर्ने प्रशस्त आधार छन्।उनको संस्कृत भाषाप्रति अगाध आस्था थियो। उनले दक्षिण एसियालाई संस्कृत भाषाले जोड्न सक्छ भन्ने मान्यता राख्थिन्। लामो समय अन्यत्रबाट आएका शक्तिले विभाजन गरेको यो क्षेत्रलाई संस्कृत भाषाले सेतुको काम गर्ने उनको मान्यता थियो। त्यसैले उनले आजीवन संस्कृत भाषालाई प्रवर्धन गर्ने काम गरिन्। यसका साथै भारतमा स्थानीय भाषालाई पनि संरक्षण गर्नुपर्ने पक्षमा थिइन्।

उनले सन् २०१५, जुलाई २ मा थाइल्यान्डको राजधानी बैंककमा आयोजित १६ औं संस्कृत सम्मेलनलाई सम्बोधन गर्न पुगेकी थिइन्। उनले आफू विदेशमन्त्री हुँदा भारतीय दूतावासहरूमा संस्कृतको अध्ययन अनुसन्धान गर्ने वातावरण मिलाएकी थिइन्। उनले नेपालका संस्कृतका विद्वान्हरूले अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै आएकी थिइन्। यसका लागि नेपालका विद्वान्हरूलाई विकसित मुलुकमा अनुसन्धान गर्न पठाउने व्यवस्था गर्न खोजेकी थिइन्। तर यो अगाडि बढ्न सकेन। यसैलाई अग्रता दिन उनले भारत सरकारको सहयोगमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको प्रस्तुतिमा काठमाडौंमा ‘संस्कृत : नेपाल र भारतको साझा सम्पत्ति’ विषयमा सम्मेलन आयोजना गरिएको थियो। चैत ५ गतेदेखि तीन दिनसम्म चलेको सम्मेलनमा दुवै देशका विद्वान् बोलाएर कार्यक्रम आयोजना गरिएको थियो।

सुषमाले नेपालका दुई व्यक्तित्वलाई निकै आदर गर्थिन्। ती थिए, सरदार यदुनाथ खनाल र अर्का पण्डित रंगनाथ पौडेल। कूटनीतिक क्षेत्रमा खनाल त सबैले नाम सुनेका व्यक्ति हुन्। पौडेलको नाम पंक्तिकारले उनैबाट सुनेको हो। त्यसपछि पौडेलप्रति चासो राखे। उनी भीमसेन थापापछि करिब एक वर्ष नेपालका मुख्तियार बनेका थिए। उनले मुलुकी बन्दोबस्त र परराष्ट्र मामिला मात्र हेर्ने अधिकार पाएका थिए। त्यतिखेर दक्षिण एसिया अंग्रेजको कब्जामा रहँदा पनि त्यस्ता कूटनीतिज्ञहरूका कारण नेपाल स्वतन्त्र राष्ट्र रहन सकेको उनको बुझाइ थियो। नेपालका परराष्ट्रविद् र नेताहरूलाई पौडेलका बारेमा के कति जानकारी होला।

यसैगरी दक्षिण एसियामा महिला सशक्तीकरणमा हाम्रा रहनसहन, वेशभूषा, संस्कृति बाधक रहेको तर्क दिइन थालेका थिए। खासगरी भारतीय राजनीतिमा प्रभावशाली व्यक्तित्व प्रधानमन्त्री इन्दिरा गान्धीले युरोपमा पढेकी थिइन्। पाकिस्तानी नेतृ बेनजिर भुट्टोले अक्सफोर्ड र हार्वर्ड पढेकी थिइन्। उनीहरूलाई आदर्श मानेर पाश्चात्य शिक्षा र रहनसहनमा मात्रै महिला अघि बढ्न सक्छन् भन्ने दबदबा रहेको बेला थियो।

नारी अघि बढ्नलाई यी कुरा बाधक होइनन् भन्दै उनले आफ्नै संस्कृति, रहनसहनमा रहेर पनि अन्तर्राष्ट्रिय मञ्चको नेतृत्व गर्न सकिने फरक आदर्श लिएर अघि बढेकी थिइन्। यसकै सेरोफेरोमा रहेर पारिवारिक बिरासत नभए पनि सुषमाले आफूलाई भारतीय संस्कृतिको विम्बको रूपमा आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा सफल देखाउन सकिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.