पाँच वर्षमा पनि बनेन पुल

पाँच वर्षमा पनि बनेन पुल

गल्छी (धादिङ) : ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण दुई पटकसम्म थपिएको म्याद पनि कामै नगरी सकिएको छ। निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि त्रिशूली नदीमा पक्की पुल निर्माण भएकोे छैन। धादिङको गल्छी गाउँपालिका– १ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ केउरीनी जोड्न त्रिशूली नदीमा निर्माणाधीन पुल अझै अधूरै छ।

पुल निर्माण गर्न सडक डिभिजन कार्यालय भरतपुरसँग सपना–हिन्दुम एन्ड थोकर–नागार्जुन कन्स्ट्रक्सन जेभीले २०७१ असार ३१ गते सम्झौता गरेको थियो। २०७४ असार मसान्तसम्ममा पुल निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण कार्य आधा पनि नसकिएपछि सडक विभागले दुई पटकसम्म म्याद थप गरेर २०७६ असार मसान्तसम्म निर्माण सक्न निर्देशन दिएको थियो।

तर, ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरवाहीको कारण दुई पटकसम्म थपिएको म्याद पनि कामै नगरी सकिएको छ। म्याद सकिएको पनि तीन महिना नाघिसक्दा पुल निर्माणको काम ७५ प्रतिशत मात्रै सकिएको सडक डिभिजन कार्यलय भरतपुरले जनाएको छ। बर्खामास भएकाले त्रिशूली नदीमा दिनहुँ बाढी आइरहँदा पुल निर्माण कार्य थप प्रभावित भएको छ। ‘पुल अलपत्र छ, घर निर्माणका सामानहरु र खाद्यान्न सामान झोलुंगे पुलबाट तारेर मानिसले बोक्नुपर्ने अवस्था छ, अधुरो पुलको संरचना हेरेर मात्रै कति बस्नु, न पुल बनाउँछन् न त ठेकेदारलाइ कारबाही भएको छ’, स्थानीय विश्वराम ढुंगानाले गुनासो पोखे।

समयमै पुल निर्माण हुन नसक्दा फोस्रेटार हुँदै धादिङको पुरानो सदरमुकाम सुनौलाबजार सम्मका स्थानीयले सामान ओसारपसार गर्न सास्ती खेप्दै आएका छन्। भूकम्पपछिको घरको पुननिर्माणका लागि स्थानीयले सबै सामान झोलुंगे पुलबाट ओसार्न बाध्य भएका छन्। मोटरबाटोबाटै लैजान परेको खण्डमा ४ घण्टासम्म लगाएर नुवाकोट रातमाटेको बाटो प्रयोग गर्न स्थानीय बाध्य छन्। ‘पुल निर्माण कार्य सुरु भएपछि स्थानीयमा मोटर चढेरै ओहोरदोहोर गर्न पाइने भनेर खुसी छाएको थियो’, फोस्रेटारका स्थानीय हरिप्रसाद खतिवडाले भने, ‘ठेकेदारको ढिलासुस्तीले स्थानीयको खुसी निराशामा परिणत भएको छ।’

चैत वैशाखतिर बर्खामास लाग्ने बेलामा १०÷१२ जना कामदार आएर काम गर्ने र जेठको दोस्रो साताबाटै पानी पर्न थालेपछि काम गर्न छाड्ने गरेकाले निर्माणमा ढिलासुस्ती भएको स्थानीयले बताएका छन्। ‘कामदार पनि धेरै जना लगाएको हुन्न’, एक स्थानीयले भने, ‘हरेक वर्ष १÷२ महिना काम गरेजस्तो गर्छन्, यही पाराले कहिले निर्माण कार्य सकिने होला।’ सरकारले समयमा नै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने भनेर पटक–पटक चेतावनी दिँए पनि उक्त पुल निर्माणको जिम्मा दिइएको ठेकेदार कम्पनीलाई कुनै पनि कारवाही नभएको स्थानीयहरुको गुनासो छ।

पुलको जम्मा दुई सय मिटर मात्रै ढलान भएको छ। गत चैत्र १२ गते १ सय मिटरको एक खण्ड ढलान गर्ने तयारी भइरहेका बेला अघिल्लो दिन तीव्र बेगको हावाहुरीले ढलान गर्ने तयारी अवस्थामा राखिएको रड सहितको फ्रेम भत्काइदिएको थियो। उक्त घटनाले पुल निर्माण गर्ने अवधि लम्ब्याइदिएको साइड इन्चार्ज सुरेशबाबु पाण्डेले बताए। ढलान गर्ने तयारी अवस्थामा राखिएको फ्रेम सवै भत्काइदिएपछि ५० लाख हाराहारीमा क्षति भएको ठेकेदार कम्पनीको दाबी रहेको छ।

निर्माण सम्पन्न भएपश्चात एक सय ९२ मिटर लामो रहने पुल त्रिशूली नदीमाथिकै सबैभन्दा लामो मोटरेवल पुल हुनेछ। प्रिस्टे«स (आरसीसी) प्रविधिको पुल १५ करोड ११ लाख ३५ हजार पाँच सय ६४ रुपैयाँमा बनाउन ठेक्का लगाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.