भलिबलले पुर्यायो तोक्पेगोला
ताप्लेजुङ : पाँचथर नागीका कृष्ण चापागाईंले तोक्पेगोलाको नाम सुनेका मात्रै थिए। दुर्गम भएका कारण त्यहाँसम्म पुग्ने कल्पनासम्म गरेका थिएनन्, उनले। तर, भलिबलका खेलाडी कृष्णलाई त्यही भलिबलले विकट गाउँमा पुर्याइदियो। ‘तीन दिन हिँडेर यहाँ आइपुग्दा थकानको कुनै अनुभूति भएन,’ भलिबल टोलीसहित तोक्पेगोला पुगेका उनले भने, ‘यति धेरै उचाइमा आएर भलिबल खेल्न पाउनुलाई सौभाग्य ठानेको छु।’
पहिलोपटक तीन हजार सात सय मिटरको उचाइमा खेल्न पाउँदा टिम नै उत्साहित भएको संखुवासभाका खेलाडी अरुण तामाङ बताउँछन्। ‘वरिपरि हिमाल र त्यो हिमालको कापबाट झरेको झरनासँग साक्षात्कार गर्दै भलिबल खेल्दा छुट्टै आनन्द पाएको छु,’ तामाङले भने, ‘बाटोमा त यहाँ आएर खेल्न सकिन्छ जस्तो नै लागेको थिएन, हिमाली माटोले बाटोको थकान सबै भुलायो।’
छिनमै कुहिरोले छपक्क छोप्छ, रिमझिम रिमझिम पानी पर्छ र छिनभरमै झलमल्ल घाम लाग्छ। घाम, कुहिरो र पानीले लुकामारी गरिरहने मौसम छ, चीनसँगको सीमावर्ती गाउँ तोक्पेगोलामा। मिक्वाखोला गाउँपालिका–५ मा रहेको यो पर्यटकीय गाउँमा भलिबल खेल्न ताप्लेजुङसहित संखुवाभसा, तेह्रथुम र पाँचथरका खेलाडी पुगेका छन्। साउन २१ देखि सुरु भएको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष ग्याञ्जे शेर्पाले जानकारी दिए।
यहाँ सीमान्तकृत समूहमा सूचीकृत तोक्पेगोला (स्थानीय भाषामा ढोप्क्या भनिने) जातिको बसोबास छ। मेरिङ्देनका हर्क लिम्बू पनि हिमालको फेदीमा भलिबल खेलको अनुभव सँगाल्न मेवाखोलाको तीरैतीर तोक्पेगोला पुगेका छन्। ‘अन्य ठाउँमा त पहिलेदेखि नै खेलेको हो तर यति उचाइमा कहिल्यै खेलेको थिइनँ’, लिम्बूले भने, ‘यहाँको मैदान प्रवेश गरेपछि साँच्चिकै फरक स्फूर्ति र ऊर्जा थपिएको महसुस भयो।’
प्रतियोगिताको विजेतालाई नगद ५५ हजार र उपविजेतालाई ३५ हजार रुपैयाँ पुरस्कार राखिएको छ। भलिबलसँगै मिनि म्याराथन, हाँडी फुटाउने, डोरी तान्ने जस्ता खेल पनि राखिएको अध्यक्ष शेर्पाले बताए।
तोक्पेगोला जातिको ऐतिहासिकस्थलमा हरेक वर्ष नागपञ्चमीको अवसर पारेर तोक्पेगोला जात्रा र खेलको आयोजना गरिन्छ। पहिले पूजाआजा मात्रै गरेर जात्रा मनाइने भए पनि गत वर्षदेखि खेलको आयोजना गरिएको वडाध्यक्ष डण्डु लामाले बताए। खेलकुदका कार्यक्रम राखेपछि मेलामा आउनेको संख्या उल्लेख्य बढेको उनले बताए। ‘खेलकुदको माध्यमबाट यहाँ रहेका सयौं पोखरी, झरना, छहरा, जडीबुटी र पशुपालनको प्रवर्दनगर्ने हाम्रो उद्देश्य हो,’ लामाले भने, ‘खेल्नकै लागि आएका खेलाडीले यहाँको प्रचार गरे भने राम्रो हुन्छ।’ दुर्गममा जात्रा सञ्चालन गर्न निकै कठिनाइ रहेको लामाको बताए। ‘अरू गाउँबाट धेरै टाढा रहेको गाउँमा खेलकुदसहितको कार्यक्रम आयोजना गर्नु निकै चुनौतीपूर्ण छ’, उनले भने, ‘भौगोलिक अवस्थाका कारण मैदान राम्रो छैन, यति हुँदाहुँदै पनि खेलाडीको उपस्थिति र उत्साहले सुगम स्थानको भलिबल प्रतियोगिताजस्तै बनेको छ।’ लामाले यो नेपालकै सर्वाधिक उचाइमा आयोजना गरिएको भलिबल प्रतियोगिता भएकोसमेत दाबी गरे।
हिमालको फेदमा खेल सञ्चालन गर्न पाउँदा भलिबलप्रति गर्व महसुस भएको भलिबलका क्षेत्रीय रेफ्री प्रेम लोङ्वाले बताए। ‘ताप्लेजुङसहित नेपालमा यस्ता ओझेलमा परेका सुन्दर ठाउँहरू धेरै छन्, ती ठाउँको प्रवर्दनगर्न भलिबलले पनि ठूलो भूमिका खेल्ने रहेछ’, उनले भने।
ताप्लेजुङमा पछिल्लो समय भलिबलको क्रेज बढ्दै गएको छ। तीन लाख रुपैयाँसम्म पुरस्कार राशिका प्रतियोगिता हुन थालेका छन्। प्रत्येक गाउँमा सानाठूला प्रतियोगिता भइरहन्छन्।