चमेलियाको समस्याले विद्युत अनियमित, धनगढीबासी आक्रान्त
धनगढी : धनगढीमा विद्युत अनियमित हुने प्रक्रिया यथावत छ। विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरिया ग्रीडका अनुसार लाइन जोड्न धनगढीको लाइन काट्नुपर्ने हुँदा विद्युत अनियमित हुने गरेको हो। 'सुदूरपश्चिमको सबैभन्दा पावर खपत हुने क्षेत्र धनगढी हो, अत्तरिया ग्रीडका प्रमुख सतिसकुमार कर्णले भने, 'चमेलिया जोड्नका लागि धनगढीको लाइन कटअप गर्नुपर्ने बाध्यता छ। होइन् भने भोल्टेज पोग्दैन् र स्टार्ट नै हुँदैन।'
सिस्टममा गडबढी र नदीमा पानीको बहाव बढेमा चमिलायाको जलविद्युत बन्द हुने गरेको उनले बताए। 'कटअप भएको लाइन फेरि जोड्नका लागि लामो समय लाग्छ,' उनले भने, 'यो समस्या समाधानका लागि केन्द्रसँग समन्वय गरी क्पेसिटर बैंक राख्न तयार भएको छ। त्यसपछि विद्युत कटौती कम हुन्छ होला।'
धनगढीमा प्रदेशकै आधाभन्दा बढी विद्युत खपत हुने गरेको अत्तरिया ग्रिडको भनाई छ।धनगढीमा २४ घण्टामा २० पटक भन्दा बढी समय विद्युत लाइन काटिने गर्छ। विद्युतमा समस्या आउँदा एक पटकमा २० देखि २५ मिनेटसम्म लाइन आउन समय लाग्ने गरेको विद्युत प्राधिकरणले जनाएको छ।
विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका सुपरभाइजर दिवस यादवले विद्युत भार बढेका कारण ओभरलोड भई विद्युत अनियमित भइरहेको बताए। उनले यसरी ओभरलोडले सिधै चमेलियामा समस्या उत्पन्न हुने गरेका कारण छिन-छिनमा लाइनमा समस्या हुने गरेको बताए ।
धनगढीमा ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना अन्तर्गतको विद्युत प्रवाह गरिएको छ। भारतबाट ३० मेगावट विद्युत आयात भइरहेको भए पनि त्यो विद्युत लालपुरभन्दा उतै नै खपत हुने गरेको प्रधिकरणको भनाई छ।
कतिपय अवस्थामा लाइन जाँदा विद्युत प्राधिकरणका कर्मचारीसमेत अनभिज्ञ बन्ने गरेका छन्।विद्युत ओभरलोड हुँदा चमेलियाबाटै लाइन काटिने हुँदा धनगढी वितरण केन्द्रका कर्मचारी यसबारे बेखबर नै हुन्छन्।
विद्युत वितरण केन्द्र धनगढीका प्रमुख धिरेन्द्र यादवले लाइन जानुको कारण नसोधेर आफूलाई पनि थाहा नहुने गरेको बताए । चमेलियाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि यस वर्ष गर्मीयाममा समस्या देखिएको छ। यसअघि भारतबाट बिजुली ल्याइएकाले गत वर्ष यस्तो समस्या नदोहोरिएको वितरण केन्द्र प्रमुख यादवले बताए। चमेलियाको बिजुली आएपछि भारतबाट आउने बिजुली कटौती गरेको हो। धनगढीमा मात्रै अहिले दैनिक १४ देखि १५ मेगावाट विद्युत खपत हुने गरेको प्राधिकरणले जनाएको छ।
धनगढीमा वैशाखदेखि नै विद्युत अनियमित भइरहेको छ। सुदूरपश्चिममा पावर हाउस नथपिदासम्म गर्मीमा यो समस्या रहिरहने धनगढी वितरण केन्द्रका प्रमुख यादवले भनाई छ। धनगढीमा ट्रान्सफर्मरको अभावले पनि बत्ती जाने समस्या पनि भइरहेको छ।
धनगढीमा अहिले साढे चार सय ट्रान्सफर्मर रहेको प्राधिकरणले जनाएको छ। अझै धनगढीमा सय केभीए र २ सय केभीएका ५० र ५० वटा ट्रान्सफर्मर आवश्यक रहेको सुपरभाइजर दिवस यादवले बताए।
नगरबासीले भने विद्युत अनियमित भइरहेपनि विद्युत प्राधिकरणले खासै ध्यान नदिएको आरोप लगाएका छन्।पावर कम हुने र पटक-पटक बत्ती आउने-जाने भइरहँदा टीभी, फ्रिजलगायत विद्युतीय उपकरण बिग्रिने गरेको स्थानीयको भनाइ छ।