सुल्झेला कि बल्झेला जम्मु-कश्मीर ?

सुल्झेला कि बल्झेला जम्मु-कश्मीर ?

अन्ततः जम्मु-कश्मीरको स्वतन्त्र मुलुक हुने ख्वाव साउन २० बाट तुहिएको छ । सन् १८४६ मा डोगराका शासक गुलाब सिंहले ७५ लाख रुपैयाँमा तत्कालीन इस्ट-इन्डिया कम्पनीसँग खरिद गरेका जम्मु-कश्मीरमा सय वर्षदेखि उनकै पुस्ताले शासन गर्दै आएको थियो । डोगरा वंशकै हरि सिंह भारत-पाकिस्तान स्वतन्त्रताका बेला जम्मु-कश्मीरका महाराजा थिए । उनले प्रिन्स्ली स्टेट (रजौटा राज्य) लाई दिइएका विकल्प (भारत, पाकिस्तान र स्वतन्त्र) मध्ये तेस्रो अर्थात् स्वतन्त्र रहने विकल्प रोजे । उनले यो विकल्प रोजेर पनि आफ्नो राजकाज बचाउन सकेनन् ।

डोगरा शासकले सय वर्ष राज गरेको जम्मु-कश्मीरमा अंग्रेजले भारत छाड्ने क्रममा छुट्टै मुलुकका रूपमा छाडेका थिए । यो अंग्रेजले भारत-पाकिस्तानबीच एउटा घाउ रोपेको पनि भनिन्छ । जसरी भारतमा अंग्रेज धपाउन ‘भारत छोडो’ आन्दोलन भएका थिए, त्यसैको नमुना कश्मीरमा पनि भएको थियो । ‘कश्मीर छोडो’ आन्दोलन चर्किएको थियो । अंग्रेज लखेट्न जुन समुदाय सक्रिय थिए, त्यसलाई साथमा लिएर त्यहाँका महाराजलाई लखेट्ने समाजवादी राज्य सञ्चालन गराउने आन्दोलन अघि बढ्न थाल्यो । महाराजाहरूले लगाउँदै आएको अधिक करका कारण जनता आजित बनेका थिए । तिनै जनतालाई

साथमा लिएर तत्कालीन राजनीतिक दल मुस्लिम कन्फ्रेरेन्स (नेसनल कन्फ्रेरेन्स) ले शान्तिपूर्ण आन्दोलन चर्काएको थियो । त्यतिबेलै राजाविहीनको समाजवादी व्यवस्थाको माग भइरहेको थियो । नेता शेख अब्दुल्लाह (फारुक अब्दुल्लाहका बुवा) ले त्यसको नेतृत्व गरेका थिए । मुलुकभित्रै जनता आन्दोलनमा रहँदा महाराजा सिंह थप दबाबमा थिए । उनी मुलुकभित्रको शान्ति मत्थर अनि साथमा दुवै छिमेकी भारत र पाकिस्तानले आफूमा गाभ्न गरेको प्रयासको मारमा परेका थिए । आन्तरिक राजनीतिमा समस्या देखिन थालेपछि अमेरिकी साथ रहेको पाकिस्तानले कश्मीरमा हमला गर्ने नीति लियो । कबाइली र कबाइलीको भेषमा सैनिकहरू घुसपैठ गराएर कश्मीरलाई आफ्नो अधीनमा लिन खोजे । पाकिस्तानले त्यहाँका केही जनताको साथ लिएर उनीहरूले आक्रमणको नीति बनाए । तत्कालीन राजा हरि सिंह (कंग्रेस आई नेता करण सिंहका बुवा) ले आफ्नो सेना कम भएका कारण पाकिस्तानसँग लड्ने क्षमता राखेनन् । अनि भारतको मद्दत मागे । त्यही मद्दत कश्मीरका लागि भार पर्‍यो ।

भारतीय नेतृत्वले रक्षा, परराष्ट्र र सञ्चार आफूमा निहित हुने सर्तमा मात्र सेना पठायो । अन्ततः त्यही सर्तको आधार कश्मीर भारतमा मिल्यो । भारतमा मिल्दा पनि कश्मीर छुट्टै मुलुक झैं आफ्नो झण्डा अनि प्रधानमन्त्री रहने सर्तमा मिलेका थिए । त्यहाँ भारतको संविधान लागू हुन्थेन । दोस्रो विश्वयुद्धले थिलोथिलो भएको अंग्रेजले यो क्षेत्र छाड्नुपर्ने भएपछि पाकिस्तान र भारत मात्र बनाएन, उसले केही राज्यहरू पनि ‘प्रिन्स्ली स्टेट’ को रूपमा छाड्यो । त्यहीमध्येको एक हो- जम्मु-कश्मीर । बंगालका राजालाई धपाएर भारतीय उपमहाद्वीपमा अंग्रेजको प्रवेशसँगै यो क्षेत्रका धेरै राज्य उथलपुथल भएका थिए । उनीहरूले नेपालमा पनि दागा नधरेका होइनन् ।

केही भूभाग नेपालको पनि भारतमा मिलाएर छाडे । जुन फर्कने समयमा नेपाललाई दिएनन् । उल्टै सिक्किम छुट्टै राज्यका रूपमा छाडेर गए । अंग्रेजको अगाडि शक्तिशाली मुगल साम्राज्यसमेत घुँडा टेक्न बाध्य भयो । नेपालले यो भूभाग बचाएको थियो । मुगल साम्राज्य हारेपछि अन्य सबै राज्यले अंग्रेजसँग सम्झौता गरे र रहे । चतुर अंग्रेजले आरम्भमा लडे पनि पछि राज्यभित्रैका समूहलाई जुधाएर राज गरिरहे ।

सन् १९०० दोस्रो दशकबाट भारतमा स्वतन्त्रताको आन्दोलन अघि बढ्दै गरेको हो । आन्दोलन अघि बढेको दुई दशकमा भारतीयहरू अंग्रेजलाई फिर्ता पठाउन सफल त भए, तर कहिल्यै निको नहुने घाउ लगाएर भारत-पाकिस्तान छुट्ट्याउँदै केही ‘प्रिन्स्ली स्टेट’ छाडेर गए । सात दशकदेखि चर्चामा रहेको जम्मु-कश्मीरमा जब हरि सिंहले भारतमा गाभे, त्यसपछि जम्मु-कश्मीरमा भारत र पाकिस्तान द्वन्द्व चलिरह्यो । तर पनि त्यहाँका जनताले आफू स्वतन्त्र हुने सपना देख्न छाडेका थिएनन् । तर सोमबार अपरान्हदेखि स्वतन्त्र मुलुकको सपना देख्न कहिल्यै नसक्ने गरी तुहिएको छ । पूर्णतः भारतशासित राज्यको रूपमा रह्यो । विशेष राज्यबाट दिल्लीशासित राज्य बन्यो, त्यो पनि दुई चीरा (जम्मु-कश्मीर र लद्दाख) सहित । सोमबार दिउँसोसम्म यो राज्यको आफ्नो छुट्टै झण्डा थियो । संविधान थियो । भारतीयले कश्मीरमा अचल सम्पत्ति खरिद गर्न पाउँदैनथे । त्यहाँका नागरिकले भारतीयसँग बिहे गरे त्यो सम्पत्ति ल्याउन पाउँदैनथे । अब यस्ता सवाल इतिहास बनेका छन् ।

जम्मु-कश्मीरका केही सरकारी अड्डाबाहेक अन्यमा भारतीय झण्डा फहराउँदैनथ्यो । अब सरकारी अड्डामा तिरंगा फहराउँदै चौकचौकमा तिरंगा हुनेछ । र, तिरंगाले उनीहरू स्वतन्त्र हुने आशालाई गिज्याइरहनेछ । अझसम्म त्यहाँका नागरिकको प्रतिक्रिया कस्तो हुने अझै स्पष्ट छैन । विश्व समुदायले भारतको विरोध गर्न मात्र होइन, कश्मीरी जनताका पक्षमा बोल्नसमेत सकिरहेका छैनन् । चीन आफैं कश्मीर खाएको हुनाले त्यहाँ बोल्न सकेको छैन । फेरि कश्मीरको नक्कल गर्दै हङकङ बेलायतसँग आफूले लिएको छ । चीनले अन्य राज्यमा पनि नीति भने केन्द्रलाई नै बलियो बनाउँदै लैजाने नीति लिइरहेको अवस्था छ । सायद यसैले होला उसले लद्दाखको विषयमा मात्र बोलेको छ । यसको कारण हो, त्यहाँको सीमा ।

बहस : भारतले किन यति हतार गर्‍यो ?

कश्मीरका अन्तिम राजाका छोरा तत्कालीन युवराज करण सिंहले सरकारको कदमलाई विरोध गरेका छैनन् । उनले कश्मीरी नागरिकको हित बढी देखेको बताएका छन् । उनी प्रतिपक्ष दल कांग्रेस आईका नेतासमेत हुन् । उनको धारणाले कंग्रेसको धारणामा पनि बाँडिएको देखिन्छ । यद्यपि प्रतिपक्ष कांग्रेसले भने यस विषयलाई संविधानको हत्या गरेको भन्दै आएको छ । बलियो सरकारको विधिमूलक कदम भन्दै अन्य प्रतिपक्ष वा सत्तामा रहेर पनि मोदीका कट्टर विरोधीहरूले साथ दिइरहेका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि भारतलाई चिढ्याउन चाहेका छैनन् । छिमेकी मुलुकहरू श्रीलंका, बंगलादेश र माल्दिभ्सले भारतलाई नै साथ दिइरहेका छन् ।

निकै ठूलो स्रोत र सौन्दर्यले पूर्ण यो क्षेत्रलाई भारतीय जनता पार्टी (बीजेपी) सरकारको निर्णयले स्थिरता वा अस्थिरता कुन दिशा दिने हो, त्यो अझै स्पष्ट छैन । पूर्णतः भारतीय सैन्यनियन्त्रित यो क्षेत्र त्यसबाट खुला हुँदै गएपछि जनताले दिने प्रतिक्रियामा निर्भर रहने धारणा प्राध्यापक श्रीधर के खत्रीको छ । विश्वमै सबैभन्दा बढी सैनिकीकृत भएको यो क्षेत्रलाई भारतले शान्त र समुन्नत बनाउने भन्दै यो कदम चालेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो चुनावी घोषणालाई कार्यान्वयनमा ल्याउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिको सीमामा पर्खाल लगाउने नीति झैं एकलव्य दृष्टि देखिएको छ । यसलाई राष्ट्रको हित हेर्दा निकै राम्रो दिशाको रूप र कश्मीरका जनताको तवरबाट हेर्दा विशेष अधिकार गुमेको आधारमा विश्लेषण गर्न सकिन्छ । कश्मीरका जनता चिढ्याउने र केन्द्रको राजनीतिमा पनि तरंग ल्याउने काम उनले यहाँ गरे । यद्यपि कश्मीरको विषयमा भारतमा सबैको मतैक्य थियो । पाकिस्तानसँग सीमा जोडिएको र त्यहाँबाट अफगानिस्तानसम्म रहेकाले तालिवानले अमेरिकासँग शान्तिपूर्ण अवतरण गरेको दिनमा यस क्षेत्रमा अशान्ति बढ्ने आशंका भारतको थियो ।

पछिल्लो समय जब पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका पुगेर राष्ट्रपति ट्रम्पसँग वार्ता गरे । त्यसलगत्तै ट्रम्पले कश्मीरमा मध्यस्थता गर्ने बताए । यसले भारत झस्कियो । झस्किनुको कारण थियो, ‘पाकिस्तानले अफगानस्तिानका तालिवानसँग वार्ता गर्न अमेरिकालाई सघाउने र अमरिकाले कश्मीरमा पाकिस्तानलाई सघाउने सहमति भएको हुनसक्ने आशंका ।’ यस्तो हो भने पाकिस्तान र भारतबीच सहमतिको केन्द्रमा अमेरिकाले डोर्‍याउने वा त्यहाँ झन् अशान्ति फैलिन सक्ने अवस्था थियो । जसबाट झस्किएको बलियो सरकारले पूर्ववर्त सर्त र आधार नै खारेज गरेर चुनावी नारालाई मूर्तरूप दिए । अन्यथा किन आफ्नो बजेट सेसन बढाएर भए पनि यति द्रूत गतिमा धारा पारित गर्दै प्रक्रिया अघि बढ्यो ।

धारा ३७० र ३५ ए अनुच्छेद खारेज गर्ने प्रस्ताव संसद्मा होहल्लाबीच पारित हुँदै थियो । अनि राष्ट्रपति रामनाथ कोविन्दबाट लाहछाप लगाउनुको कारण अन्य कुनै नौलो होइन । भारतले हतारोमा आफ्नो ‘ब्याक च्यानल कूटनीति’ को भरपूर उपयोग गर्दै कश्मीरलाई केन्द्रशासित बनायो । विशेष राज्यलाई घटाउँदै केन्द्रशासित दुई राज्य तय गर्‍यो । यतिखेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विरोध नै गरे पनि आर्थिक मन्दीमा परिसकेको पाकिस्तानले कश्मीरमा लड्न सक्ने अवस्था पनि छैन । भारत पनि त्यो क्षेत्रमा थप सैनिकीकरणमा ठूलो खर्च गर्न चाहँदैन ।

अनि जम्मु-कश्मीरबारे चीन धेरै बोल्नै सक्दैन । उसले भारत र पाकिस्तानबीच जम्मु-कश्मीरको विषयमा द्वन्द्व भइरहँदा केही भूभाग आफूले कब्जा गरेको छ । अनि उसले हङकङमा गरेको शासन प्रणाली र केन्द्र त्यहाँ हाबी हुन लागेको विषय स्मरण गर्छ । त्यस्तै उसले सिन्ज्याङमा पनि सहज हुने अवस्था छ । एक राज्य दुई प्रणालीमा शासित कार्य चीनमा पनि छ । अनि भारतसँगको दुईपक्षीय व्यापार पनि यसमा पर्छ । अन्य शक्ति मुलुकलाई पनि भारतले ‘कन्भिन्स’ गरिसकेको देखिन्छ । भारत विश्वको ठूलो बजार हो । त्यो बजार बिगार्न कोही पनि चाहँदैन ।

प्रतिपक्षको स्वर

नेता करण सिंहको धारणा फरक आए पनि प्रतिपक्ष एवं भारतीय कांग्रेसले भारतको संविधानको हत्या गरेको बताएका छन् । तर, संसद्मा बलियो उपस्थिति रहेको भारतीय जनता पार्टीका नेताहरूले ऐतिहासिक दिनको रूपमा संज्ञा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि केन्द्र सरकारको निर्णयमा समर्थन गरे । अन्यको पनि स्वर मधुर नै छ ।

जम्मु-कश्मीरका नेताहरूले भारतीय लोकतन्त्रमा कालो धब्बा लागेको टिप्पणीहरू आइरहेका छन् । जम्मु-कश्मीरका जनतामाथि बीजेपीले गरेको विश्वासघात भनिरहेका छन् । उनीहरूले यसले खतरनाक परिणाम निम्तिने र विश्वकै ठूलो लोकतन्त्रको धज्जी बीजेपीले उडाएको समेत भनेका छन् । विभिन्न भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भारतले आफूलाई लोकतान्त्रिक मुलुक भनेर कसरी विश्व समुदायमा गर्व गर्न सक्छ ? उनीहरूको प्रतिप्रश्न छ । पूर्वमुख्यमन्त्रीद्वय उमर अब्दुल्ला र महबुबा मुफ्तीले यसलाई कश्मीरी जनताको मर्ममाथि भारतीय सरकारको प्रहार हो र यो हाम्रा लागि ठूलो विश्वासघात पनि । उनीहरूको धारणाले त्यहाँ खासै अर्थ राखेको देखिएको छैन । जनता शान्ति चाहन्थे । त्यसका लागि भएको पहलका रूपमा जनताले लिए यस्ता स्वर मत्थर हुने धारणा केन्द्र सरकारको छ ।

प्रधानमन्त्री मोदीले राष्ट्रको नामका सम्बोधन गर्दै जम्मु-कश्मीरको विकास र शान्तिका लागि यो कदमको विकल्प नभएको बताएका छन् । निकै गम्भीर ढंगले उनले प्रस्तुति दिँदै ३७० ले जम्मु-कश्मीरलाई विनाश दिएको तर अब विकास दिन सरकार लागेको बताएका छन् । अझै त त्यहाँ खुला हिँडडुल गर्न सक्ने अवस्था छैन भने सञ्चार बन्द छ । संयुक्त राष्ट्रसंघले मानव अधिकारको उल्लंघन भएको भन्दै यसमा सचेत रहन विश्वकै ठूलो लोकतन्त्र भन्दै आएको भारतलाई लोकतन्त्रका न्यूनतम मूल्य र मान्यताबारे स्मरण गराएको छ । लद्दाख र जम्मु-कश्मीर भारतको महŒवपूर्ण र संवेदनशील राज्यको रूपमा रहने वर्षौंदेखि अशान्ति व्यहोर्दै आएका जनतालाई शान्ति दिलाउने प्रतिबद्धतासमेत मोदीको छ । स्वतन्त्रताको ख्वाव देखाएर राजनीति गर्दै आएकालाई मोदीले संकेत गर्दै यो राज्य कुन सर्तमा कसरी विलिन भयो अनि त्यो सात दशकसम्म कस्तो अवस्थाबाट गुज्रियो । यो विषयलाई मिहिन अध्ययन गरेर यो विकल्प लिएको समेत उनले बताए ।

भारतको आशा हिन्दुत्व र पाकिस्तानको आशा मुस्लिम

अंग्रेजले स्वतन्त्र मुलुकको रूपमा छाडेको जम्मु-कश्मीरलाई भारत र पाकिस्तानले आफूमा गाभ्न तानातान गरे । यसमा लडाइँको सुरुवात पाकिस्तानले थाले पनि भारतले यसको अधिक भूभाग आफैंमा राख्न सफल भएको हो । उनीहरू यही विषयलाई लिएर लडाइँ लड्दै आए । कहिले अन्तर्राष्ट्रिय समुदाय गुहारे । बेलायती उपनिवेशबाट फुक्काफाल भएका भारत र पाकिस्तान टुक्रिए । अंग्रेजले पाकिस्तान स्वतन्त्र मुलुक घोषणा गरेको भोलिपल्ट भारतलाई स्वतन्त्र मुलुक घोषणा गरेको हो । जम्मु-कश्मीरलाई पनि बीचमा स्वतन्त्र नै छाडेको थियो । त्यो दुवैलाई स्वीकार्य पनि थियो । दुवैले आफूमा आउने आशामा स्वीकार गरेका हुन् ।

जनता मुस्लिम भएकाले जम्मु-कश्मीर आफूतिर आउने पाकिस्तानको आशा थियो भने राजा हिन्दु भएका कारण आफूमै मिसिने भारतले ठानेको थियो । तर, जम्मु-कश्मीर कतै नढल्किएपछि स्वतन्त्र मुलुकको रूपमा रह्यो । अनि भारत र पाकिस्तान दुवैलाई कसरी यसलाई आफूतिर गाभ्ने भन्ने तानाबाना सुरु भयो । तर, एक्कासि पाकिस्तानले जम्मु-कश्मीर कब्जा गर्न पठान मिलिसियाहरू पठाएकाले समस्या झनै असहज हुन पुग्यो ।

उनीहरूसँग लड्न राजा हरि सिंहले भारतको मद्दत मागे । त्यसपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले उनलाई साथ दिए । उनी आफैं पनि कश्मीरी ब्राह्मण परिवारका रहेकाले पनि त्यसमा सर्तसहित सेना पठाएका थिए । सिंहले नेहरूको सर्त स्विकार्नुको विकल्प थिएन । हुन त यो विषयमा इतिहास बाझिएको छ । मिलेरै यो काम भएको भन्नेहरू पनि छन् । भारतीय सेना कश्मीर गएपछि पाकिस्तानले सेना नै पठायो । जसले गर्दा त्यहाँ भारत -पाकिस्तान युद्ध लामै चल्यो । त्यही समयमा नेहरूले कश्मीरको विषय सन् १९४८ मा संयुक्त राष्ट्रसंघमा लगे ।

राष्ट्रसंघले पाकिस्तानलाई आफ्ना घुसपैठियाहरू फिर्ता गर्ने र भारतले पनि आफ्ना सेना कम गर्नुपर्ने निर्णय ग‍र्‍यो अर्थात् युद्धविराम भयो । राष्ट्रसंघले जनताका राय माग्न सुझायो । भारतले राष्ट्रसंघीय उक्त धारणालाई बेवास्ता गर्दै समस्या दुईपक्षीय भन्दै आयो । अनि दुवैले आफ्नो कब्जामा रहेको भूभाग छाडेनन् । त्यहीबीचमा दाउ हेरेर बसेको चीनले पनि धर्तीको स्वर्ग भनिएको राष्ट्रको केही भूभागमा कब्जा जमाइसकेको थियो । सन् १९५२ मा जम्मु-कश्मीरसँग दिल्ली सम्झौता भयो । त्यही सम्झौतामा जम्मु-कश्मीरका नागरिकलाई भारतीय नागरिकता दिने निर्णय गर्‍यो । उनीहरूको सर्तलाई पनि स्वीकार गर्दै त्यस्तो निर्णय भारतले लिएको थियो । हुन त, त्यो निर्णय अंग्रेजकै समयमा स्वतन्त्र हुनु २० वर्षअघि नै पन्जाब र हरियाणाका नागरिकलाई जम्मु-कश्मीरमा रोक्न पण्डित राजा हरि सिंहले सम्पत्ति राख्न र लैजान नपाउने कानुन बनाएका थिए ।

बीजेपीको चुनावी घोषणामा नै

बीजेपीको स्थापनादेखि जम्मु-कश्मीरको विशेष व्यवस्था खारेज गर्ने नीति थियो । यसलाई आफ्नो दलको मुख्य सिद्धान्तको पंक्तिमा राखेको थियो । सन् २०१४ निर्वाचनको घोषणापत्रमा बीजेपीले जिते कश्मीरको विशेष मान्यता हटाउने र अयोध्यामा राममन्दिर बनाउने मुख्य बुँदाको रूपमा थियो । मोदीले पहिलो कार्यकालमा जम्मु-कश्मीरबारे केही निर्णय गर्न सकेनन् । केही महिनाअघि फेरि सत्तामा उदाएका उनले प्रतिबद्धताअनुसार कश्मीरको विशेष मान्यता हटाउने निर्णय गरे ।

भारत आफ्नो अधीनमा रहेको कश्मीरबाट सन्तुष्टि छ भने पाकिस्तान पनि आफूमा भएकोबाट चित्त बुझाउँदै यो अन्ततः सामसुम हुने देखिन्छ । सम्पत्तिसम्बन्धी अधिकार दिएर कश्मीरबाट भागेका पण्डितहरू पुनः फर्काउने र हिन्दुबहुलमा जोड दिने नीति बीजेपीले लिएको हुनसक्ने पनि देखिन्छ । यसमा बीजेपीले सफलता पाएमा बीजेपीका अन्य घोषणाहरू लागू हुँदै जानेछन् । उसको आत्मबल बढ्नेछ ।

जम्मु-कश्मीर, आजाद कश्मीर र अक्साई चीन

भारतको उत्तरतर्फ अवस्थित यो राज्य हेर्दैमा मनमोहक छ । जम्मु र कश्मीर राज्य २६ अक्टोबर १९४७ मा तय भएको हो । गुलाव सिंहले खरिद गरेको उक्त राज्य उनका वंशजले सय वर्ष शासन गर्दै गर्दा अंग्रेज यो क्षेत्रबाट बाहिरियो । जसमा कश्मीरी राजाको चाहनालाई बुझेर स्वतन्त्र छोडिदियो । जम्मु-कश्मीरको राजधानी पनि दुई छन् । जाडोमा जम्मु र गर्मीमा श्रीनगर । २२ सहरमध्ये श्रीनगर जम्मु-कश्मीरको सबैभन्दा ठूलो सहर हो । यहाँको सरकारलाई जम्मु-कश्मीर सरकार भनिन्थ्यो सोमबार दिउँसोसम्म ।

भारतनियन्त्रित जम्मु-कश्मीर र लद्दाखको कुल क्षेत्रफल १ लाख १ हजार ३ सय ८७ वर्ग किलोमिटर छ । पछिल्लो जनगणनाअनुसार सवा एक करोड मानिस त्यहाँ रहन्छन् । झन्डै ६८ प्रतिशत मुस्लिम छन् भने २८ प्रतिशत हिन्दु र बाँकी अन्य छन् । त्यहाँका मानिसहरूको साक्षरता दर पनि बढ्दो छ । अनि अंग्रेजी र उर्दू उनीहरूको औपचारिक भाषा । डोग्री, हिन्दी, कश्मीरी, लद्दाखी भाषा पनि त्यहाँ चल्छन् । भारत र पाकिस्तान दुवैले जम्मु-कश्मीरलाई एउटा विवादित क्षेत्र मान्दै आएका थिए । जम्मु-कश्मीरको सीमा क्षेत्र पाकिस्तान, अफगानिस्तान, तिब्बतको पठारसँग जोडिएको छ । भूगोलको माध्यमले यो पहाडी र हिमाली क्षेत्र हिमनदी र प्राकृतिक सौन्दर्यले आँखा गएको हो ।

जम्मु-कश्मीर पूर्ण भागबाट ‘आजाद कश्मीर÷इस्लामिक गणन्त्र आजाद कश्मीर’ अर्थात् पाकिस्ताने कब्जामा राखेको कश्मीर । भारतले यसमाथि पनि आफ्नो दाबा गर्दै आएको छ भने भारतले कब्जा गरेको क्षेत्रमा पाकिस्तानले पनि आफ्नो भाग माग गर्दै आएको छ । आजाद जम्मु-कश्मीरको राजधानी मुजफ्फरबाद हो । पाकिस्तानको नियन्त्रणमा रहेको आजाद कश्मीरको क्षेत्रफल १३ हजार २ सय ९७ वर्ग किलोमिटर छ भने जनसंख्या झन्डै ४५ लाख छ । यस क्षेत्रका निवासीहरूमा कश्मीरी मुसलमानहरू छन् ।

भारत र पाकिस्तान जम्मु-कश्मीरबीच लडिरहँदा चीनले पनि यसको केही भागमा आफ्नो कब्जा जमाएको छ । यसलाई अक्साई चीन वा अक्सेचीन (उइगुर गच), सरलीकृत चिनियाँ) चीन भनेर चिनिन्छ । पाकिस्तान र भारतको बीचमा तिब्बती पठारको उत्तर-पश्चिमस्थित उक्त भाग कुनलुन पर्वतको ठीक तल रहेको उक्र भाग आफैंमा विवादित छ । ऐतिहासिक रूपमा अक्साई चीन भारतलाई रेशम मार्गसँग जोड्ने कारण थियो र भारत र हजारौं सालदेखि मध्यएसियाको पूर्वीइलाका (जसलाई तुर्किस्तान पनि भनिन्छ) र भारतको बीच संस्कृति, भाषा र व्यापारको राजमार्ग थियो । भारतसँग तुर्किस्तानको व्यापार मार्ग लद्दाख र अक्साई चीन हुँदै कास्गर सहर पुग्थ्यो । ‘अक्साई चीन’ (गच) को नाम उइगुर भाषाबाट आएको र त्यसको अर्थ लगाउँदा यो भागको नाम हुन्छ ‘सफेद ढुंगे घाँटीको मरुभूमि’ । पाँच हजार मिटरको उचाइमा रहेको यसलाई चीनले सफेद मरुभूमि भन्छ ।

सन् १९६३ पछि पाकिस्ताननियन्त्रित कश्मीरबाट चीनले पाँच हजार एक सय ८० वर्ग किलोमिटर भूभाग कब्जामा लिएको यस भूभागमा मानिसको खासै बसोवास छैन । तिब्बतको पठार अर्थात् खारा मैदानको रूपमा छ । भारत र चीनको विवादका रूपमा रहेको अक्साई चीन र अरुणाचल प्रदेश नै हो । अक्साई चीनबाट नै तिब्बतको राजमार्ग निस्केको छ । सन् १९६२ को भारत-चीन युद्धको एउट ठूलो कारण यही राजमार्ग पनि बनेको थियो ।

सडकमा सैन्य गस्ती

हजारौं सैनिकले त्यहाँका सडकहरूमा गस्ती गरिरहेका छन् । कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाइएपछि ठूलो आन्दोलन हुनसक्ने आशंकामा केन्द्र सरकारले निकै तयारी गरेको थियो । त्यस्तो अवस्था अझै आइसकेको छैन । यद्यपि त्यहाँ बन्दी बनेका नेताहरू भेट्न पुगेका अन्य राज्यका नेतालाई जान दिइएको छैन । हुन त, त्यहाँको वास्तविकता थाहा पाउने माध्यम पनि छैन । स्थानीय नेताहरूलाई आफ्नै घरमा नजरबन्दमा राखिएको छ । यो अधिकार खोस्दा पृथकतावादी विद्रोहलाई असर गर्ने भनिए पनि त्यसको उल्टो असर हुन सक्नेछ ।

भारतीय खण्डमा लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको छ, जसमा हजारौं मानिसले ज्यान गुमाइसकेका छन् । सन् २०१८ मा मात्र कश्मीरमा पाँच सय बढीले ज्यान गुमाए । प्राध्यापक खत्री यो विषयमा कश्मीरी जनताले के गर्छन् हेर्न बाँकी रहेको उल्लेख गर्छन् । सैन्यकृत क्षेत्र भएकाले यसमा सबै विषय तत्कालले निर्धारण गर्न नसक्ने बुझाइ उनको छ । यद्यपि निकै तयारीका साथ भारतले यो कदम चालेको देखिन्छ ।

आणविक शक्तियुक्त यी दुई राष्ट्रको चेपमा परेको महसुस उनीहरूले गर्दै आएका छन् । जम्मु-कश्मीर समस्या भारत र पाकिस्तानका लागि मात्र होइन, दक्षिण एसियाकै लागि एउटा बल्झिरहने घाउ झैं छ । त्यही कारण पनि त्यहाँका मानिस फिरन्ते झैं विभिन्न क्षेत्रमा गएर व्यापार व्यवसाय गरिरहेका हुन्छन् । कश्मीरका नेपालमा मात्र होइन, नेपालीहरू पनि कश्मीरमा पुगेर काम गरिरहेका छन् । जनस्तरको पुरानै सम्बन्धका रूपमा पनि यसलाई व्याख्या गर्न सकिन्छ । कश्मीरी पण्डितहरूसँग नेपालको बिहावारी पनि चल्ने गरेको छ । अन्यत्र झैं नेपालमा पनि कश्मीरबारे उत्तिकै चासो छ । अब के होला ? साच्चै सुल्झेला र यो क्षेत्र शान्त होला? 


कश्मीरीलाई अब तीन विकल्प

 

कश्मीरमा भएको घटनालाई लिएर पाकिस्तान अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागिरहेको छ । तर प्रिन्स्ली स्टेटको यो अवस्था किन आयो त्यसमा ध्यान पुर्‍याउन सकेको छैन । ३७० को धारा कटौती गर्दै भारतले यसलाई दुई युनियन टेरिटोरी बनाएको छ । कश्मीर अब भारतको आन्तरिक ममिला झैं बनको छ । यसमा आजात कश्मीरजसरी पाकिस्तानअन्तरगतको छ । कश्मीरी भ्यालीका जनताका लागि तीन बाटा छन् । त्यो हो- त्यहाँको सर्वोच्च अदालतमा जाने वा पुरानै अवस्थामा फर्कन आन्दोलन गर्ने वा नयाँ व्यवस्थाबाट अधिक फाइदा लिने । यो अर्थमा कश्मीरीहरू लाग्नुपर्ने देखिन्छ । अन्यथा अर्काे बाटो छैन । पाकिस्तानले उनीहरूका बारेमा बोल्ने आधार पनि छैन । पाकिस्तानले उनीहरूका बारेमा बोल्न सक्छ, तर जनताले त्यहाँ कुनै आन्दोलन नगरे कोही कराएर केही हुने छैन । अनि अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानले गरेको मागको पनि खास

अर्थ राख्दैन । यतिखेर इम्रान खानले कराइरहँदा टर्की र मलेसियाले मात्र समर्थन गरेको देखिन्छ । पाकिस्तान आफैं असहजतामा परेकाले पनि त्यसमा पाकिस्तानको धारणामा विदेशी पर्ने देखिँदैन । राष्ट्रसंघको कुरामा दुवै मुलुक नगएको स्पष्ट छ । अनि यसमा विश्व व्यापारमा भारतको प्रभाव र अन्य विषयले पनि काम गर्ने हुनाले यसो भएको हो । पाकिस्तानले आफ्नो बारेमा सोच्ने हो, कश्मीरको विषयमा थप धारणा राख्दा त्यसको अर्थ हुँदैन । त्यो कश्मीर जनताले गर्ने विषय हो । अन्तर्राष्ट्रिय समुदाय आफैंमा विवादित रहन्छ । भारतसँग चीनको व्यापार, टर्कीको व्यापार भारतसँग हेर्न आवश्यक छन् । चीनले किन लद्दाख मात्र बोलेको भन्ने विषयमा पाकिस्तानले बुझ्न जरुरी छ । सार्कका तीन मुलुक बंगलादेश, श्रीलंका र माल्दिभ्सले भारतको समर्थन गर्दै आन्तरिक मामिला भनिसकेको छ । राष्ट्रसंघले पहिल्यै यो पाकिस्तानको मात्र भूभाग होइन भनिसकेको छ । जनताको भावना बुझ्न भनेको थियो । त्यसैले कश्मीरको विषयमा पाकिस्तान लचिलो हुन आवश्यक छ ।

(पूर्वराजदूत हुसेन हक्कानीको दी प्रिन्टमा प्रकाशित धारणाको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.