शिवपुरीको आधा पानी भण्डारमै छाडिने
काठमाडौं : शिवपुरी जलाधार क्षेत्रबाट संकलितमध्ये ५० प्रतिशत पानी जलभण्डारमा अनिवार्य छाड्नुपर्ने नियम छ। त्यस्तै खानेपानीबाहेक अन्य प्रयोजनका लागि प्रयोग हुँदै आएको पानी सातामा एक दिन पूरै जलस्रोतमा छाड्नुपर्ने अर्थात् वाटर होलिडे मनाउने व्यवस्था छ। तर कार्यान्वयन हुन सकेको छैन।
भएको व्यवस्था कार्यान्वयन चरणमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिए। वाटर होलिडे र ५० प्रतिशत पानी जलभण्डारमा छाड्नेबारे पानी प्रयोग गर्दै आएका निकाय वा समितिसँग छलफल गरिरहेको उनले बताए।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६मा निकुञ्ज क्षेत्रको जलस्रोतको पानी संकलन गर्ने निकाय वा समितिले नदी, खोला, पोखरी, ताल जस्ता जल भण्डारमा कम्तीमा ५० प्रतिशत पानी छाड्नुपर्ने अनिवार्य व्यवस्था छ। तर नियमावली लागू हुँदा खानेपानीका लागि उपयोग भइरहेको पानी अर्काे व्यवस्था नहुन्जेल साबिक बमोजिम नै प्रयोग गर्न दिने व्यवस्था छ। शिवपुरी जलाधार क्षेत्रको पानी खानेपानीसँगै सिँचाइ, जलविद्युत्लगायत काममा पनि प्रयोग गरिँदै आएको छ। नियमावली नेपाल राजपत्रमा जेठ ६ गते प्रकाशित भएको थियो।
‘पहिला यस्तो प्रावधान नभएको र केही समयअघि मात्र नियमावलीमा यस्तो व्यवस्था गरिएकाले कार्यान्वयन नभएको हो’, उनले भने, ‘कार्यान्वयनको चरणमा छौं। छिट्टै नियमावलीमा भएको व्यवस्था अक्षरशः पालना गराउने छौं।’
शिवपुरी जलाधार क्षेत्र मनहरा, वागमती, विष्णुमती, रुद्रमतीलगायत नदीको मुहान हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सुन्दरीजल र शिवपुरी प्रमुख दुई ठूला जलाधारबाट पानी संकलन गर्दै आएको छ। शिवपुरी जलाधार क्षेत्रबाट दैनिक १० लाख घनमिटर पानी उपलब्ध हुने निकुञ्जको भनाइ छ।
हालसम्म शिवपुरी जलाधार क्षेत्रको पानी निःशुल्क प्रयोग गर्दै आएको छ। अब भने पानी प्रयोग गर्ने उपभोक्ता समिति वा अन्य निकायले पानी उपयोग गरेबापत् शुल्क तिर्नु पर्नेछ। उपभोक्ता समिति वा सम्बन्धित निकायले उपभोक्तासँग लिएको शुल्कको केही अंश निकुञ्जलाई बुझाउनु पर्ने व्यवस्था नियमावलीमा गरिएको छ। नियमावलीमा मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिले प्रचलित दस्तुरको ५ प्रतिशत र मध्यवर्ती बाहिरका उपभोक्ताले त्यसको २० प्रतिशत शुल्क निकुञ्जलाई तिर्नुपर्ने व्यवस्था छ।
पानी उपयोगकर्ताबाट वार्षिक ६ करोड रुपैयाँ उठ्ने अनुमान निकुञ्जले गरेको छ। जलस्रोत उपयोग गरेबापत् उठ्ने शुल्क निकुञ्जका पानी मुहान र जलाधार क्षेत्रको संरक्षणमा खर्च गरिने उसले जनाएको छ। शिवपुरी क्षेत्र काठमाडौंको खानेपानी आपूर्तिको मुख्य स्रोत हो। सुन्दरीजलमा संकलित पानीबाट जलविद्युत् समेत उत्पादन गरिएको छ। शिवपुरीको उत्तरी ढलानमा ठूला नदीनाला नभए पनि स–साना खाले खोल्सा खोल्सी धेरै छन्। शिवपुरी क्षेत्रबाट बग्ने नदीनालाको पानी वरपरका गाउँलेले सुक्खा मौसममा खेतीपाती गर्न पनि प्रयोग गर्छन्।
काठमाडौंबाट नजिक यो निकुञ्ज पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको छ। सन् १९८९ मा स्थापित यो जलाधारको क्षेत्रफल १४४ वर्ग किलोमिटर थियो। सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्जमा परिणत गरियो। ०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्ग किलोमिटर समेत समेटेर १५९ वर्ग किलोमिटर क्षेत्रफलको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज बनाइएको हो।